Posted on


कृष्णमणि बराल÷पोखरा
यति बेला पोखरामा धान थन्क्याउने चटारो छ । कति किसानले धान थन्क्याएर आलु लगाई सके पनि अझै पनि धेरै जसो किसान धान थन्क्याउन नै व्यस्त छन् ।

पाेखराकाे बिराैटा फाँटमा धान बत्ताउदै किसान । तस्बिर : कृष्णमणि बराल

असारमा रोपीएको धान मंसिरको अन्तिम सम्म लगभग थन्क्याई सकिन्छ । यही धान भकारीमा राखेर वर्ष भरिकालागि जोहो गर्ने नेपाली परम्परा हो । पछिल्लो समयमा भने दाइँ राख्ने, वर्ष भरिकालागि भकारीमा धान थन्क्याएर राख्ने परम्परा पोखरा बजार क्षेत्रमा हराउँदै गएको छ ।
पोखराका मुख्य बजार वरपरका खेतहरु प्लटिङ गरेर बजार बस्ने क्रम तिब्र छ । पर्यटकीय राजधानी पोखरा देश संघीयतामा गए संगै गण्डकी प्रदेशको पनि राजधानी भएको छ । अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रम अन्तिम चरणमा पुगेको छ । पोखराको विकासको क्रम बढे संगै यहाँका मुख्य बजार वरपरका खेतहरु शहरमा परिणत भएका छन् ।

पोखराको बिरौटा फाँटमा दाई राख्दै किसान । तस्बिर : कृष्णमणि बराल

पहिले पहिले घर घरमा गोरु पाल्ने चलन थियो । धेरै खेतबारी हुनेका हल गोरु नै हुन्थ्यो । पोखरेली रैथानेले छोराछोरी पढाउँदा, बिहेबारी गर्दा, घर बनाउँदा खेतबारी बेचेर दैनिकी चलाउन थाले । व्यवसायिक नहुँदा यहाँका रैथानेहरु केही त घर खेत नै बेचेर मधेश पसे । यसैले यहाँका बाँकी रहेका खेतहरुमा पनि गोरुले होइन ट्याक्टरले जोत्न र ट्याक्टरले नै दाइँ राख्ने सुरु भएको छ ।
हुन त कृषि उत्पादन बढाउन र लागत कम लगाउन कृषिमा आधुनिकीकरण हुनु जरुरी छ । यसैले गोरुको विकल्पमा ट्याक्टर, धान काट्ने मसिनको प्रयोग अति महत्वपूर्ण छ । तर हामीहरुकोमा कृषि उत्पादन हुने उर्वर भूमी सकीएपछि मात्र कृषिमा आधुनिकीकरण सुरु भएको छ । पहिले नै आउनु पर्ने प्रविधि पछि आएर हामी उल्टो बाटोमा हिडीरहेका छौ । प्रविधी छ कृषि भूमी छैन भने जस्तो अहिले पोखराका मुख्य बजार वरपरका हजारै रोपी जमिनमा कंक्रीट बिल्डीङमा परिणत भएपछि आएको छ ट्याक्टरले जोत्ने प्रविधी । अझै पनि हामीकोमा धान काट्ने मसिन भने आइपुगेको छैन् ।
पहिले पहिले घर घरमा गोरु हुँदा सारै रमाइलो कृषि कर्म हुन्थ्यो । अर्मपर्म चल्थ्यो । परेली लगाइन्थ्यो । परेली भनेको एक एक वटा गोरु पाल्ने किसान बिच दुई घर (परिवार) मिलेर खेती गर्दा गोरु, खेतला, बाउँसे काममा सहकार्य गर्नु हुन्थ्यो । अहिलेका नयाँ पुस्ताका लागि यो कथा जस्तो लाग्छ । अहिले त लोकल गाई सस्ता भएका छन् । सडकमा छाडीएका छन् । बाच्छा पाए भने दुधै खान नदिएर लखट्ने चलन छ । यसरी स्थानीय जातका गाई लोप हुने अवस्थामा पुगेका छन् ।

मंसिरमा एक पटक घर बाहीर खेत, बारीमा खाना पकाएर खाने चलन पहिले देखिकै हो । अहिले पिकनीक भनिने शब्द पहिले कराई खाने भनिन्थ्यो । दाइँमा खेतमै खाना पकाएर सबैले मिलेर खाने चलन थियो । यसरी खेतमा खाना खाँदाकाे स्वाद नै बेग्लै हुन्थ्यो । यो संस्कृति अझै पनि पोखरा बजारमा केही मात्रमा भने रहेको छ ।

पोखराको बिरौटा फाँटमा दाइँमा खेतमै खाना पकाउँदै किसान ।
तस्बिरहरु ः कृष्णमणि बराल

पराल बाद्दै मजदुर ।

पाेखराकाे फेवा फाँटमा धान काटेर लगाइएकाे कुनीयाे ।

तस्बिर : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *