पोखरा : पोखरा महानगरपालिका ३३ गण्डकीबेंसी भरतपोखरीमा पुस्तौं पुरानो सिमलको रूख उस्तै जवानीका साथ उभिएको छ। अरू सिमल अग्लिन्छन्। यो रूख भने पीपलको रूखजस्तो तलैबाट फैलिएको छ। हाँगामा पुराना सुनाखरी झुन्डिएर सौन्दर्य छरेको छ। हाँगा कुनै सुकेका छन त नयाँ तन्नेरी हाँगाहरू पनि उस्तै गरी पलाएका छन्।
यही सिमलको रूख विभिन्न प्रजातिका गिद्धको वर्षौंदेखि बासस्थान बनेको छ। यहीं नै बर्सेनि गिद्धले मायापिरतीका गीत गाउँदै मिलेर सन्तान वृद्धि गर्न पातपतिंगर बुटलेर घर बनाउँछन्। सहबास गर्छन्। अण्डा कोरल्छन्। आलोपालो गरेर चारा (मरेको जनावरको सिनो) खोज्न जान्छन्। चारा (सिनो) खाएर घाँटीमा जम्मा गर्छन् र ल्याएर बाहिर निकालेर बचेरालाई खुवाउँछन्। यसरी नै करिव तीन सय वर्ष अघि देखि गिद्धले गुँड लगाउँदै आएको स्थानीयको दावी छ ।
यस सिमलको रूखनजिकै बस्ती छ। बस्तीनजिकैका मान्छेहरूलाई गिद्धको चिन्ता छ। कोही आएर गिद्धलाई मार्छन् कि भन्ने। यस्तो चिन्ता अग्लो सिमलको रूखमुनि घर भएका ५८ वर्षीय केशवराज लामिछानेलाई धेरै छ। उनैको हकभोगमा रहेको जमिनमा रहेको बुढो सिमलको रूख वर्षौंदेखि गिद्धले आफ्नै घर मानेर आश्रय लिएका जो छन्। गिद्ध घरको धुरीमा बस्यो भने अशुभ हुन्छ भन्ने चलन अहिले पनि नेपाली समाजमा कायम छ। अशुभबाट शुभ बनाउन स्वस्ती शान्ति गर्नै पर्ने सोच भएका मानिस समाजमा अहिले पनि छन्। हिजो आज पनि गिद्ध घरको धुरीमा बसे शुद्ध बनाउन पूजा गर्ने
चलन छ।
समाजमा सबै मानिस एउटै सोचका हुँदैनन् र छैनन् पनि। पृथ्वीमा रहेका अरू जीव, जन्तु, चरा वनस्पतीलाई माया गर्ने पनि यसै समाजमा छन्। तिनै मध्येका एक हुन् पोखरा ३३ का ५८ वर्षीय केशवराज लामिछाने र उनको परिवार। घरसँगै जोडिएको अग्लो सिमलको रूखमा बस्ने गिद्ध मार्न आउनेलाई लखेट्नु पर्ने अवस्थासमेत आएको लामिछानेले बताए। गिद्धको हाडघोटेर लगाउँदा हाड भाचिएको सन्चो हुन्छ भनेर गिद्ध मार्न आउने गरेको उनले सुनाए।
सिनो खाएर वातावरण सफा गर्ने गिद्धलाई संरक्षण गर्नुपर्छ भनेर हामीले घर नजिकैको सिमलको रूखमा बस्ने गिद्धलाई संरक्षण गर्दै आएको हो उनले सुनाए। वर्षौंदेखि गिद्धले आफ्नै घर सम्झेर बस्दै आएका छन्। कसरी हामीले यो रूख ढाल्न र बास मास्न सक्छौं लामिछानले भने। यो रूख भएरकोथान पनि हो। यसैले पनि गिद्धले आफ्नो घर सम्झेर वर्षौंदेखि बसेको हुन सक्ने स्थानीयको भनाइ छ। पहिले पहिले यही रूखमा बिभिन्न थरी गिद्धले १३ वटासम्म गुँड बनाएर हुँकाएको उनले सम्झिय। त्यति बेला ६०/७० भन्दा बढी गिद्ध रूखमा बस्ने गरेको पनि उनले बताए।
पछिल्लो समयमा कुकुरलगायतका जनावरलाई विष खुवाएर मारेर जथाभावी फाल्दा त्यस्तो सिनो गिद्धले आहाराका रूपमा खाँदा धेरै गिद्ध मरेको सुनिन्छ। कसैलाई हानी नोक्सानी नगर्ने, मारेर नखाने मरेको जनावरलाई खाएर वातावरण सफा गर्ने गिद्ध हिजो आज धेरै कम देखिँदै गएको पनि उनले सुनाए। सिमलका रूखमा बस्ने गिद्ध रूख पनि ढल्दै गएका छन्। आहारा कमी मात्र होइन विष हालेपछि र बासस्थानको नै कमी भएर होला गिद्ध हिजो आज कम देखिने गरेको केशव राजका दाजु ७२ वर्षीय तारानाथ लामिछानले सुनाए।
‘हामीले आश्रय लिन आएका गिद्धको बासस्थानका रूपमा रहेको सिमलको रूख जोगाएका मात्र छौनौ एक रोपनी जमिन गिद्धका लागि खेती नगरी छाडेको पनि छौं,’ उनले भने। यस रूखमा गत वर्ष विश्वमै दुर्लभ सानो खैरो गिद्धको दुइटा जोडीले गुँड बनाएर बच्चा हुकाएर उडाएका थिए। यस वर्ष पनि दुई जोडी सानो खैरो गिद्धले गुड बनाए। एउटा जोडीले बनाएको गुड अण्डा नकोरल्दै झर्यो। अर्को गुँडमा भने बच्चा हुर्केको छ। आकाशमा कावा खाने तयारीमा रहेको लामिछानेले बताए।
डंगर गिद्धमा विद्यावारिधी गर्दै गरेका रामजी गौतमले त्यस रूखमा १२ वर्षदेखि आफूले सानो खैरो प्रजातिको गिद्धले गुँड बनाउँदै आएको देखेको र प्रत्येक वर्ष मनिटरिङ गर्दै आएको सुनाए। कास्कीमा डंगर प्रजातिका गिद्धको ३० वटासम्म गुँड रेकड भएको र सानो खैरो गिद्धको ८ वटासम्म गुँड भेटिएकोमा पछिल्लो समयमा डंगर गिद्ध शून्यमा झरेको र सानो खैरोको एउटा गुँड मात्र फेला परेको गौतमले बताए। पोखराको फेदीपाटनका सिमलका रूखहरूमा ७ वटा सम्म गिद्धका गुड थिए। अण्डा भएकै समयमा सन् २००८ तिर रूख ढालिएको पनि उनले बताए। यसरी गिद्धका घरहरू भत्केका छन्।
पहिले ७ वटा सानो खैरोको गिद्धका गुँड हुन्थे अहिले एउटा मात्र गुड भेटिएको पनि उनले सुनाए। एकै ठाउँमा सानो खैरो गिद्धका सात वटा गुँड लगाएको अवस्थामा पाइनु नेपालकै लागि गौरवको कुरा थियो। संरक्षण क्षेत्रका लागि निकै खुशीको कुरा। तर, अब त्यस्तो अवस्था रहेन उनले भने। यस्तै अर्को विश्वमै दुर्लभ डंगर प्रजातिका गिद्धको कास्कीमा ३३ वटा सम्म गुँड थिए। अहिले भने एउटा गुँड भेट्न पनि मुस्कील भएको गौतमले सुनाए।
प्रकृतिमा गिद्ध धमाधम मर्न थालेपछि डंगर प्रजातिको गिद्ध संरक्षणका लागि सन् २००८ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा चितवनको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र सञ्चालनमा आयो। त्यस प्रजनन केन्द्रमा गुँडबाट बचेरा लग्ने र हुँकाएर त्यही गिद्धको संख्या वृद्धि गर्ने उद्देश्यले प्रजनन केन्द्र सञ्चालन गरियो। त्यस केन्द्रमा पोखराको भरतपोखरी, निर्मलपोखरी, दिपाङताल क्षेत्रका सिमलका रूखमा लगाएका डंगर प्रजातिका गिद्धको गुँडबाट सन् २००८ मा पहिलो पटक १३ र दोस्रो वर्ष ४ वटा गिद्धका बच्चा झिकेर लगियो। त्यसपछिका वर्षमा त्यस क्षेत्रका रूखहरूमा गिद्धले गुँड बनाउन छाड्दै गएको उनको गिद्धको अनुसन्धानको क्रममा गरेको गुँड मनिटरिङबाट पाएको अनुभव छ।
सन् १९९० को दर्शकमा नेपालमा दश लाख भन्दा बढीको संख्यामा गिद्ध भएको अनुमान गरिएको थियो। त्यसपछिका वर्षमा गिद्धको संख्या घट्दै गयो। किन घट्दै गयो भन्ने अनुसन्धानको क्रममा पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधि प्रयोग गरेका चौपाया मरेपछि गिद्धले आहाराका रूपमा खाँदा मृगौला बिग्रेर मर्ने गरेको वैज्ञानिकले पत्ता लगाए। यति बेलासम्म ठूलो संख्यामा गिद्ध घटिसकेका थिए। ९० प्रतिशतसम्म गिद्धको संख्या घटेको बताइन्छ। यस्तो अवस्थाबाट गिद्धलाई जोगाउन र गिद्ध संरक्षणका लागि नेपाल सरकारले सन् २००६ मा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगायो। गिद्धका लागि रेष्टुरेन्ट पनि सञ्चालनमा आयो।
यस्तो अवस्थामा पोखरा ३३ भरतपोखरीका लामिछाने परिवारले गिद्ध संरक्षणका लागि पुर्याएको योगदान महत्वपूर्ण र प्रशंसनीय रहेको गिद्ध अनुसन्धानकर्मीसमेत रहेका गौतमले बताए। नेपालमा हिमाली, हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, राज, सुन र लामोठुँगे गरी ९ प्रजातिका गिद्ध पाइन्छ। ती सबै प्रजातिका गिद्ध पोखरामा पाइन्छन्। ती गिद्धहरूमध्ये सानो खैरो गिद्ध, डंगर, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति संकटापन्न अवस्थामा छन्।
गिद्धले वर्षौंदेखि गुँड लगाउँदै आएको सिमलको रूख तीन सय वर्षभन्दा पुरानो भएको केशवराजका दाजु ७२ वर्षीय तारानाथ लामिछानेले दाबी गरे। यो सिमलको रूख हजुरबुवाले पनि निकै पुरानो भएको बताएको उनले सुनाए। बुवा र मैले देख्दा पनि यो सिमलको रूख उस्तै देखिन्छ यही आधारमा यो रूख ३ सय वर्षभन्दा पुरानो भएको उनले दाबी गरे।
Leave A Comment