कृष्णमणि बराल

फेवाताल र वरवरपरका दलदल सिम क्षेत्र यहाँका रैथाने पानी चराको घर त हो नै हिउँदमा साइबेरिया देखि जाडो छल्न आउने बिभिन्न प्रजातिका चराको पनि घर हो । रैथाने माछा देखि आयतित माछा, भ्यागुता, जलमा र थलमा बस्ने बिभिन्न प्रजातिका जीव, वनस्पतिको पनि फेवा र सिम क्षेत्र घर हो । मान्छेकाे पनि घर हाे फेवा । फेवाताल किनारमा पुस्तौ देखि बस्दै तालका माछा मारेर जीवन चलाउने जलारी समुदायको फेवा घर जस्तै हो ।

फेवाताललाई बैदामे ताल पनि भनिन्छ । पोखरा बैदामका स्थानीय यही तालको पानी खाएर हुँर्केका हुन् । फेवा सिमसार क्षेत्रमै जेठोबुढो धान झुल्छ । फेवाको पानीले नै सिंचित भएर बिराैटा फाँटमा जुठोबुढा धान फल्छ । फेवाकै पानी बगेर पर्यटक लोभ्याउने पातले छाँगो बनेको छ । तालकै पानीले खोदलेर बनेकाे छ गुप्तेश्वर गुफा र गुफाबाटै देखिन्छ पाताले छाँगोको सुन्दरता । यति सुन्दर, बिशाल घर जसको पानीबाट घर घरमा उज्यालो पुग्ने बिद्युत पनि निस्केको छ ।

तालकाे पानीकाे सतह घटेपछि पानी भएतिर डुंगा धकेल्दै स्थानीय । तस्बिर : कृष्णमणि बराल

माछापुच्छ्रे, अन्नपूर्ण धौलागिरी हिमालको सौन्दर्यता पस्कने फेवा यति बेला खुम्चिएकाे छ । तालकाे पानीकाे सतह घटदा ताल सुकेकाे जस्तै देखिएकाे छ । ताल सुक्दा प्रकृति प्रेमीहरुको मन चसक्क नहुने कुरै रहेन् । फेवातालमा देखिने माछापुच्छ्रे, अन्नपूर्ण हिमालको छायाँ सहितको फेवाको पोष्टकार्ड विश्व पर्यटन बजारमा प्रख्यात छ । यही सुन्दरताको अवलोकन गर्न आइपुग्छन पर्यटक पोखरा ।

तालकाे पानीकाे सतह घटेपछी देखिएकाे तालबाराही मन्दिर अघिकाे दृश्य । तस्बिर : कृष्णमणि बराल

हाम्रा आँखाले देख्न नसक्ने जीवहरु फेवामा पाइन्छन् । यिनै जैविक विविधताको साझा घर भत्केपछि मन चसक्क नहुने कुरै भएन । पर्यटकीय सहर पोखराको आकर्षण पनि यहि हो । फेवा सिमसारमा पाइने विभिन्न प्रजातिका चरा अवलाेकन गर्न र तस्बिर खिच्न पर्यटक दिनभर भुल्छन् । यहाँको जैविक विविधता र तालमा देखिने सुन्दर हिमालकाे छायाँ हेर्न पर्यटक लोभिन्छन् । यति महत्वकाे ताल जाेगाउनकै लागि गत माघ २३ गते साँझ देखि बाँध मर्मत गर्न फेवाको पानीको सतह घटाइएको छ । २०१८ सालमा बनाईएको बाँध २०३१ सालमा फुटेकाे थियाे । २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । त्यही बाँध ४२ वर्ष पछि मर्मत गर्नकालागि जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले तालको पानीको सतह एक मिटर घटाएको छ ।

एक मिटर पानीकाे सतह घटाउँदा पनि सबैकाे साझा घर नै भत्के जस्ताे, ताल सुकेर खाेला भए जस्ताे देखिएकाे छ । जलारी समुदायले ताल भित्र केजमा पालेका माछा पानीकाे सतह घटेपछि मरेकाे गुनासाे गरेका छन् । तालमा रहेका घोंगी ताल घटपछि बाेराेका बाेरा स्थानीयले लगेकाे हर्पन फेवा मत्सय सहकारीका अध्यक्ष इन्द्र जलारीले सुनाए । ताल घटेपछि मात्र हामीले किन ताल घट्य भनेर अचम्म पर्याै । बेलैमा थाहा नपाउँदा ताल भित्र केजमा पालेका धेरै जलारी समुदायका माछा मरे उनले भने ।

तालकाे मुहान क्षेत्रबाट बगेर अाउने माटाे, गेगर,बालुवाकाे कारण ताल वर्षेनी पुरिदै गएकाे छ । हामीहरुकै कारणले ताल सुक्दै गयाे भने ? सुन्दर ताल फाेहाेर पाेखरी जस्तै बन्दै गयाे भने ? हामीले भोली पानीको संकट पर्दा प्रयोग गर्नु पर्ने पानीको स्रोत हो फेवा । हामी भन्दा अघिल्लो पुस्ताले यही पानी खाएर हुर्के । हामीले पनि सानो छदा यही पानी खायौ । भोली हामीले यही पानी प्रयोग गर्न बाध्ये हुने अवस्था नआउँला भन्न सकिदैन् । मानव सभ्यताको विकास नै पानीको स्रोत नजिकै भएको हो । नदी, ताल, पानीका मुल, सिम क्षेत्र नै हुन सबै प्राणीका बाँच्ने आधार । शरिरमा पानी छ र जीवन छ । के पानी बिना बाँच्न सकौला र हामी ? यसैमा त छ जीवन । फेवा लगायत पानीका स्रोत ( जीवन रुपी घरहरु) बेलैमा बचाउँ, र बाँचौं ।

हिमालकाे छायाँ देखिने यस ताल क्षेत्रमा पानीकाे सतह घटेपछी दृश्य । तस्बिर : कृष्णमणि बराल
फेवातालकाे खपाैदी क्षेत्रमा ताल पुरिएर बनेकाे जमीन । यस क्षेत्रवरपर विगत ९ वर्षमा तीन सय राेपनी भन्दा बढी क्षेत्रफल ताल पुरिएकाे छ । तस्बिर : कृष्णमणि बराल

तालकाे पानीकाे सतह घटेकाे बेलामा तालकाे मध्यभागमै यस्ताे छ गहिराइ । तस्बिर : कृष्णमणि बराल

मुहान क्षेत्रबाट वर्षेनी बगाएर तालमा पु¥याउने गेगर, कमेराे, माटाेले तालकाे गहिराइ घट्दै गएकाे छ । तस्बिरमा देखिएकाे क्षेत्र फेवातालकाे मध्य क्षेत्र हाे । यसरी मध्यभागमै तालकाे गहिराइ यस्ताे अवस्थामा हुनु तालकाे आयु कम हुदै गएकाे संकत हो । बाँध मर्मत गर्न तालकाे पानी घटाएकाे समयमा तालका जीवहरुलाई कुनै असर नगर्ने गरि विज्ञकाे सल्लाहामा माटाे झिकेर तालकाे अायु बढाउनु पर्छ । माटाे झिक्दा मुहान क्षेत्रमा केही वर्ष अघि सम्म ताल रहेकाे क्षेत्र अहिले पुरिएर जमीन बनेका छन त्यस तर्फबाट सुरु गरिनु पर्छ । तालकाे संरक्षण गराै जैविक विविधता बचाउँ । सबैकाे जय हाेस ।