कृष्णमणि बराल
पोखराः फेवातालको सीमांकन प्रतिवदेन आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । तत्कालीन जिल्ला विकास समितिका सभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गण्डकी प्रदेश सरकारले फेवातालको सीमांकन प्रतिवदेन तयार पार्न समिति गठन गरेको थियो । नेपाल सरकारले सोही बामोजिम समिति गठन गरी निश्चित कार्यक्षेत्रगत सर्त समेत तोकी पठाएको थियो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल सीमांकन तथा नक्सांकन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर कायम गरिएकाे जानकारी दिए । सार्वजनिक भएको क्षेत्रफल २०३८ सालमा भएको अध्ययनले देखाएको तालको क्षेत्रफल भन्दा कम हो । २०३८ सालमा नेपाल सरकार र संयुक्त राष्ट्र सघीय विकास कार्यक्रमकाे अध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रफल ५.८० वर्ग किलोमिटर रहेकाे उल्लेख छ ।

बाँध मर्मत गर्न तालकाे सतह २ मिटर घटाइदा देखिएकाे फेवाताल । तस्बिर : कृष्णमणि बराल

फेवातालको चार किल्ला
फेवातालको चार किल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी—चङ्खपुर बीचको दम्किलो र दक्षिणमा चिसोपानी रानी वन कायम गर्ने समितिले निर्णय गरेको छ ।
यसै गरि फेवातालको तल्लो तटीय क्षेत्र (ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतरा, सेदी, खपौंदी, लामीडाँडा, अनदु समेतको क्षेत्र) मा वर्षायामको आधिकतम पानीको किनारालाई तालको सीमाना मान्ने र फेवातालको मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पार गरी भकुण्डेखोलाको अन्तिम घुम्ती नजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोई पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटी पामे घाँटीछिना मोटरबाटो सम्म कायम गर्न संलग्न अनुसूचि १ को नक्सा बमोजिमको फेवातालको सीमांकन कायम गर्ने बताइएको छ ।
फेवातालको क्षेत्रफल ५.७२६ वर्ग मिलोमिटर (११२५५ रोपनी ११ आना १ पैसा ) कायम गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

हाल सम्म भएका अध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रफल

१ : ब्रिटिस सर्भे अफ ईन्डिया सन् १९२५/१९२६ : ३.४६ वर्ग किलोमिटर
२ : सर्भे अफ इन्डियाले सन् १९५७/१९५८ : ४.३९ वर्ग मिलामिटर
३ : नेपाल भारत सहयोग मिसनको रिर्पोट बिक्रम संवत २०१८ : १०.३५ वर्ग किलोेमिटर
४ : पहिलो किल्ला नापी (कित्ता न २९७) बिस २०३२ : ४.४३ वर्ग किलोमिटर
५ : नेपाल सरकार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को अध्ययन प्रतिवेदन बिक्रम संवत २०३८ : ५.८० वर्ग किलोमिटर
६ : (IUCN) आइयुसिएनको अध्ययन रिपोट विक्रम संवत २०५२ : ४.४९ वर्ग किलोमिटर
७ : जिल्ला विकास समिति कास्की बिक्रम संवत २०५८ : ४.२५ वर्ग किलोमिटर
८ : पोखरा उपत्यका नगरविकास समितिले विक्रम संवत २०६४ : ५.०६ वर्ग किलोमिटर
९ : विश्वप्रकाश लामिछानेको प्रतिवेदन बिक्रम संवत २०६९ : ६.५ वर्ग किलोमिटर
१० : भूमिसुधार मन्त्रालय बिक्रम संवत २०७२ : ५.०७ वर्ग मिलोमिटर
११ : पोखरा महानगरपालिकाले बिक्रम संवत २०७७ : ५.०८ वर्ग किलोमिटर
१२ : फेवातालको सीमांकन प्रतिवदेन तयार पार्न गठीत समिति २०७७ : ५.७२६ वर्ग किलोमिटर

फेवातालकाे हालसम्म भएका अध्ययन प्रतिवेदन । स्रोत फेवातालको सीमांकन प्रतिवदेन तयार पार्न गठीत समिति २०७७ ।

वर्षा याममा फेवाताल । तस्बिर : कृष्णमणि बराल