Posted on

कृष्णमणि बराल

पोखरा : भित्र गुफा अर्थात् खोक्रो जमिन छ। माथि एकतले घरदेखि चार तलासम्मका कंक्रिट भवन उठेका छन्। पोखरा तालहरूको मात्र होइन गुफाहरूको पनि सहर हो। गुफाहरूको सहर पोखरामा यस्तो ठाउँ पनि छ जहाँ गुफामाथि बस्ती बसेको छ।

पोखरा–१७ छोरेपाटनको पाताले छाँगो (डेभिज फल) र छाँगोदेखि दक्षिणतर्फ गुप्तेश्वर गुफा रहेको छ। फेवातालको बाँध हुँदै बगेर आएको पानी आकर्षक पाताले छाँगोको रूपमा सुन्दरता छर्दै जमिन भित्र बिलाउँछ। पाताले छाँगोबाट खसेर विलीन भएको पानी गुप्तेश्वर गुफा हुँदै फुस्रे खोलामा गएर मिसिन्छ। पाताले छाँगोको सुन्दर दृश्य गुप्तेश्वर गुफाभित्रबाट पनि देख्न सकिन्छ। यही गुफामाथि बस्ती बसेको छ।

गुफाको प्रवेशद्वारदेखि ४० मिटर गहिराइमा गुप्तेश्वर महादेवको मूर्ति स्थापना र मन्दिर निर्माण गरिएको छ। मन्दिरदेखि पूर्वतर्फ करिब सय मिटरबाट गुफाबाटै सुन्दर पाताले छाँगो अवलोकन गर्न सकिन्छ। छाँगोको तल्लो भागबाट उत्तर रानीवनतर्फ लामो सुरुङ (करिब एक किलोमिटर) र दक्षिणतर्फ दुई वटा सुरुङमा विभाजन भएर फुस्रेखोलामा गएर टुंगिएको छ। गुफाभित्र साना ठूला पाँच वटा तलाउ पनि रहेको गुफा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष नीरविक्रम पौडेलले सुनाए।

गुफा छत १२ मिटरदेखि १८ मिटरसम्मको मोटाइ छ। भूसतहमा सडक सञ्जालदेखि मानवीय संरचना निर्माण तीव्र रूपमा वृद्धि हुँदा यस क्षेत्रको भौगर्भिक संवेदनशीलता चुनौतीपूर्ण बनेको प्रा.डा. कृष्ण केसी बताउँछन्। गुफाजस्तो संवेदनशील र जोखिम क्षेत्रमा सहर बस्ने अवस्था आउनु अकल्पनीय घटनाको प्रतीक्षामा बस्नु जस्तै रहेको विज्ञ बताउँछन्। गुफाको अध्ययन, अनुसन्धान विदेशी अनुसन्धानकर्मीले धेरै पहिलेदेखि गर्दै आए पनि स्थानीयले गुफाबारे विस्तृत रूपमा थाहा पाएर संरक्षणको काम सुरु गरेको भने २०५० सालदेखि हो। गुप्तेश्वर गुफा अहिले धार्मिक पर्यटकको गन्तव्यस्थल बनेको छ।

कहिले पत्ता लाग्यो र कहिलेदेखि बढ्यो बस्ती ?

पोखरा १७ छोरेपाटन स्थित गुप्तेश्वर गुफामाथी बनेका घर । तस्बिर : कृष्णमणि बराल

सन् १९७० मा हिमालय क्षेत्रमा एडी वाल्थमको नेतृत्वमा आएको बेलायती अनुसन्धान टोली र सन् १९७४, १९७६ मा र अन्य अध्ययन टोलीले पनि यो गुफाको अध्ययन गरी अभिलेख राखेको विभिन्न अध्ययनले देखाएको छ।  ती अध्ययनले यस गुफाको लम्बाइ सुरुमा १ हजार ४ सय ७९ मिटर र प्रवेशद्वार ६ ओटा रहेको नक्सांकन गरेर देखाएको छ। यस्तै दि एटलस अफ ग्रेट केभ अफ दि वल्र्डको पृष्ठ १३६ मा यस गुफाको बारेमा लेखिएको छ। दि एटलस अफ ग्रेट केभ अफ दि वल्डमा पोखराको वडा नम्बर १७ मा वेस्टन पावसस्टेसन र इस्टन पावस इस्टेसन दुई वटा थप गुफासमेत रहेको उल्लेख छ। तर, त्यस गुफा कहाँ छ भन्ने अहिलेसम्म जानकारीमा छैन।

विदेशी अनुसन्धानकर्मीले यस गुफाबारे यति धेरै पहिले अध्ययन, अनुसन्धान गरे पनि स्थानीयले भने २०४९ पुसमा गुफाको बारेमा जानकारी पाएका थिए। २०५० साल पुस १७ गते स्थानीयहरू भेला भएर गुफालाई धार्मिक पर्यटकीय गुफाको रूपमा विकास र संरक्षण गर्ने निर्णय गरेका थिए। भेलाले ज्योतिष नीरविक्रम पौडेलको सभापतित्वमा १३ सदस्य मूल समिति बनाएर संरक्षणका काम सुरु गरेका थिए। यसै समितिले गुफा पत्ता लागेको बारेमा प्रचारप्रसार गरेपछि पर्यटकीय गन्तव्यको रूपमा विकास भएको हो।

गुफाको प्रचार प्रसार भएपछि पाताले छाँगोमा मात्र आउने पर्यटक गुफामा पनि जान थाले। २०५३ साल सम्म ८/१० घर मात्र रहेको यस क्षेत्रमा अहिले दुई सयभन्दा बढी घर बनिसकेको पोखरा महानगरपालिकाको तथ्यांक छ। गुफा पत्ताा लागेपछि नै गुफा माथि बस्ती बस्न सक्नेतर्फ सचेत भएर व्यक्तिका जमिन अधिग्रहण गरेर सुन्दर उद्यान बनाउन सुझाउँदै आए पनि अहिलेसम्म कार्यान्वयन नभएको प्रा.डा. कृष्ण केसीले बताउँदै आएका छन्। तत्कालीन नगरपालिकाले गुफामाथि घर बन्न रोक्ने गरी योजना ल्याउनुपर्ने थियो। नगरपालिका र संघ सरकारले मापदण्ड तोक्नेबाहेक दीर्घकालीन समाधानका विषय के हुन् भन्नेतर्फ ध्यान नदिँदा नै यो अवस्था आएको विज्ञ बताउँछन्।

२०५०/०५१ सालसम्म गुफावरपर तीन घर र पाताले छाँगो वरपर ६/७ घर मात्र रहेको गुफा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष नीरविक्रम पौडेल सम्झन्छन्। पाताले छाँगोसँगै गुप्तेश्वर गुफा पनि पर्यटकको आकर्षक गन्तव्य बन्दै गएपछि व्यावसायिक गतिविधि सँगै बस्ती पनि बढ्दै गएको हो। २०५१ साल माघ ८ गते र २०५४ साल फागुन २ गते तत्कालीन राजा वीरेन्द्रले गुफाको अवलोकन गरेका थिए। गुफा अवलोकनपछि राजा वीरेन्द्रले गुफामाथिको क्षेत्रलाई सुन्दर उद्यान बनाएर यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गुरुयोजना बनाएर ल्याउन तत्कालीन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको उनले बताए।

राजा वीरेन्द्रको दरबारमा भएको गोलीकाण्डमा परी मृत्युपछि गुरुयोजना नै अघि नबढेको पौडेलले सुनाए। त्यसपछिका सरकारले गुफा संरक्षणतर्फ ध्यान नदिएको पौडेलले बताए। गुफा वरपर बस्ती बढेको छ तर महानगरपालिकाले मापदण्ड तोक्नेबाहेक संरक्षणको काम केही नगरेको उनले सुनाए।

किन हुँदैन मापदण्ड कार्यान्वयन ?

छोरेपाटन क्षेत्रमा पाताले छाँगो (डेभिज फल) र गुफाको कारण पर्यटकीय गतिविधि बढिरहेको छ।  २०५० साल पुसमा गुफा खुला भएपछि यस क्षेत्रमा थप पर्यटकीय गतिविधि  बढ्दै गएको हो। गुफा र पाताले छाँगोका कारण गुफा र छाँगोवरपर राम्रो व्यापार हुन थालेपछि व्यापारिक घर बन्ने क्रम बढेसँगै बस्ती बढ्दै गएको हो।

सरकारले रोजगारका अवसर सिर्जना गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा युवा बेरोजगार छन्। आयआर्जन हुने यस्ता महŒवपूर्ण क्षेत्रमा भएका व्यक्तिका लालपुर्जाका जमिनमा सरकारले मापदण्ड मात्र तोकेर सधैं झुलाउँदाको परिणाम पनि गुफामात्र होइन पोखराका ताल, नदी वरपर बस्ती बसेको स्थानीय बताउँछन्।

पोखरा १७ छोरेपाटन स्थित गुप्तेश्वर गुफा । तस्बिर : कृष्णमणि बराल

नेपाल सरकार खानी तथा भूगर्भ विभाग र फेडेरल इन्स्टिच्युट फर जिओसाइन्स एन्ड नेचुरल रिसोर्स जर्मनीको संयुक्त अध्ययन टोलीले सन् १९९८ मा अध्ययन गरेर तयार पारेको पोखरा उपत्यकाको इन्जिनियरिङ र वातावरणीय नक्साको प्रतिवेदनले पोखराका कुनकुन क्षेत्र अति जोखिम, जोखिम, कम जोखिम र सुरक्षित छ भन्ने रिपोर्ट तयार पारेको छ। रिपोर्टमा पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफामाथि र गुफासँगै जोडिएको जमिन बस्ती बस्न नहुने अति जोखिमयुक्त भनेर रेड जोनमा राखिएको छ।

त्यही अध्ययन रिपोर्टको आधारमा संघ सरकार र पोखरा महानगरपालिकाले गुफाको केन्द्रदेखि ७५ मिटर वरपर घरलगायत कुनै पनि संरचना बनाउन नहुने भन्दै मापदण्ड तोकेको थियो। २०७२ सालको भूकम्पपछि संघ सरकारले गुफाजस्ता जोखिम क्षेत्रको मापदण्ड बढाएर दुई सय मिटर कायम गरेको छ। यही मापदण्डको आधारमा गुफाको केन्द्र बिन्दुबाट दुई सय मिटर वरपर अहिले घरलगायत गुफालाई लोड हुने कुनै पनि संरचना बनाउन नपाइने महानगरपालिकाको मापदण्ड छ। गुफाको मापदण्डभित्र नगरपालिकाले घर बनाउन स्वीकृत दिएको छैन। घर बन्ने क्रम भने पहिलेदेखि नै बढिरहेको छ।

जोखिम मानिएका गुफाको मापदण्डभित्रै बस्ती बस्दा पनि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले कुनै चासो नदिनु चिन्ताको विषय भएको नागरिक समाज पोखराका पूर्वसंयोजक रामबहादुर पौडेल बताउँछन्। यस्ता जोखिम क्षेत्रमा बस्ती बस्दा हुन सक्ने दुर्घटना पहिले नै आकलन गरेर राज्यले उचित सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए। गुफामा हुन सक्ने दुर्घटनाबाट जोगिन र सुरक्षित बनाउन आवश्यकताअनुसार सरकारले स्थानीय नागरिकको लालपुर्जा भएको जमिनको बेलैमा उचित मुअब्जा दिएर हटाउन पहल गर्नुपर्ने पनि उनले बताए।

अति जोखिम क्षेत्रमा महानगरपालिकाले घर बनाउन स्वीकृत नदिँदा नदिँदै जबर्जस्ती घर बनाउनु दुर्घटना नजिक पुग्नु रहेको विज्ञ बताउँछन्। स्थानीय जग्गाधनी भोलि हुन सक्ने दुर्घटनाभन्दा पनि तत्काल त्यस्ता जोखिम क्षेत्रमा घर बनाएर बस्न पाउनु नै ठूला उपलब्धि ठान्दा पनि समस्या आएको नगरपालिकाका कर्मचारी बताउँछन्।

गुफा संरक्षण गर्न टनेल प्रविधिको प्रयोग

गुप्तेश्वर माहादेव गुफा व्यवस्थापन समितिले गुफा संरक्षण गर्न पहल गरेको छ। करिब तीन किलोमिटर लम्बाइ र ८० मिटरसम्म गहिराइ रहेको गुप्तेश्वर गुफा भित्रबाट पातले छाँगो देखिन्छ। मन्दिर रहेको क्षेत्र र पाताले छाँगोको अवलोकन गर्न सकिने क्षेत्र निकै फराकिलो छ।

भित्र खोक्रो रहेको गुफामाथि संरचना बन्ने क्रम बढ्दै गएपछि गुफा व्यवस्थापन समितिले गुफा माथि बनेका संरचनाको भारवहन क्षमता बढाउन र भूकम्पजस्ता जोखिम पनि थेग्न सकोस् भन्ने उद्देश्यले जलविद्युत् आयोजनामा बनाइने टनेल सिस्टमजस्तै गुफाभित्रको जमिन सुरक्षाका लागि पिल्लर उठाएर टनेल सिस्टमअनुसार १ करोड ७ लाखको लागतमा संरक्षणको काम भएको गुफा व्यवस्थापन समितिका उपाध्यक्ष ईश्वरीप्रसाद लम्सालले बताए।

अति जोखिम क्षेत्र भएकोले गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले गुफा माथिका घर जग्गा पनि किनेर गुफालाई भार कम गराउने प्रयाससमेत गरेको उनले सुनाए। यसरी खरिद गरेको जमिनको घर भत्काएर गुफामाथि खुला प्राङ्गण बढाउँदै गुफामाथि लोड कम गर्दै गएको बताइएको छ। यस आर्थिक वर्षमा पनि समितिले झन्डै १ करोड ६८ लाख लागनीमा २ सय ८५ वर्गमिटर एउटा घरसहितको जमिन खरिद गरेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले जनाएको छ।  

गुफालाई लोड कम गरेर सुरक्षित बनाउन समितिले अहिलेसम्म गुफामाथिको ६ रोपनी जमिन किनेर त्यहाँ रहेका सात वटा घर भत्काएर खाली चौरमा परिणत गरेको समितिका उपाध्यक्ष लम्सालले सुनाए। गुफा र पाताले छाँगो नजिकै सवारीसाधन पार्किङका लागि छोरेपाटन मावि र गुफा समितिले १० रोपनी जमिन किनेर व्यवस्थापन गरेको समितिले जनाएको छ। पाताले छाँगोको व्यवस्थापन र आम्दानी छोरेपाटन माविले नै सञ्चालन र उपयोग गर्दै आएको छ। 

गुप्तेश्वर महादेव गुफामा दर्शन गर्न र अवलोकन गर्न स्वदेशी र विदेशी गरी वार्षिक १० लाख जति पर्यटक आउने गुफा व्यवस्थापन समितिले जनाएको छ। गुफा प्रवेशका लागि विदेशी नागरिकलाई सय रुपैयाँ शुल्क लाग्छ। नेपालीलाई ५० रुपैयाँ र नेपाली विद्यार्थीलाई ३५ रुपैयाँ शुल्क लाग्ने समितिले जनाएको छ।  

गुफाबाट आएको आम्दानी गुफा संरक्षणका साथै शिक्षातर्फ पनि लगानी गरेको गुफा व्यवस्थापन समितिका उपाध्यक्ष लम्सालले बताए। गुफाको आम्दानी गुप्तेश्वर महादेव क्याम्पस सञ्चालनका लागि सहयोग गर्नुको साथै समिति आफैंले गुप्तेश्वर वेद विज्ञान पाठशाला (गुरुकुल) पनि चलाएको छ।

गुरुकुलमा ६ देखि १० सम्म पढाइ हुन्छ। गुरुकुलमा संस्कृत विषयलाई प्राथमिकतामा राखेर सम्पूर्ण विषयको पढाइ हुने पनि उनले सुनाए। गुरुकुलतर्फ ५० जना विद्यार्थी अध्ययनरत छन्। गुप्तेश्वर क्याम्पसतर्फ एक हजार जना विद्यार्थीले अध्ययन गरिरहेको पनि उपाध्यक्ष लम्सालले जानकारी दिए। क्याम्पसमा बीबीएस, एबीएस, बीएचएम र बीआईएमलगायतका विषयमा पढाइ हुँदै आएको छ। 

कोभिडको समयमा गुफाको आम्दानी अन्य क्षेत्रमा जस्तै घटेको र कोभिड पछि भने पुनः लयमा फर्कने क्रममा रहेको पनि उनले सुनाए। गुफा अवलोकन गर्न जाने पर्यटकको प्रवेश शुल्कबाट वार्षिक ४ देखि ५ करोड जति आम्दानी हुने गरेको पनि उनले सुनाए। गुफा संरक्षणमा चुनौती भएकोले गुफाबाट भएको आम्दानी शिक्षाको साथै गुफा संरक्षणका क्षेत्रमा धेरै लगानी हुँदै आएको पनि उनले बताए। गुफा व्यवस्थापन समितिले गुफा संरक्षण गर्दै आए पनि महानगरपालिका, प्रदेश र संघ सरकारले भने गुफा संरक्षणका लागि काम नगरेको स्थानीयले बताएका छन्।

मापदण्ड कार्यान्वयनमा गर्छौं – मेयर आचार्य

विभिन्न अध्ययन रिपोर्टले अति जोखिम ठहर्‍याएको गुप्तेश्वर गुफामात्र होइन अन्य गुफाको मापदण्डभित्र घरलगायत कुनै पनि संरचना बनाउन महानगरपालिकाले स्वीकृति नदिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए।

नागरिकको जिउधनको सुरक्षा गर्नु महानगरपालिका, प्रदेश र संघ सरकारको प्रमुख जिम्मेवारी रहेको बताउँदै मेयर आचार्यले यस्ता जोखिम क्षेत्रमा नयाँ घर नबनेको सुनाए। गुफाको मापदण्डभित्रका केही पुराना घरसहितको जमिन गुप्तेश्वर गुफा व्यवस्थापन समितिले किनेर घर भत्काएर फराकिलो बनाउँदै गएको पनि मेयर आचार्यले बताए। गुफा माथिका र जोखिम मानिएको क्षेत्रका पुराना घर महानगरपालिकाले पनि हटाउने उनले सुनाए।

गुफामाथि नै कति घर छन् प्राविधिकले अध्ययन गरिरहेको बताउँदै मेयर आचार्यले रिपोर्ट आएपछि उपयुक्त निकास खोजेर हटाउने पनि बताए। पहिले गुफा छ भन्ने थाहा नहुँदै घर बने अब यस्ता जोखिम क्षेत्रमा घर बन्ने काम रोकिएको मेयर आचार्यको भनाइ छ। गुप्तेश्वर गुफा छ भन्ने थाहा नहुँदै गुफा माथि भएर सिद्धार्थ राजमार्ग पनि बनेको आचार्यले बताए। पहिले नै पत्ता लागेको महेन्द्रगुफा क्षेत्रमा यस्तो समस्या नरहेको मेयर आचार्यले सुनाए।

पाँच दशकअघिसम्म औलोको प्रकोपको कारण अत्यन्त न्यून जनआवादी रहेको यस क्षेत्रमा गुफाभन्दा केही पर फुस्रेखोला नजिकै २०२१ सालमा तिब्बती शरणार्थी शिविर राखिएको थियो। छोरेपाटन क्षेत्र स्याङ्जा, पाल्पालगायतका पश्चिमतर्फका जिल्लाहरूबाट पोखरा, काठमाडौं, मुस्ताङ जाने आउने गर्ने पुरानो मूल सडक हो। यसै गुफा वरपरको छोरेपाटन क्षेत्रमा सन् १९७८ र २०१४ को बीचमा भू—उपयोगको स्थितिमा ठूला परिवर्तन आएको एक अध्ययन रिपोर्टमा उल्लेख छ । सन् १९७८ मा रहेको खाली चौर ६८ हेक्टर बाट सन् २०१४ मा ७.६६ हेक्टरमा सीमित रहन गई –८८.७३ प्रतिशतले खुम्चिएको अध्ययनले देखाएको छ।

गुफामाथिको बस्ती हटाऊँ – डा. गुरुङ

विपद्विज्ञ डा. नारायण गुरुङ अति जोखिम क्षेत्र गुफामाथि बनेका घर जुनसुकै समयमा दुर्घटना हुन सक्ने भन्दै गुफामाथिको बस्ती हटाउनु पर्ने बताउँछन्।

सन् १९९८ मा भएको अध्ययनपछि पोखराका कुनकुन ठाउँ बस्न लायक छन् र कुनकुन ठाउँ अति जोखिम बस्नै नहुने छन् भन्ने विषयमा केन्द्रित रहेर जोखिमपूर्ण क्षेत्रको नक्सा नै तयार पारे पनि त्यो सिंगो अध्ययनको अहिले बेवास्ता भएको उनले सुनाए। पोखराको जोखिमपूर्ण भौगोलिक अवस्थामा अतिक्रमण भएको पनि गुरुङले बताए।

अध्ययनपछि प्रकाशित भएको भौगोलिक र जोखिमपूर्ण नक्साको हुबहु पालना गरे जोखिम कम हुने उनी बताउँछन्। अध्ययन, अनुसन्धानले जोखिम भनेर पत्ता लागिसकेको गुफामाथि किन घर बनाउने ? सेती किनारमा बस्ती बस्नु पनि जोखिम छ भन्ने थाहा हुँदाहुँदै किन घर बनाएर बस्न दिने ? गुरुङ प्रतिप्रश्न गर्छन्। हामीले २०७२ सालको भूकम्प र २०६९ सालको सेतीको बाढी देखेर पनि नदेखेजस्तो गर्नु अर्को विपद् कुर्नु जस्तै रहेको पोखरा महानगरपालिकाका सल्लाका समेत रहेका विपद्विज्ञ डा. गुरुङ बताउँछन्।

कास्कीको सेती किनारका सादल, करुवा, पोखराको सेती किनारका बस्तीदेखि तनहुँको भिमादसम्म नै जोखिम रहेको उनले सुनाए। सेती नदीमा माछापुच्छ्रे हिमाल, अन्नपूर्ण तेस्रो र अन्नपूर्ण चौथो हिमालदेखि चुनसहितको पानी बगेर आउँछ। २०६९ सालमा अन्नपूर्ण चौथो हिमाल क्षेत्रको चट्टान खसेर त्यसको असरले सेतीमा बाढी आएको र जुन सुकै बेला फेरि पनि यस्तै ठूलो बाढी आउन सक्ने भएकोले यस्तो जोखिम क्षेत्रका बस्ती अन्यत्र सार्नुपर्ने डा. गुरुङको सुझाव छ।

अन्नपूर्ण पोष्ट दैनिकमा वैशाख ३०, २०८० शनिबार प्रकाशित समाचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *