Posted on

कृष्णमणि बराल

हिन्दुकुश हिमालय क्षेत्र विश्वकै अग्ला हिमशृङखला हो । नेपाल, भारत, चीन, अफगानिस्तान, पाकिस्तान, भुटान, बङ्गलादेश, म्यानमार ८ देशमा पर्ने हिन्दुकुश हिमालय विश्वकै महत्त्वपूर्ण पानीको स्रोत पनि हुन् । विश्वका अधिकांश अग्ला शिखरहरू पर्ने यस क्षेत्र पश्मिदेखि पूर्वसम्म करिब ३५०० किलोमिटर लम्बाइमा फैलिएको छ । यही शृङ्खला मध्येमा पर्छ अन्नपूर्ण, धवलागिरि हिमालय । 

क्यानडाको वान्फ राष्ट्रिय निकुञ्ज क्षेत्रको सडक र रक्की माउण्टेन । तस्बिर : कृष्ण्मणि बराल

भारतीय भूखण्ड (प्लेट) उत्तरमा अवस्थित तिब्बती भू खण्डसँग ठोक्किएपछि बिस्तारै माथि उठ्दै अहिलेको हिमालयको उत्पत्ति भएको वैज्ञानिक अध्ययन भन्छ । यसरी करिब ५ करोड वर्षअघि सगरमाथा लगायत विभिन्न चुचुराहरू बनेको वैज्ञानिक खोजले पत्ता लगाएको हो । यो क्रम अझै जारी रहेको र सगरमाथा लगायतका हिमालय बिस्तारै अग्लिने क्रम भइरहेको पनि बताइन्छ । ५ करोड वर्ष अघि अहिले हिमाल रहेको क्षेत्रमा विशाल सागर रहेको र त्यस सागरको नाम वैज्ञानिकहरूले टेथिस सागर राखेका छन् । हिमाल पारिको जिल्ला मुस्ताङस्थित कालीगण्डकीमा पाइने शालिग्राम समुद्री किराको अवशेषयुक्त पत्थरको प्रमाण रहेको अध्यताहरु बताउँछन् । 

पोखराबाट देखिएको माछापुच्र्छे र अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिर : कृष्णमणि बराल

म जन्मेको सहर पोखरा उपत्यका अन्नपूर्ण हिमाल शृङ्खलाको काखमा रहेको छ । पोखराबाट विश्वकै दश उच्च हिमाल भित्रमा पर्ने अन्नपूर्ण प्रथम, धवलागिरि र मनास्लु हिमाल देखिनछन् । प्रकृतिले श्रृङ्गारिएको यस्तो सुन्दरता विश्वमै कहीँ कतै पाइँदैन जहाँबाट तीन वटा ८ हजार मिटर भन्दा अग्ला हिमाल देखियोस् । बिहान सूर्योदय सँगै घरको झ्यालबाटै सुनौला हिमालको दर्शन गर्दै आएको म । क्यानडाको टोरोन्टो सहरमा रहँदा भने न हिमाल न पहाड अग्ला घरहरू मात्र देखिने रहेछन् । 

सुन्दर अन्नपूर्ण, माछापुच्छ्रे हिमालको काखबाट सात समुन्द्र पार गर्दै यहाँ आएपछि न्यास्रो त लाग्ने नै भयो । अझ धेरै पोखरामा रहेका साथीहरूले खुलेको हिमालको तस्बिर सामाजिक सञ्जालमा राख्दा अहिले नै उडेर तस्बिर खिच्न जाउँ जाऊँ हुने  । साढे दुई महिनाको यहाँको बसाइँमा मैले ७ प्रदेश, तिनका राजधानी शहर, देशको राजधानी सहर अटोवा र साना सहरको यात्रा गर्ने अवसर पाए । यही यात्राको क्रममा क्यानडाको  पहिलो राष्ट्रिय निकुञ्ज वान्फ राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने अवसर मिलेको हो । सात समुन्द्र पार गरेर क्यानडामा आउँदा एडमान्टनमा रहेका भाइ सूर्य, बुहारी कल्पना र बाबु नानीलाई नभेट्ने कुरै भएन । भाइले पनि फोन गरेर दाइ यहाँ घुम्न आउनु  भनिरहेका थिए । म ओन्टारीयो प्रदेशको राजधानी सहर टोरोन्टोमा बहिनी ज्वाइँकोमा थिए । टोरोन्टोबाट एडमन्टन यात्रा जहाजमै ४ घण्टा लाग्ने रहेछ ।

