Posted on

कृष्णमणि बराल

संयुक्त राज्य अमेरिका, दक्षिण अमेरिकाको पेरु, मध्य चिली, क्यानडा र उरुग्वेसम्म पाइने अमेरिकी कालो गिद्ध नेपालमा पहिलो पटक देखिएको छ ।

गिद्ध संरक्षण अभियान्ताहरुले पहिलो पटक नयाँ विश्व गिद्ध प्रजातिको कालो गिद्ध बुधबार नवलपरासीको जटायु रेस्टुरेन्ट कावासोतीमा देखेका हुन् । नेपालमा पुरानो विश्व प्रजातिका ९ प्रजातिका गिद्ध पाइन्छन् । लामो समय देखि गिद्धको अनुसन्धान र संरक्षण गर्दे आएका डिबि चौधरी सहितको टोलीले बुधबार बिहान कावासोतीको जटायु रेस्टुरेन्टमा नयाँ विश्व गिद्ध प्रजातिको अमेरिकी कालो गिद्ध भेटेको भन्दै कावासोतीको जटायु रेस्टुरेन्टमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

नेपालमा पहिलो पटक देखिएको यस प्रजातिको गिद्ध यस अघि एसियामा देखिएको बारेमा आफूलाई जानकारी नभएको उनले बताए । यसैले यस प्रजातिको गिद्ध एसियामै पहिलो पटक नेपालमा रेकर्ड भएको पनि उनले सुनाए । अमेरिकी कालो गिद्ध नेपाल सम्म कसरी आइपुग्यो भन्ने विषय संरक्षणकर्मी, गिद्ध अनुसन्धानकर्मी वैज्ञानिककालागि अनुसन्धानको विषय बनेको छ । कालो गिद्ध बुधबार बिहान ७ बजेर ४५ बजे नियमित गिद्ध अवलोकनका क्रममा कावासोतीको जटायु रेस्टुरेन्टको सिनो भएको ठाउँमा अन्य नेपालमा पाइने स्थानीय गिद्धहरूको हुलमा देखापरेको गिद्ध संरक्षण कर्मी डिबि चौधरीले बताए ।

गिद्धकालागि सञ्चालनमा रहेको रेस्टुरेन्टमा गिद्धकालागि आहाराको रुपमा बिहानै सिनो राखिएको थियो । सिनो राखिएको साढे दुई घण्टापछि गिद्ध आहाराको रुपमा सिनो खान विस्तारै गिद्धहरु झरेका थिए । विस्तारै नेपालमै पाइने स्थानीय प्रजातिका गिद्धहरु सिनोमा झर्न थाले । यसै क्रममा अचानक अमेरिकी कालो गिद्ध पनि  झरेको देखिएको चौधरीले बताए । चौधरी सहित नेपाल पंछि संरक्षण सङ्घका साथीहरू नेचर गाईडको टोलीले यो दृश्य देखेको हो । कालो गिद्ध स्वस्थ्य देखिएको र शरिरको कुनै पनि अंगमा गिद्ध अनुसन्धानकालागि राखिने त्यस्ता कुनै ट्याग पनि नदेखिएको उनले सुनाए ।

नयाँ प्रजातिका गिद्ध नेपालमै पाइने स्थानीय गिद्धको हुलमा सिनो खान झर्दा स्थानीय गिद्धले कुनै प्रतिक्रिया नदेखाएको पनि चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । स्थानीय गिद्धहरूले सहजै कालो गिद्धलाई स्विकारेको र राम्रो संग मेलमिलाप गरेर आहारा खाएको दृश्य देखेको पनि उनले बताए । आकाशमा उड्दा र रुखमा बस्ने क्रममा पनि स्थानीय प्रजातिका गिद्ध संगै बसेको उनले बताए । स्थानीय गिद्धहरु हिमाली, डंगर लगायतका ठुला गिद्ध संग सानो आकारको नेपालकालागि नयाँ प्रजातिको अमेरिकन कालो गिद्ध मिलेरै सिनो खाएको दृश्य निकै रमाइलो लागेको चौधरीले बताएका छन् । 

बिहान १० बजेर ४० मिनेटमा सिनोमा झरेका स्थानीय गिद्ध संगै झरेको कालो गिद्ध ११ बजेर २५ मिनेटमा आहारा खाएर अन्य गिद्धहरु संगै उडेर रुखमा बसेको थियो । त्यसपछि स्थानीय गिद्ध र ओरिएन्टल हनी बजार्डसंग आकाशमा उडेको कालो गिद्ध ११ बजेर ५३ मिनेट जाँदा उत्तर पश्चिम तर्फ उडेको चौधरीले बताएका छन् । त्यसपछि दिउँसो भने फेरी जटायु रेस्टुरेन्टमा फर्केर नआएको पनि उनले बताए । 

संरक्षणकर्मीहरुले भने नेपालमा अमेरिकी गिद्धको उपस्थिथिको कारण तस्करहरुको ओसारपसारका क्रममा भागेर वा अन्य कारणले नेपाल सम्म आइपुगेको हुन सक्ने बताएका छन् । नेपालमा कसरी अमेरिकी गिद्ध आइपुग्यो अनुसन्धानबाट थाहा हुने चौधरीको विश्वास छ ।

नवलपुरको जटायु रेष्टुरेन्टमा भेटिएको अमेरिकन कालो गिद्ध । तस्बिरहरु गिद्ध संरक्षणकर्मी डिबि चौधरीको फेसबुकबाट लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *