Posted on

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस पोखराका संरक्षणकर्मीले समेत मनाएका छन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको आयोजनामा बिहीबार गिद्ध र लाटोकोसेरोबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।

विन्ध्येश्वरी माध्यमिक विद्यालय पोखरा १९ का विद्यार्थीलाई संरक्षणकर्मी कृष्णमणि बरालले प्रशिक्षण दिएका हुन् । बरालले विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा ९ प्रजातिका गिद्ध रहेको जनाए । उनले भने, ‘नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबै पोखरामा पाइन्छन् । तर विविध कारणले गिद्धको संख्या भने घटिरहेको छ ।’

गिद्ध र लाटोकोसेरोबारे विद्यार्थी प्रशिक्षणमा सहभागी ।

गिद्ध, लाटोकोसेरो जस्ता पंक्षी मानिसका लागि लाभदायक भएको उनले औंल्याए । उनले गिद्धले मरेका जीवको मात्र मासु खाने उल्लेख गर्दै उनले त्यसले प्राकृतिक कुचिकारको भूमिका निर्वाह गर्न उल्लेख गरे । लाटोकोसेरोलाई अपसकूनको सूचक मानी भगाउने, गुँड भत्काउने चलन अझै नहराएकोतर्फ संकेत गर्दै उनले लाटोकोसेरोले हानिकारक जीवहरु खाएर मानिसलाई अप्रत्यक्ष रुपमा सघाउने जनाए । नेपालमा २३ प्रजातिका लाटोकेसेरा पाइन्छन् ।

विश्वमा पाइने विभिन्न प्रजातिमध्ये १४ प्रजातिका गिद्ध संकटको सूचीमा छन् । नेपालमा पाइने ९ प्रजातिमध्ये ६ स्थानीय हुन् । पशुमा प्रयोग गरिने डाइक्लोफेनेकका कारण गिद्धहरु नासिदै गएपछि २०६३ बाट नेपालभर नै यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रिय सम्पदाका अध्यक्ष सुनिल पाण्डेले बासस्थानको विनाशले गिद्धहरु हराउँदै गएको जनाए । उनले पछिल्लो समय गिद्ध रेस्टुरेन्ट स्थापना, डाइक्लोफेनेकमा प्रतिबन्ध जस्ता कारणले गिद्धको संख्या बढेको उनको भनाइ छ । ‘गिद्धको गुँड हुने सिमलका बोटहरु काटिएका छन्, खेत मासिँदै घरमात्र बन्दा गिद्धहरु संकटमा पर्दै गएका हुन्,’ उनले भने ।

महाकाली बचाऊ अभियान हुँदै २०४८ मा स्थापना भएको सम्पदाले मानवअधिकारको रक्षा र सम्पदा संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको छ । जैविक विविधता दिवस जैविक विविधताको महत्व बुझाउन २२ मेमा विश्वभर मनाइन्छ ।

कार्यक्रममा विन्ध्यश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्यले यस खालका कार्यक्रमले विद्यार्थीलाई वातावरण र सम्पदाबारे बुझाएर सजग भावी पुस्ता तयार गर्न सघाउने उल्लेख गरे । कार्यक्रममा विन्ध्यश्वरीका एकेडेमिक डिन अर्जुन अधिकारीले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *