Posted on

कृष्णमणि बराल

जन्म सँगै मृत्यु निश्चित छ । एक सिक्काको दुई पाटा हो जन्म र मृत्यु । प्रकृतिले (भगवानले) जन्म र मृत्यु तय गरेरै यो धर्तीमा सबै प्राणीलाई पठाएका हुन्छन् । 

मान्छे मात्र होइन सबै प्राणी, जीव र वनस्पतिको पनि यसरी नै वर्षौ देखि जीवन चक्र चल्दै आएको छ । रुख सानो बिरुवा हुँदै विशाल वृक्ष भएर शीतल छहारी दिन्छ । हामी र हामी जस्तै अरु प्राणीकालागि प्राणवायु अक्सिजन छाड्छन् । चराचुरुङ्गी, किराफट्याङ्ग्रालाई आश्रय दिन्छन् । उमेर पुग्दै गएपछि बोटबिरुवा पनि बुढा हुँदै जान्छन् ।

रुखहरू जराबाट मक्किँदै, धमिरा लाग्दै उमेर पुगेपछि ढल्छन् । ढलेपछि पनि विभिन्न किरा, धमिरा, जीवकालागि आहारा बन्छन् । अन्य वनस्पतिकालागि मल बनेर धर्तीमै विलीन हुन पुग्छन् । कुनै रुख सानैमा पनि मर्छन् ।

यसरी हामी मान्छे जस्तै रुखमा पनि प्राण हुन्छ । उनीहरूलाई पनि काट्दा दुख्छ । तपाईँले कुनै रुख काट्दा चोप आएको देख्नु भएको छ ? हो हाम्रो शरीरमा काट्दा रगत आए जस्तै त  हो नि ।

यसरी सबै जीव र प्राणीको जीवन एक अर्काको अस्थित्व सँग गाँसिएको हुन्छ । वनका राजा सिंह र बाघ पनि सङ्घर्ष पूर्ण जीवन बाँच्छन् । एक दिन यो धर्ती नयाँ पुस्तालाई हस्तान्तरण गर्दै उनीहरू पनि यो धर्तीबाट विलीन हुन्छन् ।  यसरी सबै सजीव प्राणीको जन्म पछि मृत्यु पनि निश्चित छ । यसैले यो पृथ्वीका हामी सबै प्राणीको उस्तै जीवन कहानी हुन्छ । मान्छेले आफ्ना अनुभव भन्न सक्छ । आफूबिरुद्ध आइलाग्ने सँग लड्न, भिड्न सक्छ । तर अरू प्राणीले गर्ने प्रतिकार मान्छेको जस्तो हुँदैन । भद्र शैली हुन्छ । बस त्यति नै त हो फरक ।

मुख्य विषय तर्फ फकौं

पोखरा ११ फूलबारी हजुरबा (ससुराली हजुरबुवा) अघि भनेको वृक्ष जस्तै धेरैको छहारी बन्नु भो । अक्सिजन रुपी प्राण बनेर जीवन दिनु भो । विक्रम संवत् १९८० भदौ कृष्ण जन्माष्टमीमा बुबा होमनाथ बास्तोला र आमा डिलकुमारीको कोखबाट जन्मनु भएका हजुरबा बालकृष्ण (ओमनाथ) ९८ वर्षको उमेरमा २०७८ जेठ १४ गते  शुक्रबार दिउँसो ५ बजे हाँस्दै छोरा बुहारी र नाति , पनाति सँग कुरा गर्दा गर्दै जीवन रुपी श्वास फेर्न नै बिर्सनु भो । भगवानका प्यारा हुनु भो ।

४ महिना अघि हजुरबा बिरामी हुनु भएको थियो । श्वास फेर्न पनि गार्हाे भएको थियो । अक्सिजन दिनु परेको थियो । एक हप्ता अस्पताल बसेर तङ्ग्रिएर घर फर्कनु भो । बिस्तारै उहाँको शरीर लयमा फर्कीयो । आफै दैनिक नृत्य कर्म गर्न सक्ने गरी तङरिनु  भो ।

उहाँ मुसुक्क हाँस्दा देखिने चम्किला सेता दाँत उहाँको यो बुढ्यौलीको सान थियो । आँखा पनि चस्माको सहारा बिनै प्रस्ट देख्नु हुन्थ्यो । यो उहाँ शारीरिक रूपमा स्वस्थ्य हुनुहुन्छ भन्ने आधार थिए । यसैले हजुरबा सय वर्ष भन्दा बढी हामी सँगै रहनुहुन्छ भन्ने मलाई विश्वास थियो ।

हजुरबाले श्वासा फेर्न बिर्सनु भन्दा ४ दिन अघि हामी फूलबारी घर गएका थियौ । यो कोरोना कहरमा हजुरबालाई कुनै सङ्क्रमण नहोस् भन्ने तर्फ यशोदा र म सचेत थियौ । त्यसैले तलैबाट हजुरबा सँग आवाज र इशारा दुवैले बोल्यौ । उहाँले सन्चै छु भनेर  बार्तलीबाट हात हल्लाउनु भो । इशारा गर्नु भो । हामी फर्कीयाै ।

१४ गते शुक्रबार दिउँसो सवा पाँच बजेको हुँदो हो संगमले फूलबारीबाट फोन गरे । अंकल हजुरबा हुनुहुन्न यशुलाई लिएर आउनु । मैले यशोदालाई फोन गरिन भन्दै राखे । मैले पत्याउनै सकिन । अस्तिभर्खर भेटेर आउँदा देखेको हँसिलो मुहार कसरी एक्कासी मुजाउन सक्छ ? त्यो दिन दिनभर झरी परेको थियो । हामी फूलबारी पुग्दा हजुरबा चिरनिन्द्रमा हुनुहुन्थ्यो । आमा, बुवा, दाई, भाउजू, दिदीहरू वरपर बस्नु भएको थियो । विश्वास मन्नै करलाग्यो उहाँ भगवानको प्यारा हुनु भो ।

मैले हजुरबाको त्यो हँसिलो मुहार झलझली सम्झे । हजुरबा ३५ वर्षको उमेर हुँदा हजुरआमा होमकुमारी यो धर्तीबाट बिदा हुनु भएको थियो । हजुरआमा स्वर्गीय हुनु भएपछि उहाँले अर्काे बिहेको बारेमै सोच्नु भएन । उहाँले एक छोरा गोविन्द बास्तोलालाई नै आफ्नो जीवनको सबैथोक मान्दै ९८ वर्ष जीवन बाँच्नु भो । बुवा १०  वर्षको उमेर हुँदा हजुरआमा स्वर्गीय हुनुभएको थियो । नाबालक छोरालाई हुँकाउँदै उहाँले ४ नातिनी, २ नाति, नातिनातीनाका दश पनाति पनातिनीको ठूला परिवारसंग रमाउनु भो ।

उहाँ यौवन अवस्थामा नुन लिनु भोट पुग्नु भो । धान खेत पोखरामा मात्र होइन चितवन पनि बिस्तार गर्नु भो । आफ्नै खेतको धान पराल लिन चितवन पनि पुग्नु भो । यसरी उहाँले सङ्घर्ष पूर्ण जीवन बाँच्नु भो । यो धर्ती छाडेर जाँदा पनि खुसी र हाँसोका साथ छोरा, बुहारी, नाति, पनाति सँग कुरा गर्दा गर्दै कुनै रोग  बिना खुसी साथ यो धर्तीबाट बिदा हुनु भो । हजुर पृथ्वीलोकमा जस्तै स्वर्गमा पनि उसै गरी मुस्कुराएर हाँसीखुशी रहनु होस । इमानदार, सत्यवादी, साधा जीवनका धनी प्रिय हजुरबा प्रति हार्दिक श्रद्धासुमन । हजुरलाई सधै सम्झीरहने छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *