पोखराको आकाशमा दैनिक ६ सय उडान

कृष्णमणि बराल
पोखरालाई मात्र होइन नेपाललाई नै अन्तर्राष्ट्रिय जगतमा चिनाएको शााहासिक खेल हो प्याराग्लाइडिङ । पोखराको सराङ्कोटबाट उडान भरेर अन्नपूर्ण, धौलागिरी, माछापुच्र्छे लगायत हिमालको अवलोकन गर्दै देशकै दोस्रो ठुलो फेवातालकोका किनारमा अवतरण गर्न विदेशी पर्यटक लालायित हुन्छन् ।

यसैले त पोखराको प्याराग्लाइडिङ अन्तर्राष्ट्रिय स्तरमै परिचित छ । यहाँ प्याराग्लाइडिङका अन्तर्राष्ट्रि च्याम्पियनसिप पटक पटक भएका छन् । विश्वभरका प्यारापाइलोट यहाँको आकाशमा प्रतिस्पर्धा गर्न आएका छन् । यहाँको सुन्दरताले मोहित भएर एक पटक आएका शासासिक खेल मन पराउँने पर्यटक पटक पटक आउँछन् । करिव एक वर्ष अघि छिमेकी देश चीनमा देखा परेर विश्वभर फैलिएको कोरोनाका कारण अहिले विश्व पर्यटन बजारमा शुन्यता छाएको छ ।

विदेशी पर्यटक नआए पनि कोरोना कहरमा प्याराग्लाइडिङ व्यवसाय स्वदेशी पर्यटकले फस्टाएको छ ।अहिले दैनिक ६ सय भन्दा बढी उडान भएको छ । यो उडान पुरा क्षमता हो । सामान्य अवस्थामा पनि यहि रेसियोमा उडान हुने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । सामान्य अवस्थमा भने नेपाली भन्दा विदेशी पर्यटकले बढी संख्यामा उड्थे ।

विदेशी ७० प्रतिशत र स्वदेशी पर्यटक ३० प्रतिशत हुन्थे । अहिले भने सबै नेपालीकै भरमा प्याराग्लाइडिङ व्यवसाय व्यस्त बनेको छ । कोरोना संक्रमणमलाई ध्यानमा राख्दै पहिले ७ देखी ८ हजार सम्म शुल्क लाग्ने उडानलाई ३ हजार रुपैयाँमा नै उडान भर्न पाउने व्यवस्था व्यवसायीले गरेका थिए । अहिले सम्म नउडेका पोखरेली पनि यो प्याकेजले थप आकर्षित भएका छन् । अहिले भने एक उडानकाे ३५ सय कायम गरिएकाे छ ।

फेवाताल माथीका आकाशमा चरा संगै पर्यटकहरु प्याराग्लाइडिङमा रमाउने गर्दछन् । चरा संरक्षणको क्षेत्रमा काम गर्ने विज्ञहरु भने बाक्लो प्याराग्लाइडिङ उडानले हिउँदमा जाडो छल्न फेवातालमा आउने पाहँुना चरालाई भने असर गर्ने गरेको बताउँछन् । तालको मुहान सिमसार क्षेत्रमै अवतरण गर्ने र आकाशमा बाक्लो उडान भर्दा चराको उडानमा असर पुग्ने गरेको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्

प्याराग्लाइडिङमा रमाउँदै स्वदेशी पर्यटक तस्बिरमा ।

चरा संगै आकाशमा फनफनी प्याराग्लाइडिङमा रमाउँदै स्वदेशी पर्यटक ।

पाेखराकाे अाकाशमा बादल नजिकै भएर उडानमा रमाउँदै ।

तस्बिरहरु : कृष्णमणि बराल