कृष्णमणि बराल

पाेखरा : यति बेला पाेखराका वन, पाखा, बगैचामा सिमलका अग्ला रुख र फलेदाेका हाेचा रुखमा सुन्दर फूल फुलेर वातावरण नै रमाइलाे बनेकाे छ । सिमल र फलेदाेकाे फूलकाे सौन्दर्यताले चरा, माैरी, भमरा पनि अाकर्षित भएर फूलकाे रस चुसेकाे सुन्दर दृश्य यति बेला देखिन्छ ।

वसन्त ऋतुलाई मनमोहक ऋतुको रुपमा लिने गरिन्छ। यस ऋतुमा वातावरण हरियाली हुन्छ । अनि मनमोहक फूलहरु पनि यसै ऋतुमा फुल्ने गर्छन्। विभिन्न थरीका सुन्दर फूलले वातावरण नै रमाइलाे हुन्छ । वसन्त ऋतु शुरु भएसगै पाेखराका विभिन्न स्थानमा मनमोहन फूल फुलेका छन् । फूल फुलेपछि सडक तथा पार्कहरु सुन्दर देखिएका छन्।

पाेखराकाे गुफा डाँडामा फूलेकाे सिमल र पाेखरा बजार । तस्बिर: कृष्णमणि बराल

पाेखराका सडक किनारमा अझै पनि सिमलका अग्ला रुखहरु देखिन्छन् । लेकसाइडकाे बसुन्धरापार्क, काेमागाने पार्कमा सिमल र फलेदाेका रुखमा फुलेका राता फूलले सौन्दर्यता बढाएकाे छ । लेकसाइडकाे लेकभ्यु रिसाेर्ट अघिकाे मुख्य सडकमै पनि बुढाे सिमलकाे रुखमा बाक्लै सिमल फुलेकाे छ । मुख्यमन्त्री कार्यालय अघिकाे सडक, सहिदचाेक लगायतका पाेखराका सडकमा सिमलका रुखमा फुलेका फूलले पाेखराकाे सौन्दर्यता बढाएकाे छ । सिमलकाे फूलको बाहिरी आवरण कडा र गाढा खैरोमा कालो रङ मिसिएको देखिन्छ । भित्रपट्टि गाढा रातो रङका पाँच वटा पुष्पपत्र हुन्छन्

सिमल फूलको तरकारी तथा अचार बनाएर खाने प्रचलन पनि कहि कतै भएकाे पाइन्छ । सिमल औषधिजन्य वनस्पति पनि हाे । सिमलका विविध अवयव विभिन्न शारीरिक समस्यामा लाभदायक हुने जानाकार बताउँछन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै, टाउको दुख्दा पातको रस एक/दुई चम्चा पिउँदा आराम मिल्छ । यति महत्वकाे सिमलका रुख पछिल्लाे समयमा हराउँदै गएका छन् । हामी सानाे छदा सिमलका रुखबाट सलाइकाे काटी बनाइन्छ भन्ने सुनेका मात्र हाेइन रुख काटेकाे समझना अझै ताजै छ ।

पाेखरा ८ सिमलचाैरमा पहिले अग्ला अग्ला सिमलका रुखकाे बगैचा भएकाेले नै यस ठाउँकाे नाम नै सिमलचाैर रहेकाे स्थानीय बताउँछन् । अहिले भने सिमलचाैरमा छैन सिमलका रुख । पाेखराकाे निर्मलपाेखरी, भरतपाेखरी लगायतका क्षेत्रमा अझै पनि सिमलका रुखहरु देख्न सकिन्छ। ठूला पखेटा र शरिरभएका चरा गिद्ध बस्न मन पराउने रुख सिमल हाे । अग्ला सिमलका रुखमा गुँड बनाउछन गिद्धले । यसैले गिद्धकाे घर हाे सिमल । पाेखराकाे निर्मलपाेखरी, भरतपाेखरीका सिमलका रुखमा हिजाे अाज पनि धेरै संख्यामा सेताे गिद्ध बसेकाे दृश्य देख्न सकिन्छ । हिमाली, सुन, डगर, सानाे खैराे लगायतका गिद्ध पनि सजिलै यस क्षेत्रका सिमलका अग्ला रुखमा बसेकाे देखिन्छन् । सिमलकाे रुख भने पछिल्ला समयमा हराउँदै गएका छन् ।

हामी सानाे छदा अग्ला सिमलका रुखमा सिमल फूलेपछि रमाउथ्याै । चैते हुरीले झरेका सिमलका फूल सुमसुम्याउथ्याै । सिमलका कपास जस्ता भुवा उड्दा रमाइ रमाइ पछिपछि समाउन भाग्थ्याै। भुवा समाउन खाेज्दा लड्थ्याै पनि । भुवामा रहेक काला गेडी मिठाे मानेर खान्थ्याै । पाेखरा ७ नुवारथाेकमा अाँप, खनीयाँ, जमुना, अर्चल, मात्र हाेइन बर्रोकाे पनि बढेमानकाे रुख थियाे । अग्लाे रुखमा फलेकाे टराे बर्राे झरेपछिमात्र नमिठाे भएपनि खान्थ्याै । त्याे बर्रो (तेलाफल) काे याद अरु रुख र फलकाे भन्दा बढी अाउँछ । अहिले सम्म त्याे बर्रोकाे रुख नकाटी बचाएर राखेकाे भए कति रमाइलाे हुदाे हाे भन्ने लाग्छ । मैले अहिले सम्म बर्रोकाे बाेट अन्यत्र देखेकाे छैन । सिमल र चापकाे रुख भन्दा ठूलाे गजबकाे रुख थियाे नुवारथाेककाे चाइनाले बनाएकाे सेती नहरकाे पुल नजिकै बर्रोकाे रुख । आयुर्वेदिक औषधीय पद्धतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो बर्राे । फलको धुलो कब्जियत सफा गर्नमा उपयोगी मानिन्छ। 

अहिले भने अवस्था नै फरक छ । हामी केटाैली हुँदा यि लगायत धेरै रुखहरु हाम्रा साथी थिए । रुखमा चढेर लठ्ठी डाँडे खेल्थ्याै । अर्चल खान्थ्याै । अाँप, खनिया, बेडुला, काफल, जमुना, दैजालाे, चुत्राे, धाेवीनीकाे जराे, बयर, कटुस लगायत धेरै फल खान्थ्याै । सिमल र फलेदाेकाे फूलकाे सुन्दरतामा रमाउँथ्याै । तस्बिरमा हेर्नुहाेस सिमल र फलेदाेकाे सुन्दरता । सबैमा धन्यवाद ।

पाेखराकाे काेमागने पार्कमा फुलेकाे सिमलकाे फूल देखाउँदै बालक । तस्बिर : कृष्णमणि बराल

सिमलकाे फूल । तस्बिर : कृष्णमणि बराल

पाेखराकाे काेमागाने पार्कमा फुलेकाे फलेदाेकाे फूल । तस्बिर : कृष्णमणि बराल