कृष्णमणि बराल

पोखरा : पोखराको एक बजारको नामै छ, सिमलचौर। यहाँ पहिले चौरभरि सिमलका रूख भएकाले सिमलचौर नाम राखिएको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक रामजी गौतम बताउँछन्। अहिले भने सिमलचौरमा सिमलका रूखको ठाउँ कंक्रिट घरले लिएको छ। 

बस्ती बिस्तारसँगै निजी खेत, बारीका सिमल कटान हुने क्रम बढेको छ। यसैले पुरानो गाउँघरका त्यो सिमलसहितको दृश्य देख्न मुस्किल बन्दै गएको चरामा विद्यावारिधि गरेका डा. हेमसागर बराल बताउँछन्। पुराना रूख कटान हुने तर नयाँ हुर्काउने बानी हट्दै गएको विज्ञ बताउँछन्। यद्यपि, संरक्षित क्षेत्रभित्र र सामुदायिक वनमा भने समस्या नरहेको डा. बरालको भनाइ छ। 

सिमलको रूख अग्लो हुन्छ, भुवा नरम। धेरै थरी चराचुरुंगीले गुँड बनाउन सिमलकै रूख रोज्छन्। गिद्ध, चील, गरुड, साँवरीको त पहिलो रोजाइमै पर्छ। कुथुर्के, टुकटुके, न्याउली र तोप चरा पनि पाएसम्म यही रूखमा गुँड लगाउँछन्। 

सिमलमा पात कम हुन्छ। हाँगाबिँगा धेरै हुँदैनन्। टुप्पो भने झ्याप्प हुन्छ। अग्लो हुनाले सिकारीबाट सुरक्षित ठानेरै धेरै चराचुरुंगीलाई सिमलकै रूखमा गुँड बनाउन मन लाग्ने विज्ञ बताउँछन्। चराका प्रजातिअनुसार सिमलको सानो हाँगा, मुख्य हाँगा, बूढो रूखको टोड्कामा पनि गुँड लगाउँछन्। नेपालमा पाइने स्तनधारी चमेरोको एउटा प्रजाति सिमलको रूखमै झुन्डिएर बस्ने गर्छ। यो नेपालमा पाइने सबैभन्दा ठूलो चमेरोको प्रजाति हो।

अग्ला रूखमा गिद्धका चार प्रजाति सानो खैरो, सुन, सेतो र डंगर गिद्धले गुँड लगाउँछन्। गरुढ प्रजातिमा भुडीफोर, लोभिपापी गरुढ, घुंघीफोर, कृष्णकण्ठ गरुडले गुड लगाउने डा. बराल बताउँछन्। 

लघुमहाचील, कालोचीललगायत चील र दुई प्रजातिका साँवरीलगायत ठूला चराले पनि सिमलमा गुँड लगाउँछन्।  अन्नपूर्ण, माछापुच्छ«े हिमालबाट २५ किलोमिटरको हवाई दुरीमा रहेको पोखरामा वर्षैभरि न धेरै जाडो हुन्छ न त धेरै गर्मी नै। यसैले पोखरामा तराई र हिमाली क्षेत्रमा पाइने दुवै थरीका चरा यहाँ पाइन्छन्। 

यसैले सिकारी चराका लागि पोखरा स्वर्ग भएको डा. बराल बताउँछन्। उनका अनुसार पोखरा एक मात्र एउटा यस्तो सहर हो जहाँ नेपालमा पाइने सबै नौ प्रजातिका गिद्ध पाइन्छ। यसैले पोखरा चराले चिनेको मान्छेले नचिनेको स्वर्ग रहेको उनी बताउँछन्। पोखरामा पछिल्लो समय गिद्ध बस्दै र गुँड बनाएर बच्चा हुर्काउँदै आएका रूख पनि कटान हुने क्रम बढेको छ।  पोखराका वडा नम्बर ३३ र २१ का विभिन्न स्थानका सिमल गिद्धको रोजाइ बन्दै गएको छ। पोखरा–२१ दोबिल्लापारी निर्मल पोखरीस्थित रइचौरका सिमल पछिल्लो समय काटिएका छन्। बाक्लो संख्यामा गिद्ध बस्दै आएका रूख धमाधम कटान हुन थालेपछि पोखरा मात्रै होइन देशैभर यस्तो समस्या बढ्दै गएको हो।  

नवरपुर क्षेत्रका पनि निजी जमिनका रूख कटान हुने क्रम बढेको गिद्ध संरक्षण क्षेत्रमा क्रियाशील संरक्षणकर्मी डीबी चौधरी बताउँछन्। चौधरीका अनुसार नवरपुरमा सेतो गिद्ध, सानो खैरो र डंगर प्रजातिका गिद्धले गुँड बनाउने गरेको छ। सिनो खाएर वातावरण सफा गरी मान्छेलाई विभिन्न संक्रामक रोग लाग्नबाट बचाउने गिद्धका घर धमाधम भत्कन थालेको उनी बताउँछन्। 

गिद्धले खोला, ताल, सार्वजनिक स्थलका खुला ठाउँ जहाँतहीँ मरेका जनावरलाई छिनभरमा खाएर दुर्गन्ध फैलनबाट रोक्छन्। त्यसले रेबिज, प्लेग, हैजा, झाडापखलासहित पशु चौपायामा एन्थेक्स, ब्रुसोलोसिस र क्षयरोग जस्ता रोगको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट मान्छे र पशु चौपायालाई बचाउँछ। 

चितवनका संरक्षणकर्मी चराविद् टीकाराम गिरी सरकारले सिमलको रूख कटान खुला गरेपछि देशभरका निजी जमिनमा कटान बढेको बताउँछन्। सरकारले सिमलको रूख संरक्षण गर्न विशेष प्याकेज नै ल्याउनुपर्ने संरक्षणकर्मीको माग छ।  

सिमल बहुउपयोगी रूखका प्रजातिमध्येको एक रहेको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीको भनाइ छ। पराजुलीका अनुसार सिमलका बहुआयामिक गुण छ। सरकारले नै निजी जमिनका रूख कटान गर्न पाइने व्यवस्था गरेकाले आवश्यक कागजातसहित निवेदन दिएर कटान गर्न पाइने व्यवस्था छ। 

जैविक विविधताका लागि महत्वपूर्ण सिमल कटान गर्न खुला भएकाले निजी जमिनका रूख नकाटी दिए हुन्थ्यो भन्नु बाहेक अन्य उपाय नभएको उनी सुनाउँछन्।  सिमलको रूखमा चैत–वैशाखमा फूल फुल्छ। त्यति बेला रस चुस्न र त्यहाँ हुने कीरा, फट्यांग्रा खान ६० देखि ७० प्रजातिका चरा आउने डा. बराल बताउँछन्। उनका अनुसार सिमल जैविक विविधता र वातावरणीय हिसाबले महत्वपूर्ण रूख हो।  यो मानव उपयोगको हिसाबले पनि उतिकै महत्वपूर्ण रूख हो। गाउँघरमा सिमलको फूलको तरकारी र अचार बनाएर खाने चलन रहेको डा. बराल बताउँछन्। सिमल औषधिजन्य वनस्पति पनि हो।

गाउँघरमा सिमलको पात निचोरेर काटेको ठाउँमा दल्ने चलन छ। यसले घाउ निको पार्छ। सिमलको भुवा बटुलेर न्यानो कपडा र सिरानी बनाउने चलन रहेको उपप्राध्यापक गौतम सुनाउँछन्। यसकै रूखबाट डुंगा बनाइन्छ। फर्निचरका रूपमा पनि यो उपयोगी काठ हो।  सलाईको काँटी बनाउन पनि पहिले निकै प्रयोग हुन्थ्यो। यो परम्परात रूपमा गाउँघरमा निकै रुचाइएको रूख भएको डा. बराल सुनाउँछन्। 

अरू प्रजातिका रूख कटिदा पनि खेतबारीको आँठा, बाटो किनार, सार्वजनिक चौर, चोकमा सिमलका रूख भने रहिरन्थे। पहिलेको पुस्ताले मायाँ गरेको बहुउपयोगी र जैविक विविधताले धनी रूख सिमल भएको डा बराल बताउँछन्। 

सिमलकाे रुखकाे महत्वबारे आजकाे अन्नपूर्ण पाेष्टमा छापीएकाे समाचार हाे ।

सिमलचौरमै निख्रियो सिमल (annapurnapost.com)