Posted on
  • कृष्णमणि बराल
  • पोखरा
  • १३ जनवरी २०२४

झन्डै २२ अर्ब रुपियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष पूरा भएको छ। तर अन्तर्राष्ट्रिय उडान नगण्य हुँदा ऋण कसरी तिर्ने भन्ने प्रश्न जटिल बन्ने देखिन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०२२ ज्यानुअरी १ तारिख अर्थात् गत वर्ष पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकै तामझामका साथ उद्घाटन गरेका थिए।

हालसम्म चीनबाट दुई र भुटानबाट एउटा चार्टर जहाज विमानस्थलमा ओर्लिएका छन्। जाजरकोट भूकम्पका बेला सहायता सामग्री लिएर चिनियाँ जनमुक्ति सेनाका दुई वटा कार्गो विमान आएका थिए।

हिमालयन एअरलायन्सले काठमाण्डूबाट विमानस्थल उद्घाटनको दिन र त्यसपछि गरेको अर्को उडान आन्तरिक भए पनि क्यानले त्यसलाई पनि अन्तर्राष्ट्रिय उडानमा राखेको छ। यसरी सात वटा अन्तर्राष्ट्रिय उडान भएका छन्।ती उडानबाट २ सय ९६ जना यात्रु आवतजावत गरेको नागरिक उड्डयन प्राधिकरण (क्यान) सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

‘अन्य’ स्रोतबाट पोखराको ऋण तिर्दै

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलले एक वर्षमा ३३ करोड रुपियाँ आम्दानी गरेका छन्। पुरानो विमानस्थलबाट हेलिकप्टर, अल्ट्रालाईट र जोमसोम उडान हुँदै आएको छ।

अन्तर्राष्ट्रिय उडानबाट करिब चार लाख रुपियाँ मात्र आम्दानी गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन्। उनका अनुसार ४२ यात्रु लिएर फर्किएको भुटानको ड्रुक एअरबाट उक्त आम्दानी भएको हो। अन्य विमानले पर्यटक लिएर आए पनि पोखराबाट यात्रु नलिई फर्केका थिए। चीनको एक्जिम ब्याङ्कबाट ऋण लिएर बनेको विमानस्थलको आम्दानीको तुलनामा ऋणको किस्ता निकै ठूलो छ।

बीबीसी नेपाली अनलाइनमा प्रकाशित समाचार ।

हालसम्म ब्याज भुक्तानी र प्रतिबद्धता शुल्क गरी करिब ९५ करोड रुपियाँ तिरेको क्यानले जनाएको छ। तर गत असोजमै तिर्नुपर्ने रकम तिरेको छैन। क्यानले पोखराका साथै क्यानको अन्य स्रोत र अन्य विमानस्थलबाट भएको आम्दानीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण र ब्याज तिरिरहेको छ। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण यसरी तिरेर नहुने’ भनेर ऋणको केही प्रावधान परिवर्तन गर्नुपर्ने नेपाल सरकारको अडान रहेको क्यानका सूचना अधिकारी भुलले जानकारी दिए। तर एक्जिम बैङ्क वा चिनियाँ पक्षबाट त्यसबारे कुनै कुरा निर्णय नभएको बताउँदै उनले भने, “प्रधानमन्त्रीको चीन भ्रमणका बेला ऋणको केही भाग अनुदानमा परिवर्तन गर्ने भन्ने थियो। त्यसैले ऋण सम्झौताका केही सर्त परिवर्तन भएपछि तिर्ने भनेर पर्खिएका हौँ।”

उडानभन्दा उद्घाटनको ‘हतारो’

उद्घाटनकै दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुने आशा पोखराका पर्यटन व्यवसायीको थियो। त्यही आशामा पर्यटन व्यवसायीले होटल, रेस्टुरेन्ट लगायत पर्यटकीय पूर्वाधारमा अर्बौँ रुपियाँ थपेको उनीहरू बताउँछन्। अहिले उनीहरूमा चिन्ता थपिएको छ। पर्यटकीय सहर विदेशका सहरसँग सोझै जोडियोस् भन्ने पोखरेलीहरूको चाहना पुरानै हो।

त्यसैले उनीहरू अन्तर्राष्ट्रिय विमानस्थलका लागि ४० वर्षअघि अधिग्रहण गरिएको जग्गामा छिटो विमानस्थल बनाउन आग्रह गर्दै धर्ना र रिले अनसन समेत बसे। विमानस्थल बन्यो तर अत्यावश्यक तयारीभन्दा उद्घाटनमा हतारो गरिएको कतिपयको टिप्पणी छ। विमानस्थल सञ्चालनमा आएको करिब दुई महिनापछि मात्र फागुन ११ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) लागू भयो।

त्यससँगै रात्रिकालीन उडानको बाटो खुल्यो र फागुन १८ गतेदेखि उडान गरियो। त्यस्तै विमानस्थल सञ्चालन भएको ११ महिनापछि मात्र अध्यागमन कार्यालय स्थापना गरियो। अहिलेसम्म विमानस्थलभित्रै इन्धन डिपो तयार नहुँदा ट्याङ्करले पुरानो विमानस्थलबाट इन्धन ओसार्ने गर्छन्।

पहिलो चार्टर विमान चीनबाट

विमानस्थल सञ्चालन भएको करिब ६ महिना पुग्दा सन् २०२३ जुन २१ मा पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो। सिचुवान एअरलाइन्सको न्यारोबडी जहाज चीनको छेङ्दुबाट आएको थियो। त्यसमा फेवातालमा भएको नेपाल–चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन ७२ जना खेलाडी, अफिसियल सहित ८४ जना पोखरा आएका थिए।

भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेप्टेम्बर ९ मा आएको ‘ड्रुक एअर’को उडान विदेशबाट आएको दोस्रो चार्टर्ड उडान हो। पोखरा भ्रमणमा आएका विदेशी पर्यटकलाई लिन आएको विमानमा चालक दलका सात र तीन पर्यटक थिए। फर्किँदा ४२ यात्रु लिएर गएको थियो।

चीनको कुनमिङ सहरबाट हिमालयन एयरलाइन्सले २३ नोभेम्बर २०२३ गरेको उडान अहिलेसम्मको अन्तिम चार्टर्ड उडान हो। चीन सरकारको कार्यक्रम अन्तर्गत भएको ‘साझा समृद्धिका लागि दौड’ भन्ने अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन खेलाडी, अधिकारीसहित ९५ जना उक्त विमानमा आएका थिए।त्यसअघि जाजरकोट र रुकुममा गएको भूकम्पका प्रभावितलाई राहत सामग्री लिएर ८ नोभेम्बरमा चिनियाँ जनमुक्ति सेनाका दुई वटा कार्गो विमान चीनको छेङ्दुबाट पोखरा आएका थिए।

विदेशी भूमिबाट यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका चार्टर्ड उडान अहिलेसम्म ३ वटा मात्र हुन्। मानवीय सहायता सामग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको दुई वटा जहाज र हिमालयन एअरलाइन्सले काठमाण्डूबाट गरेका दुई वटा आन्तरिक उडानलाई पनि क्यानले अन्तर्राष्ट्रिय उडानमा राखेकाले अन्तर्राष्ट्रिय उडानको सङ्ख्या सात भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा रेग्मीले हिमालयनको दुई वटा उडान आन्तरिक भए पनि अन्तर्राष्ट्रिय उडानको सर्टिफिकेट भएकोले त्यसलाई अन्तर्राष्ट्रिय उडानमा राखिएको जानकारी दिइन्।

राष्ट्रिय ध्वजावाहकको उडान माग

अन्तर्राष्ट्रिय उडान हुन नसक्दा सरकारमाथि मात्रै ऋणको बोझ थपिएको छैन। व्यवसायीहरू पनि आफूहरू ठूलो मर्कामा परेको गुनासो गर्छन्।विदेशी पर्यटकहरू अन्तर्राष्ट्रिय उडानबाट सोझै पोखरामा झर्दा व्यापार बढ्ला भनेर लगानी बढाएकाहरूमाथि आर्थिक दबाव परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

राष्ट्रिय ध्वजावाहक विमानबाट छिट्टै विभिन्न एसियाली मुलुकमा नियमित उडान गरेमा विदेशी वायुसेवाले पनि उडान सुरु गर्ने उनको विश्वास छ।नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पनि विदेशी विमान सेवालाई पर्खेर बस्ने अवस्था अब नरहेको बताउँछन्। “विमानस्थल बनाउन लिएको ऋणको ब्याजको रूपमा बोझ सरकारलाई थपिएको थपिएकै छ,” उनी भन्छन्, “नेपाल आफैले राष्ट्रिय ध्वजावाहकबाट उडान सुरु गरेर सन्देश दिनुपर्छ।”

पोखरामा आन्तरिक उडानका लागि विमानस्थल हुँदा हुँदै पनि पर्यटकीय सहर पोखरामा पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको ठानेर राजा वीरेन्द्रले विमानस्थलका लागि जग्गा अधिग्रहण गरेको बताइन्छ।अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहनको निम्ति ल्यान्डिङ, पार्किङ शुल्क एक वर्षसम्म नलाग्ने र ग्राउन्ड ह्याण्डलिङ शुल्क आधा मात्र लिने प्राधिकरणको निर्णय थियो। “त्यो सहुलियत एक वर्ष थप्न हामीले मन्त्रालयमा प्रस्ताव पठाएका छौँ,” सूचना अधिकारी भुलले जनाए।

‘भारतको अनुमतिको प्रतीक्षा’

पोखराबाट भारतका दिल्ली, कलकत्ता लगायतका सहरमा उडान गर्न वायुसेवा कम्पनीहरू तयारी अवस्थामा रहे पनि भारतबाट अनुमति नपाएको अधिकारीहरू बताउँछन्। बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिन भारतको बनारस उडानका लागि अनुमति मागेको थियो। भारतले अनुमति नदिँदा उडान हुन नसकेको बुद्ध एयरका अधिकारीले बताए।

चीन लगायत अन्य देशका वायुसेवा कम्पनीहरूसँग पनि पोखरामा उडान गर्न पहल भइरहेको क्यानका सूचना अधिकारी भुलको भनाइ छ।नेपालले ४१ वटा देशसँग हवाई सम्झौता गरेको छ। भारत, चीन लगायतका पुरानो हवाई सम्झौता भएका देशहरूसँग काठमाण्डू विमानस्थल मात्र तोकेकोले नयाँ सम्झौता गरेर थप विमानस्थल तोकिनु पर्ने खाँचो रहेको अधिकारीहरू बताउँछन्।

त्यसमा पोखरा र भैरहवा पनि थप्न हवाई सेवा सम्झौता संशोधनको प्रक्रिया चलिरहेको सूचना अधिकारी भुलको भनाइ छ। “चीन र भुटानबाट चार्टर उडान भएको हो। उनीहरूले हवाई सेवा सम्झौता नहुन्जेलसम्म नियमित रूपमा चार्टर उडान गर्छौँ भने पनि प्रस्ताव आइसकेको छैन,” उनी भन्छन्, “हामीले सोचे अनुसार अन्तर्राष्ट्रिय उडान नभएकोले सबै सम्बन्धित निकायले अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नु पर्ने खाँचो छ।”

समाचार बीबीसी समाचार नेपालीबाट लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *