कृष्णमणि बराल
‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला।’ यस वर्षको विश्वसिमसार दिवसको नारा हो यो । सिमसार क्षेत्र संरक्षण गर्न जनचेतना जगाउने उद्देश्यले प्रत्येक वर्ष सिमसार दिवस मनाइए पनि नेपालमा संरक्षणका काम भने हुन सकेको छैन् । तालै तालको सहर पोखरा महानगरभित्र मात्र ९ ताल रहेका छन् । तर यहाँका ताल, सिमक्षेत्र, नदी, खोला संरक्षण भने हुन सकेको छैन् ।
सिमसार भनेका पानीका स्रोत हुन्। तर, संरक्षण गर्न ध्यान नदिँदा यस्ता क्षेत्र मासिँदै गएका छन्। पोखरामा ओसिलो, धापिलो, दलदले, पानी जमिरहने यस्ता क्षेत्र पुरेर घरघडेरी बनाउने क्रम बढेको छ। सबै तालका मुहानमा डोजर चलाएर माटो खलबल्याउने क्रम बढ्दो छ। जलाधार क्षेत्र अध्ययन नगरी सडक बनाउँदा पनि वर्षायाममा जाने पहिरोका कारण तालहरू साँघुरिँदै गएका छन्।
ताल, नदी, जलाशय, धाप, कुण्ड, धानखेतसमेत गरी ६ प्रकारका सिमसार छन्। यी क्षेत्र संरक्षणमा ध्यान नगएको विज्ञ डा. दीपेन्द्र जोशी बताउँछन्। जोशीले जलवायु परिवर्तनले सिमसारमा आश्रित जनसमुदायको जीविकोपार्जनमा कस्तो असर परेको छ भन्ने विषयमा अध्ययन गरेका छन्।
पोखरा उपत्यकाका फेवा, बेगनास, रूपा, खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी र कमलपोखरी विश्व सिमसार दिवस २०७२ मा रामसारमा सूचीकृत भएका हुन्। यहाँका ताल र सेती नदीसमेत रामसारमा सूचीकृत गरेर अन्तर्राष्ट्रियकरण गरियो। तर, त्यसको मर्मअनुसार काम नभएको जानकार बताउँछन्। यहाँको पारिस्थितिकीय प्रणालीमै असर पर्दै गएको उनीहरूको ठहर छ।
फेवा मात्र होइन, बेगनास, दिपाङ, न्युरेनी, मैदी ताल रिङ्गै पर्यटक आकर्षण गर्न भन्दै सडक बनाइएको छ। त्यस क्रममा कतै तालै पुरिएको छ। न्युरेनी तालमा माटो थुपारेर बाटो बनाइएको छ। ताल किनारमा बनाइएका पदमार्ग र सडक निर्माणका क्रममा डोजर चलाएका कारण पानीका मूल सुक्न थालेको जनाइएको छ। जसकारण तालको पानीको स्रोत घट्ने, वर्षायाममा मुहानमा पहिरो जाँदा त्यसले तालको क्षेत्रफल र सतह पनि घटिरहेको हर्पन फेवा मत्स्य सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर जलारी बताउँछन्।
ताल किनारको वन क्षेत्रमा सडक खन्दा बस्ती, वन र तालको संरक्षणमा ध्यान नदिँदा पहिरोको जोखिम बढेको दिपाङ आसपासका बासिन्दा नारायणप्रसाद लामिछाने बताउँछन्। सडक बनाउने तर ढल नबनाउँदा पहिरोको जोखिम देखिएको छ। बेगनास ताल क्षेत्रमा पनि वरपर सडक बनाइएको छ। त्यही कारण तालको मुहान चण्डीखोला, कमारङ खोला क्षेत्रमा गत वर्ष सात ठाउँमा पहिरो गएको स्थानीय शिवराज बास्तोलाको भनाइ छ। बेगनासको मुहानस्थित सिमसारमा गत साता माछापालनका लागि भन्दै पोखरी बनाउन डोजर चलाइएको छ। त्यस क्रममा जमेको माटो खलबलिई वर्षायाममा ताल पुरिने जोखिम रहने सिमसार विज्ञ डा. जोशी बताउँछन्।
रूपाताल पनि मुहान क्षेत्रबाट पुरिने क्रम तीव्र छ। ताल संरक्षण गर्न बाँध बाँध्ने काम सुरु भएको छ। पहिलो चरणमा सिल्टेसन ड्याम निर्माण अघि बढेको छ। २०३२ को नापीअनुसार १३५ हेक्टरमा फैलिएको ताल हाल १०७ हेक्टरमा खुम्चिएको अध्ययनले देखाएको छ। बाँध बनेपछि तालको क्षेत्रफल १७४ हेक्टर पुग्ने जनाइएको छ।
फोहोरजति ताल र नदीमा पोखराका ताल, नदी र खोला प्रदूषणको चपेटामा परेका छन्। फेवामा मिसिने बुलौदी र फिर्के खोला, सेती नदीमा बढी समस्या देखिएको छ। २०३४ सालसम्म तालको पानी खाएको स्थानीयवासी गोविन्दराज पहारी सम्झना गर्छन्। त्यति बेलासम्म बैदाममा खानेपानीको धारा विस्तार भएको थिएन। उनका अनुसार त्यति बेला तालमा सिक्का खसालेर डुबेर निकाल्ने प्रतिस्पर्धा नै चल्थ्यो। त्यति कञ्चन फेवामा विन्ध्यवासिनिदेखिको ढल फिर्के खोला हुँदै मिसिएको छ। मुहान क्षेत्र चंखपुर, पामे, खपौंदी, फेवा फाँटमा बस्ती बढ्ने क्रमसँगै फेवाको मुख्य स्रोत हर्पन खोला पनि प्रदूषणको चपेटामा परेको छ। महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले ढल नहटाए तालमा फोहोर मात्रै जम्ने चिन्ता संरक्षणकर्मीले व्यक्त गरेका छन्।
घरबाट निस्कने फोहोर पानी बग्ने ढल कि फेवामा मिसिने बुलौदी, फिर्के खोलामा सोझिएका छन् कि त सेतीमा। किनारका घरको फोहोर पानी सेतीमै सोझ्याइएको छ। यसैले यहाँका पानीका स्रोत संकटमा पर्दै गएको कवि तथा संस्कृतिविद् तीर्थ श्रेष्ठ बताउँछन्। ‘पानीका स्रोत संरक्षणका लागि पुर्खाहरूले पानीमा फोहोर गर्दा पाप लाग्छ भन्ने गर्थे। नदी, खोला, तालमा पूजा गर्ने परम्परा पनि पानीमा फोहोर नगरौैं भन्ने सन्देश दिने थियो’, उनी भन्छन्, ‘तर सांस्कृतिक विचलन आउँदा पनि पानीको स्रोत प्रदूषणको चपेटामा परेको छ।’
घटे चरा ताल, नदी, खोला, सिमसारमा चरा धेरै हुनु भनेको ती क्षेत्र सफा र सुरक्षित छन् भनेर बुझिने विज्ञ बताउँछन्। पारिस्थितिकीय प्रणाली बिग्रिएको छैन, चराका बासस्थान र पानीका स्रोत सुरक्षित छन् भन्ने अर्थमा बुझ्नुपर्ने संरक्षणकर्मी कृष्ण भुसाल बताउँछन्।
पोखराका तालमा चराको संख्यामा कमी आउँदै गएको अध्ययनले देखाएको छ। फेवा तालमा गत वर्ष चरा गणना गरिएको थियो। विभिन्न प्रजातिका १८ सय ७८ चरा देखिएको थियो। यस वर्षको गणनामा घटेर ११ सय ८८ मात्र देखिएको पोखरा पंछि समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्। फेवामा सन् २०१० मा २८ सयभन्दा धेरै चरा देखिएको थियो। सबैभन्दा धेरै बिजुला गैरी प्रजातिका चरा देखिएको छ। यो चरा पहिले ५ सयको हाराहारीमा देखिनेमा अहिले २ सयको हाराहारीमा सीमित छ। पहिले ५ सयको हाराहारी देखिने कुर्मा चरा घटेर २५० को संख्या मात्र रहेको घिमिरे सुनाउँछन्।
हिउँदमा आउने पाहुँना चरा घट्नुमा देशभित्र र बाहिर उब्जेका दुबै खतरा लागू हुने विज्ञ हेमसागर बराल बताउँछन्। जलवायु परिवर्तनका कारण सिमसार क्षेत्र सुक्दै र खुम्चदै गएको उनको बुझाइ छ। रैथाने प्रजाति घट्नुमा देशभित्रको बासस्थान बिग्रनु। बासस्थानमा आक्रमण गर्नु जस्तै सिमसार क्षेत्र पुरेर बस्ती बसाल्नु रहेको छ। आहारा कमी हुनु। तालमा पाइने आहारा माछाको संख्या कम हुनु पनि हो। जलविद्युत् उत्पादनका क्रममा खोला नै सुकाउँदा पनि चरा संकटमा पर्दै गएको बराल बताउँछन्।
सन् २००४ देखि पोखरामा चराको नियमित रूपमा बर्सेनि चरा गणना गरेर अभिलेख राख्न थालिएको हो। त्यति बेला पोखराका सबै तालमा ५ हजारभन्दा बढी चरा देखिएको गणनामा सहभागी हुँदै आएका विज्ञ झलक चौधरी बताउँछन्। यस वर्षको गणनामा ४४ प्रजातिका ३ हजार ८ सयको संख्यामा चरा भेटिएको छ।
पोखरा महानगरपालिका र गण्डकी प्रदेश ताल प्राधिकरणले भने तालको संरक्षण र सौन्दर्यकरणको काम भइरहेको बताएका छन्। ताल प्राधिकरणका कार्यक्रम अधिकृत रनबहादुर विकका अनुसार पर्यापर्यटनको माध्यमले जीविको पार्जनमा सहयोग गर्ने उद्देश्यले काम भइरहेको छ।
के हो सिमसार क्षेत्र ? सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रूपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभागलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो ।रामसार क्षेत्रको घोषणा र व्यवस्थापन मार्गदर्शन २०७५
सिमसार पुरेर घडेरी बनाउँदै महानगर, जोखिममा फेवाताल (१० फोटो)
Leave A Comment