वान्फ निकुञ्जको भ्रमणको क्रममा गोन्डोला (केबलकार) चढेर सल्फर माउन्टेन माथि हुँदै २,२८१ मिटर उचाइमा पुगेपछि तस्बिरका लागि पोज दिदै बाबुहरु ।
तस्बिर : कृष्णमणि बराल

विनिपेग सहर ट्रान्जिट भएर म २९ जुन २०२२ मा क्यानडाको अल्बर्टा प्रान्तको राजधानी एडमन्टनमा पुगे । विमानस्थलमा सुरेश खनाल दाइ र एयरपोट नजिकै घर भएका मेरो कलेजका साथी सन्तोष गुरुङ लिन आइपुगे । उहाँहरू सँगै म सूर्य भाइको घरमा बास बस्न पुगे । दुई दिन एडमन्टन सहर घुमेपछि सूर्य भाइ, बुहारी कल्पना, छोराछोरी र सुरेश खनाल दाइको परिवार सँग ३१ तरिखमा अर्को सहर क्यालगरीमा पुग्यौँ । त्यहाँ रहँदा भाइको साथी विकास ढकाल र सोमराज देवकोटाको घरमा बास बस्यौ । यस निकुञ्जमा वर्षमै तीस लाख भन्दा बढी पर्यटक घुम्न आउने रहेछन् । यहाँ समर(गर्मी) मा हाइकिङ, बाइकिङ, क्याम्पिङ र दृश्यावलोकनकालागि र विन्टरमा हिउँमा खेलिने विभिन्न खेलमा रमाउन आउने रहेछन् । यो निकुञ्ज र रक्की माउन्टेन पार्क युनेस्को विश्व सम्पदा स्थलको हिस्सा पनि रहेछ ।

अन्नपूर्ण संरक्षण क्षेत्र (अन्नपूर्ण, धवलागिरि हिमाल क्षेत्रमा) भने हामीले पर्यटक तान्न सकिरहेका छैनौ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्मकै सबैभन्दा धेरै पर्यटकले पदयात्रा गरेको भनेकै सन् २०१९ मा हो । कोरोना सङ्क्रमण हुनु अघिल्लो वर्ष विभिन्न देशका १ लाख ८१ हजार ६ सय ७९ जना पर्यटकले पदयात्रा गरेका थिए । कोरोना पछि भने पर्यटक आगमन झनै खस्किएर पछिल्लो समयमा निकै कम सङ्ख्यामा मात्र पर्यटक पुग्ने गरेका छन् । हामीले विश्वका पर्यटकलाई अन्नपूर्ण, धवलागिरि हिमालको उत्पत्तिका इतिहास सुनाउँदै यहाँका जैविक विविधता, संस्कृति विविधताको अवलोकन गराउने गरी पर्यटन प्रवर्धन गर्न सकेनौँ । पर्यटकीय सम्भावना भएर पनि यही पर्यटनबाट रोजगारका अवसर सृजना गर्न नसक्दा युवा जनशक्ति विदेश पलायन हुनु परिरहेको छ । ७ हजार ६ सय वर्ग किलोमिटर भूभागमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटनबाट रोजगारका अवसर सृजना गने धेरै सम्भावना रहेर पनि राज्यले यस तर्फ ध्यान दिएको पाइँदैन ।

अन्नपूर्ण संरक्षण क्षेत्र स्थित उपल्लो मुस्ताङको पदयात्रामा पर्यटक । तस्बिर : कृष्णमणि बराल

वान्फ राष्ट्रिय निकुञ्ज ६ हजार ६ सय ४१ वर्ग किलोमिटर ओगटेको छ । यहाँका रक्की माउन्टेनको निर्माण पनि एसिया महादेशका हिन्दुकुश हिमालयको उत्पत्ति जस्तै प्रकृतिले बनेको रहेछ । रक्की माउण्टेन पनि विशाल पर्वत शृङ्खला मध्यको एक हो । रक्की माउण्टेन लगभग ३ हजार माइल (४,८०० किलोमिटर  )  फैलिएको छ । यो न्यु मेक्सिको सेन्टर (अमेरिका) देखि क्यानडाको ब्रिटिस कोलम्बिया, अल्बटा सम्म फैलिएको छ । यो नर्थअमेरिकाको लामो हिमालय रेन्ज हो जुन क्यानडाको ब्रिटिस कोलम्बिया प्रदेश, अल्बटा प्रदेश र अमेरिकाको वासिङ्टन, इडाहो, मोन्टाना, वायोमिङ, उटाह, कोलोराडो र न्यु मेक्सिको सम्म फैलिएको छ । 

वान्फ राष्ट्रिय निकुञ्जले रक्की माउन्टेन, पहाड सहित ६,६४१ वर्ग किलोमिटर ओगटेको हो । निकुञ्ज जैविक विविधता र वन्यजन्तुको पनि एक्यापको जस्तै घर रहेछ । यस निकुञ्ज क्यालगरीबाट १५० किलोमिटर दुरीमा रहेको छ । हामी सूर्य भाइ, सुरेश दाइ, विकास जीको निजी गाडीमा चार परिवार पुगेका थियौँ । यहाँका सुन्दर तालहरू, नेपालकै जस्तै हरियाली पहाडी भूभागले नेपालमै पुगे जस्तो अनुभव भयो । लेक लुइस जाने बाटोमा देखिएका चट्टानी पहाड उपल्लो मुस्ताङको  छुसाङ र मनाङको चामे क्षेत्रमा देखिएका चट्टानी पहाड जस्तै लाग्यो । लेक लुइसमा पुग्दा भने यो ताल ठ्याक्कै अन्नपूर्ण संरक्षण क्षेत्रका कफुचे ताल जस्तै लाग्यो ।

यो ताल पनि कफुचे हिमताल जस्तै हिमताल रहेछ । कफुचे समुन्द्री सतह देखि २४५० मिटर उचाइमा रहेको छ ।  २६ वर्ष अघि सम्म हिमालबाट खसेको हिमपहिरो हिउँको थुप्रोको रुपमा देखिन्थ्यो । ग्लोबल वामिङको कारण पछिल्लो समयमा हिउँको थुप्रो पग्लिएर कफुचे ठुलो तालको रुपमा परिणत भएको स्थानीयले बताएका छन् । यो ताल  समुन्द्री सतह देखि ७,५५५मिटर उचाइको अन्नपूर्ण तेस्रोबाट हिमालय क्षेत्रबाट झरेको हिमपहिरो पग्लिएर बनेको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र स्थित मादी गाउँपालिकाको सिक्लेस नजिकै समुन्द्री सतह देखि २४५० मिटर उचाइमा रहेको कफुचे हिमताल । तस्बिर : कृष्णमणि बराल

दुई पटक कफुचे ताल पुगेर आएको मलाई लेक लुइस पुग्दा कफुचे हिमतालको सम्झना आयो । लेक लुइस भिक्टोरिया ग्लेशियरबाट बनेको रहेछ । यस ताल सुन्दर पहाडको बिचमा रहेको छ । समरमा हरियाली डाँडा र खस्दै गरेको जस्तै देखिने सुन्दर ग्लेशियर सहितको चट्टानी पहाडको पृष्ठभूमिले यस ताललाई थप सुन्दरता थपेको छ । यसैले त यहाँ वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्दछन् । यहाँ सनसाइन मेडोज, आइसफिल्ड्स पार्कवेको अग्लो दाँतेदार चुचुराहरूले थप सुन्दरता थपेका छन् । यात्राको क्रममा हामीले नेपालकै जस्तै हिउँले ढाकिएका सुन्दर रक्की माउन्टेन देख्यौ । 

लेक लुइसमा सूर्य भाइको परिवार ।

 हिमनदीहरू, शान्त नदी, खोला, वन्यजन्तु, विभिन्न प्रजातिका चरा पनि अवलोकन गर्ने अवसर मिल्यो । यहाँ वन्यजन्तु मैत्री सडक बनेका रहेछन् । वन्यजन्तु हिँड्ने अवरोध नहोस् र सवारी दुघट्नामा वन्यजन्तु नमरुन् भन्ने उद्देश्यले सडकमाथि हुँदै वन्यजन्तु आवतजावत गर्ने मार्ग निर्माण गरिएको रहेछ । सबै भन्दा महत्त्वपूर्ण कुरा यस निकुञ्ज वरपर सवारी चलाउँदा जति नै समय लागेपनि पहिला वन्यजन्तुकालागि बाटो छाड्दिनु पर्ने रहेछ । छिटो जानकालागि वन्यजन्तुलाई धपाउन पनि नपाइने । बाटो छेकेको अवस्थामा कुरेरै आफै बाटो नछाडेसम्म कुरेर बल्ला सवारी चलाउन पाइने रहेछ । यहाँ वन्यजन्तु अधिकारको विषय मानिसको अधिकार जस्तै मानिँदो रहेछ । 

क्यानडाको पहिलो राष्ट्रिय निकुञ्ज वान्फ निकुञ्ज भित्रको सडकमा वन्यजन्तु । तस्बिर : कृष्णमणि बराल

वान्फ निकुञ्जको भ्रमणको क्रममा हामीले गोन्डोला (केबलकार) चढेर वान्फ निकुञ्ज क्षेत्रका सुन्दरता अवलोकन ग¥यौँ । चार जना बस्न मिल्ने गोन्डलामा चढेर हामी सल्फर माउन्टेन माथि हुँदै २,२८१ मिटर उचाइमा पुग्यौ । त्यहाँ पैदल हिड्नकालागि काठका सुन्दर बाटो निर्माण गरिएको रहेछ । वरपर सुन्दर रक्की माउन्टेन र हल्का परेको हिउँले निकै सुन्दरता थपेको थियो । हरियाली वन र लेक लुइसबाट बगेर आएको नदीको सुन्दरता र तालको दृश्य निकै रमाइलो थियो । त्यहाँ माथि हिमाली दृश्य हेर्दै खाजा खानकालागि रेस्टुरेन्ट पनि सञ्चालनमा थियो । यही दृश्य हेर्न यहाँ वर्षेनी ३० लाख भन्दा बढी पर्यटक आउँछन् ।

तर हामीकहाँ विश्वकै छानो सगरमाथा सहित विश्वका १० भित्र ८ वटा अग्ला हिमाल नेपालमै हुँदा पनि हामीले नेपालमा वर्षमा २० लाख पर्यटक भित्र्याउन योजना बुन्दा पनि सफल हुन सकेको छैन ।  नेपालको पर्यटनको विकास सन् १९५९ जुन ३ मा फ्रान्सका नागरिक मोरिस हर्जोगले ८ हजार मिटर भन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम ९८०९१ मिटर० विश्वमै पहिलो पटक सफल आरोहण गरेपछि सुरु भएको हो । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्थित अन्नपूर्ण नर्थ बेसक्यम्पबाट देखिएको ८ हजार ९१ मिटर उच्च अन्नपूर्ण प्रथम हिमाल र धार्मीक आस्थाको केन्द्र पञ्चकुण्ड हिमताल ।
तस्बिर : कृष्णमणि बराल

अन्नपूर्ण हिमाल आरोहणको तीन वर्षपछि सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक पाइलो टेकेका थिए । अन्य ६ वटा ८ हजार मिटर भन्दा उच्च हिमालहरु मकालु, कञ्चनजङ्घा, ल्होत्से, चोयू, धवलागिरि, मनासलु हिमाल हुन् । क्यानडाको पहिलो राष्ट्रिय निकुञ्ज वान्फ राष्ट्रिय निकुञ्ज भित्र रहेको लेक लुइस र वरपर पर्यटकको भिड देख्दा हामीले पनि हाम्रो प्राकृतिक सम्पदालाई संरक्षण गर्दै यहाँको जस्तै लाखौँ पर्यटक भित्र्याउन सकेको भए भन्ने मनमा खेल्यो । यसो गर्न सकेको भए क्यानडामा आएर विभिन्न क्षेत्रमा काम गरिरहेका युवाहरू नेपालमै पर्यटकलाई सेवा दिइरहेका हुन्थे । युरोप, अमेरिका, एसियाका विभिन्न देशमा रहेका युवाहरू नेपालमै स्वरोजगार हुन्थे । राजा फालेर गणतन्त्र त ल्यायौँ तर हाम्रो नयाँ शासकहरूले त्यति बेला चलिरहेका उद्योगलाई थप मजबुत बनाएर नयाँ उद्योग स्थापना गर्नुको साटो चलिरहेका उद्योग पनि कौडीमा बिक्री गरेर औद्योगिक क्रान्तिको बाटो नै बन्द गराए । 

वान्फ निकुञ्ज क्षेत्रको सडक र सुन्दर हिमालय । तस्बिर : कृष्णमणि बराल

हामी कहाँ भने प्राकृतिक स्रोत संरक्षण गर्दै पर्यटन विकास गर्नु त कहाँ कहाँ नदी, खोला, ताल तलैया प्रदूषर्णको चपेटामा पार्दै कुरूप बनाइरहेका छौँ । प्रजातन्त्र आएको दसकौँ भइसक्दा र गणतन्त्र घोषण भएको पनि दशक पुग्दा पनि अझै राजनीतिक अस्थिरता देखाएर पूर्व प्रधानमन्त्री विदेशी भूमिमा पुगेर नेपाली युवालाई जम्मा पारेर अझै देश फर्कने बेला भएको छैन भन्दै छन् । विदेशी भूमिमा धेरै युवा देखेपछि देश फर्केर छिट्टै रोजगारका अवसर नेपालमै सृजना गर्छु, देश निर्माणमा लाग्न फर्कनोस् भन्नुको साटो अरू देशका भन्दा नेपाली युवा धेरै देख्दा खुसी लागेको सगौरव बताउँछन् । यो प्रवृत्ति उनिमा मात्र होइन देशका सबै पूर्व प्रधानमन्त्री, मन्त्री, सांसद नेतामा छ । यसैले युवा विदेश पलायन दैनिक चौगडा बढ्दो क्रममा छ । 

क्यानडाको पहिलो राष्ट्रिय निकुञ्ज वान्फ निकुञ्ज क्षेत्रको सडक । तस्बिर : कृष्णमणि बराल

क्यानडाको सडक सञ्जाल, कृषि, पर्यटन, उद्योगको विकास देख्दा हाम्रोमा त विकासको रेखाङ्कन नै नकोरिएको पाउँदा निकै दुःख लाग्ने रहेछ । यहाँ प्रति घण्टा कम्तीमा सय किलोमिटरको गतिमा सवारी साधन गुड्ने हाइवे छन् । हामीकहाँ त यहाँका जस्ता राजमार्ग नै नबनेको  सुन्दा अचम्म लाग्यो । नेपालमा विकास र समृद्धि सम्भव छ । तर यो सफलताकालागि युवा पुस्ता जाग्नु पर्ने छ । कुरामा होइन काममा लाग्नु पर्ने छ । कृषि भूमि छुट्टाएर कृषि क्रान्ति गर्नु पर्ने छ । हिमाली क्षेत्रमा जडीबुटी उत्पादनमा क्रान्ति गर्नु पर्ने छ । जलविद्युतको क्रान्ति त निजी क्षेत्रले सुरु गरेकै छ । पर्यटन र विभिन्न उद्योग स्थापना गरेर उत्पादनशील हुने गरी औद्योगिक क्रान्तिकालागि सरकारले सहयोग गर्नु पर्ने छ । यसकालागि आउँदो निर्वाचनमा गफ गर्ने होइन काम गर्ने नेतृत्व छान्नु पर्ने छ । 

वान्फ निकुञ्ज क्षेत्रको रक्की माउण्टेन । तस्बिर : कृष्णमणि बराल

वान्फ निकुञ्ज क्षेत्रको रक्की माउण्टेन । तस्बिर : कृष्णमणि बराल

पोखराको हेमजा स्थित सडक खण्ड र पृष्ठभूमीमा अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिर : कृष्णमणि बराल
वान्फ निकुञ्जको भ्रमणको क्रममा गोन्डोला (केबलकार) चढेर सल्फर माउन्टेन माथि हुँदै २,२८१ मिटर उचाइमा पुगेपछि ।
क्यालगरीमा दिदी भिनाजु संग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *