प्रजातन्त्र प्राप्तिको मेरो चाहाना बालककाल देखिकै हो । यसैले म कलिलो उमेरमै २०४६ साल फागुन ७ गते पञ्चायत विरुद्धको आन्दोलनमा होमिएको थिए । तत्कालीन राजा वीरेन्द्र पश्चिमाञ्चल भ्रमणमा पोखरामै थिए । राजा र पञ्चायत विरुद्ध नारा लगाउँदा र प्रजातन्त्र जिन्दाबादको आवाज बुलन्द गर्दा म सँगै काका सञ्जय पौडेल र भाइ राजेन्द्रराज रेग्मी पक्राउ परेका थियौ । प्रहरी पक्राउ पछि बुट र लाठी प्रहार गरे । एक महिना थुनामा राखे । २०४६ सालको जन आन्दोलनको जगमा प्रजातन्त्र प्राप्त भयो ।
तर सत्तामा पुगेका नेपाली काँग्रेस र एमालेले पञ्चायतकलामा भएका भ्रष्ट्राचारको छानबिन तर्फ कुनै ध्यान नै दिएन । कर्मचारीबाट भएका भ्रष्ट्राचारको खोजी पनि भएन न त कर्मचारीलाई जनताको सेवामा इमान्दारकासाथ काम गर्न निर्देशन दिए । उल्टो हामी बाघ होइनौँ, भालु होइन जसरी काम गर्नु भएको छ त्यसरी नै गर्नुहोस् भनियो । यसले गर्दा भ्रष्टाचार मौलायो । सत्तामा पुगेपछि जनताले आशा गरेका पार्टी र नेतृत्व नै भ्रष्टाचारमा डुबे । प्रजातान्त्रिक सरकारले जनचाहाना अनुसार काम नगर्दा माओवादीले अहिले राजावादीहरूले फाइदा लिन खोजे जसरी जनतालाई आकर्षण गर्ने नारा लगाए । जनता बन्दुक बोक्न तयार भए । गणतन्त्र आयो ।
२७ चैत २०६१ मा जनआन्दोलनको तस्बिर खिच्ने क्रममा लेखकलाई पक्राउ गर्दै प्रहरी ।
गणतन्त्र त स्थापना भयो जनचाहाना अनुसार काम फेरि पनि हुन सकेन । यसैमा जनतामा वैकल्पिक शक्तिको खोजीमा राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ आकर्षण बढ्दै गयो । रास्वपाका अध्यक्ष विभिन्न विवादमा तानिएपछि जनता अर्को विकल्प राजा हुन सक्छ कि भन्ने भ्रममा परे । १५ चैत २०८१ को घटना विगत र वर्तमान सरकारले जनचाहाना अनुसार काम नगर्नुको परिणाम हो भन्ने कुरामा दुई मत छैन । प्रजातन्त्र, गणतन्त्र प्राप्तिकालागि जनताले आफ्नो छाक कटाएर नेतालाई खुवाए । जनता आफू भुईँमा सुतेर नेतालाई आफू सुत्ने बिस्तारामा सुताए । त्यति मात्र होइन पटक पटकको आन्दोलनमा आफ्नो ज्यानै दिए । गणतन्त्र प्राप्तिपछि देश विकास हुन्छ । देश , समृद्ध बन्छ । उद्योगधन्दा खुल्छन् र देशमै रोजगारको अवसर सृजना हुन्छ भन्ने जनविश्वास अनुसार काम नगर्दा यति बेला जनता निराश छन् । यसैको फाइदा राजा पक्षधरहरूले लिन खोजिरहेका छन् ।
राजावादीको आन्दोलनको क्रममा अनाहकमा एउटा सञ्चारकर्मी गुमाउनु परेको छ । ज्यान गुमाउने सञ्चारकर्मी एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक प्रति हार्दिक श्रद्धाञ्जली । फेरि यस्ता घटनामा रिपोटिङका क्रममा कोही पत्रकारले ज्यान गुमाउन नपरोस् । प्रेसमाथीको आक्रमण बन्दो गरियोस । फेरि प्रेस स्वतन्त्रताको नारा लगाउन नपरोस ।
प्रजातन्त्रका योद्धा जनता सधैँ रैती भइरहनु पर्ने अवस्थाबाट जनताले मुक्त पाउनु पर्छ । प्रजातन्त्र भनेको बोल्न पाउनु मात्र होइन । जनताले बोलेको सुनुवाइ हुनु पनि हो । जानताका छोराछोरी नेतृत्वमा पुगेपछि जनताको आवाज नसुन्ने सरकार र पार्टीहरू प्रजातान्त्रिक र गणतान्त्रिक हुन सक्दैनन् । नाममा मात्रको गणतन्त्र प्रजातन्त्र जनताको चाहाना होइन । जनता प्रति उत्तरदायी र जनताको आवाज सुनेर जनचाहना अनुसार काम गर्ने गणतन्त्र चाहिएको छ ।
