कृष्णमणि बराल
जीवन भनेकै अनन्त यात्रा हो । जन्म संगै सुरु हुने जीवन रुपी यात्रा अनेक मोड पार गर्दै मृत्युको अन्तिम क्षण सम्म कायम रहन्छ । मान्छेहरु यात्राकै क्रममा विश्वको एउटा कुनाबाट अर्को कुनामा पुगेर छरिएर रहेका छन् । नयाँ नयाँ खोज र अनुसन्धानका क्रममा मान्छेहरु अक्सिजन लिएर अन्तरिक्ष यात्रा गरिरहेका छन् ।
नयाँ नयाँ रेकर्ड कायम गर्न विश्वकै उच्च सगरमाथा हिमाल देखि विभिन्न उचाइका हिमाल आरोहण गर्ने प्रतिस्पर्धा हुँदै आएको छ । सगरमाथाको शिखरमा पुग्न बिना अक्सिजन सहज यात्रा गर्ने र अक्सिजनको सहारामा लड्दैपड्दै दु:खको साथ पाइला टेक्नेहरूको यात्राको रमाइलो र सन्तुष्टि जोख्न वा तुलना गर्न सायदै सकिन्छ । यसैले यात्रा सुख र दुखको मिश्रण पनि हो । हिँडेर, दौडेर वा विभिन्न यातायातको साधनमा गरिने यात्राका क्रममा जति नै दुख: कष्ट किन नहोस् यात्रा रमाइलोका लागि हुन्छ ।
यात्राले जीवनलाई नयाँ ठाउँ, प्रकृति, संस्कृति, जनजीवन, परम्परा सँग साक्षात्कार गराउँछ । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सकिए लगतै दैनिक समाचार र समाचार तस्बिरको पछि लाग्नु पर्ने व्यावसायिक पत्रकारिताको व्यस्ततालाई केही समय आराम दिँदै यात्रा सुरु भएको हो । २०७९ जेठ ४ गते काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टर्कीको इस्तानबुल विमानस्थलको ट्रान्जिट भएर करिब १६ घण्टामा क्यानडाको टोरोन्टोको अन्तर्राष्ट्रिय विमानस्थलमा झरेसँगै क्यानडाको यात्रा सुरु भएको हो ।
क्यानडा यात्राकै क्रममा सन् २०२२ को जुलाई १६ तारिख शुक्रबार देखि २२ सम्म (२०७९ असार ३१ गते देखि साउन ६) ८ दिनको यात्राकालागि ज्वाइँ रञ्जितले व्यवस्था मिलाउनु भएको थियो । हामी क्यानडाको टोरोन्टो सहरको नर्थर्योकबाट कारमा यात्रा सुरु गर्यौँ । यात्रामा आमा, बहिनी लक्ष्मी, ज्वाइँ रञ्जित, ५ वर्षीय भान्जा रिदम र ७ महिनाकी भान्जी रिहा संगै थियौँ । साना बाबुनानीहरु लिएर त्यति लामो यात्रा गर्नु सहज पक्कै थिएन । ज्ञानी बाबुनानीका कारण यात्रा सहज र रमाइलो रहयो ।
यात्रा : पहिलो दिन (डे वान )
यात्राको पहिलो दिन हामी ओन्टारियो प्रदेशको राजधानी टोरोन्टो सहरबाट क्यानडाको राजधानी अटोवा तर्फ हानियौँ । अटोवा सहर बैनी ज्वाइँको घर टोरोन्टोको नर्थर्योकबाट ४३६ किलोमिटर तय गरेर बहिनी र ज्वाइँका सार्थी लक्ष्मी र जीवन ढकालको घरमा बासबस्न पुग्यो । बिहान १२ बजे नर्थयोकबाट हिँडेका हामी पाँच घण्टामा क्यानडाको राजधानी अटोवाको साथीको घरमा पुगेका थियौँ ।
दोस्रो दिन (डे टु)
ओटोवा पुगेको भोलिपल्ट हामी देशकै राजधानी सहर घुम्न निस्क्यौ । पुरानो अटोवा बजार, संसद भवन घुम्यौ । अटोवामा सबैभन्दा रमाइलो भने अटोवा रिभरमा बस यात्रा रहयो । दि टुर लेडी डाइभमा सहरको ऐतिहासिक क्षेत्रको टुर गराउँदै अटोवा रिभरमा गाडी कुद्दा भने जीवनमै नयाँ अनुभव भयो । पहिलो त बसमा पानीमा सयर भन्ने नै नयाँ अनुभव रहयो ।
बसमा रहेका गाइडले माइकबाट प्रत्येक लोकेसन र भवनको बारेमा ब्रिफिङ गरिरहन्थे । यात्रुको जिज्ञासा मेटाउँथे । ओटोवा १८२० र १८४० को बिचमा निर्माणको आधारतय भएर विकास भएको बताइन्छ । यहाँ सन् १८६५ मा निर्माण भएको संसद भवन उतिकै आकर्षक देखिन्छन् । संसद भवन अगाडीको बलीरहेको दीपको अघि तस्बिर खिच्नेको भिड नै लाग्ने गर्दछ । सहरको पुराना ऐतिहासिक भवन देखि आधुनिक टावरको आकर्षण देखिन्छ ।
तेस्रो दिन
दुई रात अटोवामा बिताएपछि पर्सी पल्ट ओन्टारीयो प्रदेश छाडेर अर्को प्रदेश र प्रदेशको राजधानी तर्फ लम्कियौँ । क्युबेक प्रदेशको पूर्वी क्युबेकमा पुगेर बसेका थियौ । टोरोन्टो सहरबाटै फराकिला राजमार्ग हुदै प्रति घण्टा सय किलोमिटर दरको रफ्तारमा हामी हुँइकिएका थियौं । चार चार लेनका फराकिला वान वे राजमार्गमा मानिस हिँड्ने कल्पना पनि नहुँदो रहेछ । राजमार्गको बाटो काट्नु भनेको यहाँ आत्महत्या गर्नु सरह हुने रहेछ । राजमार्गका सडकवरपर न कुनै मानिस देखिन्थे न त कुनै जनावर ।
मस्त सँग कुदेका सवारी साधनले कहीँ कतै कल्चरे मरेका साना खरायो जत्रा जनावरको मृत अवशेलाई काग र चिलले खाएका दृश्य भने अक्कल झुक्कल देखिन्थे । यहाँका राजमार्ग जस्तै हाम्रो राजमार्ग पनि भएको भए काठमाण्डौं पोखरा यात्रा दुई घण्टा पनि नलाग्ने रहेछ । यहाँका खुला र फराकिला राजमार्ग देख्दा हाम्रो पोखरा- काठमाण्डौं २ सय किलोमिटर दुरीको पृथ्वी राजमार्ग यात्रा बसमा ६ देखि ७ घण्टा र कारमा ५ घण्टा लगाएर काठमाण्डौं- पोखरा यात्रा गरेको सम्झना आइरयो । कहाँको यहाँको राजमार्ग कहाँको हाम्रा राजमार्ग । यहाँको राजमार्ग देखेपछि हामी कहाँ अहिले सम्म पनि राजमार्ग नै नबनेको रहेछ भन्ने बुझ्दा हामी कति पछाडि रहेछौैैं भन्ने दिमागमा हलचल मच्चायो ।
राजमार्गको सडक किनारमा कहीँ पनि सवारी साधन रोक्न नपाइने रहेछ । विशेष परिस्थितिमा छोटो समय रोक्नकालागि छुट्टै लेनको व्यवस्था रहे पनि त्यहाँ रोकेर गफिन नपाइने रहेछ । यस्तो दृश्य ४२ सय किलोमिटर यात्रा गर्दा कहीँ कतै देखिएन । राजमार्ग संगै जोडिएका होटेल, रेस्टुरेन्ट कहीँ कतै पनि देखिएनन् । यहाँका राजमार्ग भन्दा केही पर ठाउँ ठाउँमा खाजा घर र पेट्रोल पम्पहरू भने देखिन्थे । ती रेस्टुरेन्ट नै यात्रु आराम गर्ने, शौच गर्ने र कफी खाजा खाने ठाउँको रुपमा विकास गरिएका थिए । केही नखाए पनि त्यहाँ शौच जानकालागि यो सुविधा उपलब्ध गराउने गरी रेस्टुरेन्ट सञ्चालनमा आएको रहेछन् । खाजा घर, शौचालय, पेट्रोलपम्प यति दुरीमा छ भनेर पूर्व जानकारीका बोर्ड ठाउँ ठाउँमा राखिएका छन् । यसरी खानजा खान, शौचालय जान सोझै जान नपाइने रहेछ । त्यहाँ जाने र फेरि राजमार्ग जोडिने छुट्टै अर्को बाटोहरु रहेछन् । दुर्घट्ना नहोस भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको रहेछ ।
यात्राको तेस्रो रात हामी क्युबेक प्रदेशको सेन्ट लरेन्स नदीको दक्षिण किनारमा रहेको सानो शहरमा बस्न पुग्यौ । स्थानीय जोनले सञ्चालन गरेको यो अपार्टमेन्ट चार वटा बेड रुम, फराकिलो किचन, डाइनिङ रुम सहितको एउटा सिङ्गो घर थियो । अपार्टमेन्टमा लुगा धुन र सुकाउन वासिङ मसिनको व्यवस्था थियो । किचनमा ब्रेकफास्ट, विभिन्न किसिमका चिया, कफीको पनि उपलब्धता थियो । अपार्टमेन्टको फ्रण्ट याडमा आकर्षक फूलहरू फुलेका थिए । ब्याक वाडमा फराकिलो हरियाली गाडेन, ठुला हरियाली रुखहरू थिए । अनलाइनबाट बुक गरिएका यस्ता अपार्टमेन्ट (बिएण्डबी)मा न सञ्चालक नै देखिए न त कुनै कर्मचारी । अतिथिलाई डिस्टर्ब हुन्छ भनेर केही सामान चाहिए पनि बाहिर राखेर अनलाइनबाट नै जानकारी दिने चलन रहेछ । अपार्टमेन्टको चापीकालागि पनि कोर्ड नम्बर दिने व्यवस्था मिलाइएको थियो । यस्ता अपार्टमेन्ट पछिल्लो समयमा पोखरामा पनि निकै सँञ्चालनमा छन् ।
चौथो दिन
भोलिपल्ट बिहान Rivière-du-Loup सहर घुमेर हामी यात्राको क्रममा तेस्रो प्रदेशको रुपमा नोवा स्कोटिया हानियौँ । नोवा स्कोटिया क्यानडाको १० प्रदेश र ३ क्षेत्रहरु मध्ये एक हो । यो ३ सामुन्द्रिक प्रान्त र चार एटलान्टिक प्रान्तहरु मध्येको एक हो । हामी ६ सय ५० किलो मिटर भन्दा बढी दुरी पार गरेर 244 Rocky Lake Drive मा बास बस्न पुग्यौ । यो अपार्टमेन्ट राम्रो थियो तर अघिल्लो जस्तो व्यवस्थापन र वेल डेकोरेसन भने थिएन । यात्राकै बिचमा हामीले कृषि भूमि, तालहरु र प्राकृतिक सुन्दरताको अवलोकन गर्न पायौँ । क्यानडा पानीका स्रोतहरु खोला, नदी, ताल र सिमसार क्षेत्रले धनी देश रहेको प्रत्यक्ष देख्न पाइयो ।
यहाँका ताल, नदी, समुन्द्र र महासागरहरु पर्यटक मात्र आकर्षक रहेछन् । ताल, नदी किनारमा मान्छेहरु जम्मा हुने र पानीमा हुने खेलहरूमा रमाउने गर्दा रहेछन् । परिवार सार्थीभाई जम्मा भएर नदी, ताल, समुन्द्र किनारमा जाने र घरबाटै लगेको विभिन्न परिकारका खाना खाएर रमाउने चलन रहेछ । यहाँका पार्क पनि घुमफिर र पारिवारिक वातावरणमा खाजा खाएर रमाउने मुख्य स्थल मध्ये एक रहेछन् । यसरी पार्क, ताल, नदी, समुन्द्र किनारमा बस्दा, रमाउँदा आफूले लगेको फोहोर व्यवस्थापनमा भने सबैले निकै ध्यान दिइएको पाइयो । कडा कानुन र जरिवनाका कारणले होला मानिसहरू फोर जथाभाबी फाल्न निकै डराउने र फोहोर पार्क भित्र रहेका डस्टविनमा राख्ने गर्दा रहेछन् ।
नियमित रुपमा डस्टविन स्थानीय सरकारले सफा गर्ने भएकोले डस्टविन वरपरको वातावरण पनि निकै सफा देखिएका थिए । यसैले यहाँका ताल, नदी, र समुन्द्रको किनारमा जति धेरै मान्छे जम्मा भएपनि चिरिच्याट्ट सफा देखिएका थिए ।
