कृष्णमणि बराल
यति बेला क्यानडामा गर्मी (समर) महिना चलीरहेको छ । यो मौसममा चर्को घाम लाग्छ । कहिलेकाहीँ बेजोडको हावा लागेको पनि मैले मिसिसागा र टोरोन्टो सहरमा रहँदा देखेको छु । हुरी लाग्दा घरको छाना उडाउने मात्र होइन रुख ढलेर मानवीय क्षति पनि हुने रहेछ । यही रहँदा यस्ता घटना भएको पाए ।
यहाँको मौसम :
क्यानडाको ओन्टारीयो प्रदेशको राजधानी टोरोन्टोमा समरमा ४० डिग्री सेल्सियस सम्म तापक्रम पुग्छ । समर सकिएर विन्टर (जाडो याम ) सुरु भएपछि भने यहाँ हिउँको वर्षा हुन्छ । हिउँले बाटोघाटो छोपिन्छ । मान्छेहरू बिना काम घरबाहिर निस्कने अवस्था पनि हुँदैन । जाडो मौसममा भने त्यसको झन्डै उल्टो तापक्रम माइनस ३० सम्म पुग्ने लामो समय देखि यही रहेका नेपाली सुनाउँछन् । यसैले समर महिनाहरूमा यहाँका स्थानीय विकेण्ड (बिदाको दिन) घुमफिरमा रमाउँछन् । सरकारले पनि समरमा घुमफिर गर्न प्रेरित गर्ने रहेछ ।

समर महिना घमाइलो हुन्छ । सहरको वरपरका पार्क, जङ्गल जताततै हरियाली छाएको हुन्छ । सडकको किनारमा, आवासीय घरका अगाडी फुलेका रङ्गीबिरङ्गी फूलहरूले वातावरण झन् आकर्षक बनाइरहेका हुन्छन् । यात्राका क्रममा रहरलाग्दा गहुँ, आलु, तोरी, मकैका बिशाल फाँटहरु देखिए । यहाँ आवासीय घर, व्यवसाय गर्ने स्थान र खेती गर्ने जमिन छुट्टा छुट्टै हुन्छन् । हामी कहाँ जस्तो सडक सँग जोडिएका घरैपिच्छे सटर बनाएर केही न केही पसल खोल्ने गरेको यहाँ कतै भेटिएन । कृषि भूमि पनि यहाँ आँखाले देख्न नसकिने फराकिला फाँटहरू रहेछन् । जहाँ आधुनिक प्रविधिले खेती हुने गर्दछ ।

कृषि प्रधान देश भएर पनि हाम्रोमा कृषि भूमी छुट्याएर व्यवसायीक खेती अझै सुरु भएको छैन् । हाम्रोमा करेसा बारीमै धान रोपे जस्तै खेती गरेको यहाँ कहीँ कतै देखिएन । करिब ५ महिना हिउँले ढाकिएर खेती नहुने भएपनि ७ महिनामै विदेश निर्यात समेत हुने गरी गहुँ, भटमास, मकै तरकारी, फलफूल समेत यहाँका किसानले उब्जाउ गर्दारहेछन् । हामी कहाँ भने खेती योग्य भूमि, सिमसार क्षेत्र पुरेर बस्ती बसालीरहेका छौं । कृषि प्रधान देश भएर पनि हामी भने गुन्द्रुक देखि चामल र हरेक अनाज विदेशबाटै आयात गरिरहेका छौँ । भारतको चर्को विरोध गरेर थाक्दैनौ तर आलु, प्याज, लसुन देखि चामल, गहुँ, दाल, नुन, मसला समेत भारतबाटै ल्याएर हामी पेट भर्छौ । राष्ट्रियता भाषणमा खोज्छौ तर व्यवहारमा पर निर्भर भएर भारतलाई नै सम्पन्न बनाउने र हामीलाई कङ्गाल आफैले बनाइरहेका छौँ ।

क्यानडाको बसाई र घुमाइको क्रममा देखेका भोगेका विषयमा म अहिले केन्द्रित छु । यसै साता जुलाई ३० देखि अगस्ट १ तारिख सम्म लेक इरी किनारको जङ्गलमा क्याम्पिङमा जाने अवसर मिल्यो । यो अवसर दाइ बुद्धि पौडेल र दिदी नारायणीले जुराउनु भएको थियो । दुई रात ३ दिनको यात्राका क्रममा दुई रातको जङ्गल बसाइँमा सहभागी हुने अवसर मिलेको हो ।
यसरी क्याम्पिङ यात्रा गरिरहँदा मैले फ्रान्सका नागरिक मोरिस हर्जोग नेतृत्वको टोलीले संसारमै पहिलो पटक सन् १९५० जुन ३ मा ८ हजार मिटरभन्दा माथिको अन्नपूर्ण प्रथम (८,०९१ मिटर अग्लो) हिमालको सफल आरोहण गरेको दिन सम्झिए । अन्नपूर्ण प्रथमको सफल आरोहणपछि विश्वका पर्यटक नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र तर्फ आकर्षित भएका थिए । त्यति बेला अहिलेको जस्तो हिमाली क्षेत्रमा टी हाउस र सुविधा सम्पन्न होटलहरु थिएनन् ।
पदयात्रा र हिमाल आरोहणका क्रममा सुरुका चरण देखि नै भरियाले आवश्यक खाना र सामाग्री बोकेर लग्नु पर्ने अवस्था थियो । पदयात्रा होस कि हिमाल आरोहण क्याम्पिङ गर्दै जानुको विकल्प थिएन । नेपालको क्याम्पिङ पर्यटन व्यवसायीक रुपमा त्यति बेलै देखि सुरु भएपनि नेपालीहरू क्याम्पिङमा रमाउन थालेको भने एक दशक पनि भएको छैन ।

अन्नपूर्ण हिमालको सफल आरोहणपछि नेपालको पर्यटन विकासले फड्को मारेको हो । यसपछि सन् १९६८ देखि विभिन्न पेशा व्यवसायका सबै प्रकारका विश्वभरका मानिसहरू हिप्पी भएर विभिन्न देश भ्रमणमा निस्कन थाले । यसै क्रममा नेपालमा पनि हिप्पी टुरिजम भित्रिएका थिए । अन्नपूर्ण हिमाल आरोहणको तीन वर्षपछि मात्र सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पाइला टेकेका थिए । यसैले आरोहणको हिसाबले अन्नपूर्ण प्रथम जेठो हिमाल हो ।

पर्यटन व्यवसायी र संरक्षण क्षेत्रमा काम गरेका संघ संस्था संग नयाँ पर्यटकीय गन्तव्य (पदयात्रा मार्ग ) खोजी गर्दै अन्नपूर्ण संरक्षण क्षेत्रका ४५ सय मिटर उचाई सम्म क्याम्पिङ गर्दै गएको अनुवभ थियो । नेपालका हिमाली क्षेत्रमा नाक नै ठोकीने जस्ता उकाली अनि ओराली छन् । यस्तै बाटो हुँदै अन्नपूर्ण पहिलो हिमालको आधार शिविर नर्थ अन्नपूर्ण (म्याग्दी) तर्फ गएका थियौ । यस्तै स्थलगत रिपोटीङका क्रममा कास्की तर्फका अन्नपूर्ण आधारशिविर, मादी गाउँपालिकामा पर्ने ताङतिङ, क्रपुडाँडा, कोल्हसोथर,कोरी डाँडा हुँदै कफुचे ताल सम्मको यात्राको अनुभव पनि छ । यस अघि भाचोक हुँदै दुधपोखरी पदयात्रा मार्ग लगायतका विभिन्न पदयात्रा मार्गमा क्याम्प खडा गर्दै गएको अनुभव रहे पनि नेपाल बाहिर यो मेरो पहिलो अनुभव हुँदै थियो ।
नेपालको पदयात्रा र टेण्ट क्याम्पको रमाइलो भनेको कहीँ कतै भेडी गोठमा समेत बसेर परम्परागत भेडा पाल्ने किसानको जनजीवन प्रत्यक्ष देख्न पाइनु पनि हो । दुध पोखरी र कफुचे हिमताल क्षेत्रको यात्राको क्रममा यो अवसर मिलेको थियो । आजकल भने यस्ता भेडी गोठ संस्कृति हराउँदै गएको छ । यसरी नेपालमा हिमाल आरोहण र व्यवसायीक पदयात्राका क्रममा क्याम्पिङ पर्यटनको रुपमा सुरु भएपनि आफै आवश्यक टेण्ट, खाद्यान्न, लत्ताकपडा लिएर लामो समय क्याम्पिङ गएर रमाउने संस्कृति भने नेपालमा अझै सुरु भएको छैन ।
अवसरको खोजीमा विभिन्न समयमा क्यानडा आएका नेपाली समुदायले भने यहाँ यसरी आफैले आवश्यक टेण्ट, खाद्यान्न, खाना पकाउने चुलो, सिलिन्डर लिएर लामो विकेण्ड मनाउन क्याम्पिङ जाने गर्दा रहेछन् । जो जहाँ छ त्यहीको परम्परा, रहनसहन, जनजीवन सिको गर्ने त हो । यो पक्ष मलाई निकै रमाइलो लाग्यो । दाजु रामप्रसाद पौडेलको परिवार सँग म क्याम्पिङ गएको हो । मेरो साढु दाइ बुद्धि दाजुको ठुला दाजु हुनुहुन्छ उहाँ । तीन दिनको यात्रामा इन्दिरा दिदी, चिरायु बाबु, र दिपा नानी, बाबु एट्रिक, ज्वाइँ अनिल सिग्देल र पवी नानी, ज्वाइँ धुर्ब न्यौपाने र साबी नानी, साना नानीहरू लिसा र लीया साथमा थियौ । यसै गरी छोरी सदिच्छा, बाबु संयम अनि हरिकला दिदी र भिनाजु प्रह्लाद सिलवाल गरी हामी १८ जनाको टोली यो यात्रामा सँगै थियौ ।

जङ्गल बसाइँका क्रममा सबै मिलेर काम गर्ने रमाइलो पक्ष निकै मनप¥यो । टेन्टको नयाँ घर सृजना गर्नु त छदै छ । जङ्गलमै ग्यास चुलोमा बारबिक्यु बनाएको देख्दा स्कूलमा ढुङ्गेयुगमा मानिसले यसरी जीवन निवाह गर्थे भन्ने पढेको सम्झना आयो र मनमा अनेक कुरा खेले । हामी दक्षिण अमेरिकी मुलुक क्यानडाको ओन्टारीयो प्रदेशको एक जङ्गलमा थियौ । यो जङ्गल ओन्टारीयो प्रदेशको दक्षिण पश्चिममा लेक इरीको किनारमा रहेको विट्ली प्रादेशिक पार्क हो । हामी दुई दिन अस्थायी घर नै खडा गरेर जङ्गलमा आगो तापेर नेपाली शैलीमा विभिन्न खानाका परिकार बनाएर खायौँ ।
जङ्गलको ठाउँ ठाउँमा क्याम्प खडा गर्ने स्थान छुटाइएका छन् । क्याम्प नजिकै अग्ला हरियाली रुखले चन्द्रमा छुने खोजेका छन् । रुखको फेदमा बुढा कुहिएका रुख तिनै अग्ला रुखको खानाको रुपमा तयार भएर कुहिएर छरिएर रहेका छन् । यो व्हीलीको समुदायको नजिकको पार्क हो । १९७१ म स्थापना भएको यो पार्कको जङ्गल २४१ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

वन भित्र ५७ वटा यस्ता क्याम्पिङ स्थल रहेको बाबु चिरायुले सुनाए । उनैले क्याम्पिङकालागि यो स्थान पहिले नै बुकिङ गरेका थिए । क्याम्पिङ गर्न आउनेका लागि अनुसार ठाउँ ठाउँमा शौचालय (रेस्टरुम), स्नान कक्षको राम्रो प्रबन्ध गरिएको रहेछ । जङ्गलमा पनि रेस्टरुम छिर्नेबित्तीकै आफै बल्ने बत्ती, सफा र व्यवस्थित ट्वाइलेट पेपर सहितको शौचालय, हात थाप्दा आफै झर्ने धारा, हात सुकाउने अटोम्याटिक ड्रायर । खानेपानीका धाराहरू ठाउँ ठाउँमा राखिएका रहेछन् । फोहर व्यवस्थापनकालागि बेला बेलामा क्याम्पिङ स्थलमा फोहोर उठाउन गाडी नै लिएर कर्मचारी पुग्ने मात्र होइन सुरक्षाकालागि बेलाबेलामा पेटोलिङ गाडीबाटै सुरक्षाकर्मीले गर्ने रहेछन् । गज्जब कुरा त के भने हरेक क्याम्पिङ स्थलमा सवारी साधन पुग्न सक्ने र त्यही गाडी पार्किङ समेत गर्न मिल्ने गरी व्यवस्थित रुपमा रुख नै नकाटीकन घना जङ्गलमा क्याम्पिङ स्थलको निर्माण गरिएको रहेछ ।

हामी क्याम्पिङ गएको भोलीपल्ट लेक इरीको पानीमा होमीयौ । लेक इरी उत्तर अमेरिकाको पाँच ठुला तालमध्ये चौथो ठुलो ताल रहेछ । विश्वका तालहरूमा भने यो दसौँ ठुलो ताल रहेछ । यो ताल ह्युरन र ओन्टारियो तालको बिचमा रहेको ताल हो । यसको उत्तरी किनारमा क्यानडा, दक्षिण पूर्वमा न्युयोर्क रहेछ । यसरी हामी दिनभर पानीमा चोबलीएर साँझ तर्फ क्याम्पिङ स्थलमा फर्कीयौं र रमाइलो साँझ बितायौ । यसरी क्याम्पिङमा रहँदा क्याम्पिङ स्थलमा एउटा सूचना टाँसिएको तर्फ नजर पुग्यो । सूचनामा लेखिएको विषयले मलाई निकै तान्यो । त्यहाँ लेखिएको थियो, ‘सम्झनाकालागि तस्बिर बाहेक केही पनि नलैजाउँ, पैतालाको डोबहरू बाहेक अरू केही नछोड’ ।

हुन पनि त्यहाँ ५७ वटा क्याम्पिङ स्थलमा सयौँ जना बसेका थिए । तर त्यहाँ कुनै फोहोर देख्न पाइँदैन थियो । चर्को आवाज गुन्जिएर ध्वनी प्रदूर्षण पनि भएको थिएन ।जंगलमा साँझको समयमा आफ्नो शरीरमा बत्ती बाल्दै जुनकिरीहरू स्वागत गर्न आइपुगेको दृश्यले बालक कालमा घर आँगनमै जुनकिरी आएको सम्झना गराएको थियो । अझै पनि फेवाताल किनारमा साँझपख जुनकिरी देखिए पनि लाइट प्रदूर्षणले विश्वमै जुनकिरी जोखिममा पर्दै गएको विज्ञले बताएका छन् । फेवाताल किनारमा बनेका होटल र रेष्टुरेन्टमा बलेका लाइट र जुनकिरी बस्ने झ्याङ फ्याँकेर दुबो रोपेको कारण पनि पछिल्लो समयमा ताल किनारमा जुनकिरी कम देखिदै गएका छन् ।
यहाँ प्रति क्याम्प प्रति रात ५० डलर शुल्क लाग्ने रहेछ । एउटा क्याम्पिङ साइडमा तीनवटा सम्म टेन्ट राख्न सकिने गरि बनाइएको रहेछ । हाम्रो टिमले तीन वटा क्याम्पिङ स्थल बुकीङ गरेको थियो । यसरी हामीले एउटा साइडको दुई रात १ सय डलरका दरले ३ सय डलर शुल्क तिरेको चिरायुले बताए । समरमा दैनिक जसो घुमघाममा निस्कने भएकोले पर्यटकको चाप निकै हुने रहेछ । यसरी वनमा क्याम्पिङको व्यवस्थापन गरेर पनि यहाँको प्रदेश सरकारले राम्रो आम्दानी गर्ने रहेछ ।

यहाँका ताल किनार पर्यटकको मुख्य आकर्षण रहेछन् । प्राय सबै जसो तालहरुमा वाटर स्पोर्टस गतिविधि हुने रहेछन् । ताल किनारमा गएर आफन्त परिवार भेट हुने, घरबाट आआफूले खानेकुरा लग्ने र त्यही किनारमा बारबिक्यु बनाएर खाने चलन रहेछ । त्यसकालागि आवश्यक सिलिण्डर ग्यास, चुलो घरबाटै लग्ने रहेछन् । यसरी विकेण्डमा (बिदाको समय) ताल, नदि किनारमा मान्छेको भिड हुने रहेछ । तर यसरी लाग्ने भिडले आफूले प्रयोग गरेका हरेक सामाग्रीको आफै उचित व्यवस्थापन गर्ने रहेछन् । जस्ले आफूले लगेको फोहरको व्यवस्थापन गर्दैन उस्लाई टिकट (जरिवना) लगाइने रहेछ । त्यसैले यहाँका मानिस अनुशासनमा रहने रहेछन् ।
यहाँका प्राकृतिक स्रोतहरुको संरक्षण गर्दै उपयोग हुने रहेछ । हामी कहाँ भने एकोहोरो दोहोन मात्र हुने हुँदा प्राकृतिक स्रोतहरु संकटमा पर्दै गएका छन् । ताल, नदी, खोलाहरु प्रदूर्षणको चपेटामा पर्दै गएका छन् । नेपालले सामुदायिक वनको विकास र संरक्षणमा विश्वमै नाम कमाएको छ । तर हामी कहाँ पर्यटक आकर्षण गर्न यस्ता खाले प्रयास भने भएको छैन । न त हामीले हाम्रा वनबाट आवश्यक काठ नै प्रयोग गर्न सकेका छौं ।

नेपालमा काठ पनि क्यानडा र जापानबाट ल्याउनु पर्ने अवस्था रहेको छ । मेरा स्कुल देखिका मित्र डा सुन्दर पौडेलले वर्षेनी लाखै रुपैयाँका काठ जापान र क्यानडाबाट समेत ल्याउने गरेको बताउँछन् । डा पौडेलले पोखरामा विन्ध्यश्वरी फर्निचर उद्योग चलाएका छन् । त्यसैकालागि आवश्यक काठ यसरी ल्याउनु परेको उनी सुनाउँछन् । पौडेल जापानबाट भर्नाकुलर आर्किटेक्चर अर्थात् वास्तुकला र काठ सजिसजावटमा विद्यावारिधि गरेका छन् । अहिले उनी नेपालमा बनेका विभिन्न प्रकारका प्राचीन घरहरूको निर्माण इतिहास खोतल्न र नेपाली काठको उपयोगको बारेमा अनुसन्धानमा जुटिरहेका छन् । हामीले हाम्रा वनलाई दशकौँ देखि हरियो वन नेपालको धन त भन्यौ तर त्यसलाई धनको रुपमा कहिल्यै उपयोग गर्न भने सकेनौ ।

