कृष्णमणि बराल
पोखरा ः कास्कीको दोस्रो ठुलो ताल बेगनास सहित पोखराको लेखनाथमा रहेका ७ तालहरुको सीमांकन र मापदण्ड अध्ययन सुरु भएको छ । तालको सीमांकन र मापदण्ड निश्चित नहुँदा अन्यौल भएकोले तालहरुको सीमांकन र मापदण्ड अध्ययन सुरु भएको हो ।
पोखरा महानगरपालिकाले लेखनाथाका तालहरुको सीमांकन, नक्सांकन तथा मापदण्ड सम्बन्धि अध्ययन गरि सिफारिस गर्न डा सोमनाथ सापकोटाको संयोजकत्वमा समिति गठन गरे संगै दुई महिना देखि अध्ययन भइरहेको छ । पोखराको लेखनाथ क्षेत्रमा बेगनास, रुपा, दिपांग, खास्टे, न्युरेनी, गुँदे र मैदी गरी ७ ताल रहेका छन् । यिनै सात तालको महानगरपालिकाले सीमांकन र मापदण्ड तय तथा नयाँ मापदण्ड शिफारिसका लागि अध्ययन सुरु गरेको हो ।
पोखराको लेखनाथको तालहरुमा बेगनास र रुपातालमा अहिले १ सय मिटर मापदण्ड रहेको छ । अन्य तालहरुको हकमा ५० मिटर मापदण्ड रहेको लेखनाथाका तालहरुको सीमांकन, नक्सांकन तथा मापदण्ड सम्बन्धि अध्ययन गरि सिफारिस गर्न गठीत समितिका संयाेजक डा सापकोटाले बताए । स्थानीयले तालकाे मापदण्ड धेरै भएकाे बताउँदै अाएका छन् । तालहरुको सीमांकन, नक्सांकन तथा मापदण्ड सम्बन्धि अध्ययन गर्दा विभिन्न समयमा भएका अध्ययन प्रतिवेदनहरुको संकलन अध्ययन विश्लेषण, विभिन्न सरकारी निकायमा भएका नक्सा, श्रेस्ता र रिपोर्टहरुको अध्ययन तथा विश्लेषण, आधुनिक प्रविधि प्रयोग गरी (ग्राउन्ड र ड्रोन सर्भे) सर्भे गरिने संयोजक सापकोटाले बताए ।
ताल वरपर क्षेत्रका जनप्रतिनिधि, सरोकारवाला, व्यक्ति, स्थानीय संग छलफल तथा अन्तरक्रिया, लेखनाथ स्थित तालहरु सम्बन्धि अनुसन्धान कर्ता, विज्ञ, बुद्धिजिबी, सरकारी निकायका प्रतिनिधि, संरक्षण अभियान्ता संग छलफल तथा अन्तरक्रिया पनि गरिने उनले सुनाए । समितिले अहिले अध्ययनका क्रममा तालहरुको क्षेत्रफलको एकिन गर्ने काम, तालहरुको वरपर पर्ने रैकर, गुठी र सार्वजनिक जग्गाहरुको लगत संकन गरी प्रसोधन गर्ने, जग्गाहरुको न्युनतम मुल्यांकन तयार गर्ने तालहरुको सौन्दर्यकरण सम्बन्धि राय सुझाव संकलन, जलाधार क्षेत्र, ताल र सिमसार क्षेत्रहरुको अस्तित्व संरक्षण तथा समुचित उपयोगकालागि परिनु पर्ने योजना, हाल लगाईएको मापदण्डलाई कसरी थप बैज्ञानिक बनाउने लगायतका विषयमा अध्ययन भइरहेको डा सापकोटाले बताए । अध्ययन पछि अध्ययन प्रतिवेदन पोखरा महानगरपालिकालाई बुझाउने पनि उनले जानकारी दिए ।
ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकीका कार्यकारी निर्देशक डा अनुप गुरुङले लेखनाथ क्षेत्रका तालहरुको सीमांकन, नक्सांकन तथा मापदण्ड सम्बन्धि अध्ययन पछि यहाँका तालहरुको वास्तविक अवस्था थप स्पस्ट हुने बताए । यसै अनुसार तालको संरक्षणका काम सुरु गर्न सहज हुने पनि उनले जानकारी दिए । पोखरामा आइतबार सर्वाजनिक गरिएको फेवातालको सीमांकन प्रतिवेदन अनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर कायम गरिएको छ । तत्कालीन जिल्ला विकास समितिका सभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गण्डकी प्रदेश सरकारले फेवातालको सीमांकन प्रतिवेदन तयार पार्न समिति गठन गरेको थियो । फेवातालको पनि मापदण्ड लगायतका विषयमा थप अध्ययन हुन बाँकी नै रहेको छ ।
Leave A Comment