पाँचौँ दिन
पाँचौँ दिन हामी नोभा स्कोटीयाको राजधानी सहर हालीफैक्स पुग्यौ । त्यहाँ पुग्दा पानी परेकोले राम्रो सँग सहर घुम्न भने पाएनौ । हालीफैक्स सहर एटलान्टिक महासागर सँग जोडिएको सहर रहेछ । बादल र कुइरोको कारण महासागर दुरदुर सम्म हेर्ने अवसर भने मिलेन । हामी केही समय महासागरको किनारमा बसेर चिसो हावा खाँदै र नुनिलो पानीको छालको अवलोकन गर्यौँ । भान्जा रिदम महासागरमा ढुङ्गा हानेर रमाए । ज्वाइँ रञ्जित महासागर किनारमा यत्रतत्र रहेका विभिन्न रङ्ग र आकारका ढुङ्गा जम्मा गर्नमा व्यस्त ।
हामी आकर्षक म्याकडोनाल्ड ब्रिज पार गरेर हालीफैक्स सहरको पुरानो बजार घुम्यौ । यो सहर पूर्वी क्यानडामा पर्छ । समुन्दी प्रान्तहरु मध्ये एक नोभास्कोटिया लगभग पूर्ण रुपमा पानीले घेरिएको छ । एउटा सानो भूभागले प्रायद्वीपलाई पश्चिममा न्यु ब्रन्सविकसँग जोड्छ र पुरै पूर्वी किनारले एटलान्टिक महासागरलाई सामना गर्छ । सन् २०१० मा यहाँ २० लाख भन्दा बढी पर्यटकले यस प्रान्तको भ्रमण गरेको तथ्याङ्क छ । नोवा स्कोटियाको हालीफैक्स र वरपरको यात्रा गरेर हामी अर्को प्रदेश प्रिन्स एडवार्ड आइल्याण्डको राजधानी सहर सालर्ट टाउन तर्फ हानीयौ । हामी एडवार्ड आइल्याण्ड जान कन्फेडेरेसन ब्रिज प्रयोग गर्यौँ ।
महासागरमा बनेको १२.९ किलोमिटर लामो यस पुलले न्यु ब्रन्सविक प्रान्त र अर्को प्रदेश प्रिन्स एडवार्ड आइल्याण्डलाई जोडेको छ । यही पुल हुँदै हामी गाडीमा सरर प्रिन्स एडवार्ड आइल्याण्ड प्रवेश गर्यौँ । ८ माइल लामो कन्फेडेरेसन ब्रिज विश्वकै सबैभन्दा लामो हिउँदमा पर्ने हिउँमाथीको लामो पुल रहेको मानिन्छ । पुल रहेको बताइएको छ । यो पुल न्यु ब्रन्सविकसँग प्रिन्स एडवर्ड आइसल्यान्डमा सामेल हुन नर्थम्बरल्याण्ड स्टेटको पानी पार गनुपर्दछ । यसलाई क्यानाडाको उत्कृष्ट इन्जिनियरिङ उपलब्धिको रुपमा लिइन्छ । यो पुल सन् १९९३ अक्टोबर देखि निर्माण सुरु भएर १९९७ मा सम्पन्न भएको र यसको लागत १.३ अरब अमेरिकी डलर लागेको बताइएको छ । यो पुल दुई लेनको टोल पुल हो ।
कन्फेडेसन ब्रिज एउटा बक्स गर्डर ब्रिज हो । यसले ट्रान्स क्यानडा राजमार्गलाई नर्थम्बरल्याण्ड प्रदेशको अबेगवेट प्यासेज पार गर्दछ । प्रिन्स एडवार्ड आइल्याण्ड जान कि त पुल तर्न पर्छ नभए फेरिबाट पनि जान सकिन्छ । फेरीबाट जाँदा गाडी एकतर्फी पार गरेको ५० क्यानडीयन डलर लाग्छ । पुलबाट जाउँआउँ गरेको २५ क्यानडीयन डलर लाग्दछ । पुलको मर्मत र संरक्षणमा यसरी उठाएको रकम प्रयोग हुने बताइएको छ । हामी प्रिन्स एडवार्ड आइल्याण्डको राजधानी सहर सालर्ट टाउन पुग्यो । यस सहरको नाम महारानी हार्लोटको नामबाट नामकरण गरिएको रहेछ । यस सहर घुमेर हामीले त्यही खाना खायौ । त्यस रात हामी New Branswick Province 388 George street मा बस्यौ ।
छैटौँ दिन
हामी न्यु ब्राउनश्विक प्रदेशको राजधानी फ्रेडरिक्टन सहर घुम्यौ र क्युबेक सहर तिर हानीयौ । हामीले यात्राका क्रममा सन्ट लरेन्स नदी पछ्याउँदै क्युबेकका राजधानी क्युबेक सहर पुग्यौ । हामीले ६ सय किलोमिटर दुरी पार गर्दै क्युबेक सहर पुगेका थियौ ।क्युबेकमा हामी चिनिया क्यानाडियनले सञ्चालन गरेको होटेलमा केही समय आराम गरेर साँझ पख क्युबेकको ऐतिहासिक सहर क्युबेक अवलोकन गर्न निस्क्यौ । यो सहर क्यानडाको सातौँ ठुलो महानगर पनि रहेछ । क्युबेकको रात्रिकालीन लाइफ निकै चलायमान रहेछ । राति १२ बजे सम्म हामी त्यहाँको ऐतिहासिक बजार, संसद भवन, त्यहाँको कला संस्कृतिका अवलोकन गर्यौँ ।
त्यहाँ राति सडकमै विभिन्न खानाको परिकार पस्कने रहेछ । यहाँका अधिकांश ऐतिहासिक सहरमा यस्तो विशेषता हुने रहेछ । क्युबेक सहरलाई सन् १९८५ मा युनेस्को विश्व सम्पदा क्षेत्रका रुपमा मान्यता दिइएको थियो । यो बन्दरगाह सहर हो । उत्तरपूर्णमा सेन्ट लरेन्स र सेन्ट चाल्र्स नदीको संगमस्थलमा रहेको छ । यहाँ ऐतिहासिक तोपहरू प्नि सजाएर राखिएको छ । क्युबेकको राजधानी क्युबेक सहर घुमेपछि राति १२ बजे तिर हामी होटेलमा फक्यौ ।
छैटौँ दिन
क्युबेक सहरबाट हामी छैटो दिन क्युवककै अर्को सुन्दर सहर मोन्टरियल तर्फ हानीयौ । यो सहर क्यानडाकै दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको सहर रहेछ । हामी सन्ट लरेन्स नदीको किनारबाट मोन्टरियल सहरको अवलोकन गर्यौ । त्यहाँको प्रख्यात कलात्मक घरहरू हेबिट्याट ६७ घरहरूको अवलोकन गर्यौ ।
वासस्थान ६७ सेवन निकै आकर्षक डिजाइनमा बनाइएको छ । यी भवन हेर्न पर्यटक निकै लालायित हुँदा रहेछन् । त्यसपछि हामी पुरा सहर अवलोकन गर्न नजिकैको डाँडामा पुग्यौ र मोन्टरियल सहरलाई पोखराको सराङकोटमा पुगेर पोखरा अवलोकन गरेझैँ अवलोकन गर्यो । यसरी मोन्टरियलको अवलोकन पछि हामी ओन्टारियोको राजधानी अटोवा तर्फ लाग्यौ र त्यहाँ पुन जीवन जीकोमा बास बस्यौ । यसरी सातौँ दिनमा हामी अटोवा बसेर आठौ दिन टोरोन्टो फक्यौ ।
यस अघि अल्बार्टा प्रान्तको राजधानी एडमन्टन, क्यालगरी र रक्की माउण्टेनको यात्रा गरेको थिए । यस्तै गरी मनिटोवा प्रान्तको विनिपेग सहरमा ट्रान्जिट भएर एडमन्टनको यात्रा गर्दा विनिपेग सहर पनि अवलोकन गर्ने अवसर मिलेको थियो । यो संगै अहिले सम्म सात प्रदेशको यात्रा गर्ने अवसर मिलेको छ । प्रत्येक प्रान्त र शहरका आआप्ना इतिहास, संस्कृति, रहन सहन भएकोले नयाँ नयाँ विषय जान्ने र घुम्ने अवसर मिलेको छ ।
वान्फ निकुञ्ज क्षेत्रको सडक र रक्कि माउण्टेन क्षेत्रमा देखिएका सुन्दर हिमालय ।
तस्बिर : कृष्णमणि बराल
तस्बिर : कृष्णमणि बराल
Leave A Comment