आइसोलेसनबाट जनआन्दोलन २०४६ र एक महिने जेल जिवनकाे सम्झना
कृष्णमणि बराल
२०४६ साल फागनु ७ गते त्यो ऐतिहासिक दिन धेरैलाई सम्झना होला। पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको लागि यो दिन महत्वपूर्ण थियो। यही दिनबाट नेपाली कांग्रेस र नेकपा माले लगायतका कम्युनिस्ट पार्टी एक भएर प्रजातन्त्रका लागि संघर्षको शंखघोस गरेर आन्दोलन सुरु गरेका थिए। 

हाेम अाइसाेलेशनमा रहँदा झ्यालबाट खिचेकाे अन्नपूर्ण हिमाल ।

यो कोरोना कहरमा कोरोना संक्रमण भएर २३ दिनदेखि आइसोलेसनमा बसिरहेको अवस्थामा त्यो बेला पञ्चायतविरुद्धको आन्दोलनका क्रममा भोगेको एक महिने जेल जीवनको सम्झना आइरहेको छ। 

जनआन्दोनमा जनतालाई सडकमा उतार्न कम्युनिस्ट पार्टी पञ्चायती निरंकुश शासन व्यवस्था ढालेर सबै जनता बराबर हुने व्यवस्था ल्याउने बताएका थिए। समाजमा सबै जनता समान हुनेछन्। कोही धनी र कोही गरिब, कोही शासक र कोही शासित हुने छैनन्। जातको आधारमा कोही ठूलो कोही सानो हुने छैन भन्ने नारा लगाएर आन्दोलनको मैदानमा वाम घटक उत्रेका थिए। 

०४६ आन्दोलनको पहिलो दिन
नेपाली कांग्रेसले ०४६ सालको जनआन्दोनमा बीपीको समाजवाद अनुसार प्रत्येक नेपालीले गाई पालेर दुई छाक दुध र भात खान पुग्ने व्यवस्था ल्याउनका लागि निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उत्रन जनतालाई आह्वान गर्दै प्रजातान्त्रिक समाजवादको नारा लगाउँदै आन्दोलनको मैदानमा उत्रिएको थियो। कांग्रेस र कम्युनिस्टका समाजवाद र समनताका नाराले हामी जस्ता युवालाई आकर्षण नगर्ने कुरै भएन।

त्यति बेला पोखरामा राजा वीरेन्द्रको सवारी चलेको थियो। पोखरा नगर पञ्चायत थियो। नगरको प्रत्येक वडामा सायद २१ इन्चको टीभी बाँडिएको थियो। वडा कार्यालय अगाडि साँझ टेलिभिजन अन गरिन्थ्यो। राजा पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहेकोले राजाको विभिन्न स्थानको भ्रमणको समाचार प्रथामिकतामा पर्थ्यो।

त्यतीबेला अहिले जस्तो घर घरमा टीभी थिएन। भएकाले पनि महंगो पैसा तिरेर घर घरमा डिस होमका लागि छाता राखेर टीभी हेर्ने चलन थियो। अहिले टीभी नहुने घर जस्तै थियो उति बेला टिभी हुनेको संख्या। यसैले वडामा राखिएका टेलिभिजन सुरु हुनु अघि नै टिभी हेर्नेको भीड जम्मा हुन्थ्यो। 

अाइसाेलेशनमा रहदा २०७७ सालकाे दसैमा अामाले मेरा लागि जमरा र टिका राखिदिनु हुँदै ।

जनआन्दोलनको पहिलो दिनको साँझ खाना खाएर काका संजय पौडेल, राजुराज रेग्मी र म साँझपख हिँड्दै पोखरा ६ बैदामको तालबाराही स्कुल अगाडी राखिएको टीभी हेर्ने स्थानमा पुगेका थियौँ। केहीबेर टीभी हेर्यौं‍। राजा वीरेन्द्र विभिन्न जिल्लामा सवारी भएको समाचार प्रशारण गरिएको  थियो। केही समय त्यहाँ बसेर हामी घर तिर लाग्यो। घर तिर फर्कने क्रममा जरेवर चोकमा पुगेपछि हामीबीच छलफल भयो। आज आन्दोलनको पहिलो दिन देश भर कहाँ के कस्ता आन्दोलनका कार्यक्रम भए बीबीसी नेपाली सेवामा समाचार सुनौं। 

कस्को घरमा गएर समाचार सुन्ने त भन्ने छलफलमा राजुले मामा घर हेमराज बरालको घरमा जाउँ भने। ल हुन्छ भन्दै त्यतै जाने निणर्यका साथ हामी अघि बढ्यौं। बुलौदीमा पुगेपछि तीनै जनाले पञ्चायती व्यवस्था मुर्दावाद, प्रजातन्त्र जिन्दावाद भन्दै नारा लगाउँदै दौडिएर उकालो लाग्दै नुवारपाटन स्थित काका हेमराजको घर भित्र छियौ। कोठामा हजुरबुवा अग्नीलाल बराल, काका हेमराज बराल, नवीनराज बराल लगायत सबै हुनुहुन्थ्यो। रेडियोमा बीबीसी बजाउन दुर्गाराज बराल दाइले रेडियोको कान (मिटर) बटार्दै हुनुहुन्थ्यो। हामी कोठा भित्र के छिरेका थियौ। बुटको आवाजसहित ढोका अगाडि ४ जना प्रहरी देखापरे। ढोका अगाडि आएर उनीहरुले ‘अघि नारा लगाउँने को हो ? बाहिर आइजा !’ भन्दै थर्काए। 

म त्यती बेला बैदामको तालबाराही माविमा कक्षा ९ मा पढ्दै थिएँ। स्कुलको ड्रेसको कमेज सेतो रंगको थियो। रातको समयमा सेता कपडा टल्केछ। ‘पहिला यो सेतो सट लगाउने बाहिर आइजा’ भन्न थाले। म डाराई डराइ बाहिर निस्के। त्यसपछि अरु दुई जना पनि छ बाहिर आउने भए आइजा नत्र घरका सबैलाई लग्छु भन्दै प्रहरीले आक्रोश पोखे। त्यसपछि त के चाहियो र संजय र राजु पनि बाहिर निस्कन करै लाग्यो। यसरी २०४६ सालको जनआन्दोलनको पहिलो दिनमै आन्दोलनकारी भएर हामी पक्राउ पर्‍यौ। 

कोरोना आइसोलेशन
कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका अवस्थामा त्यती बेला नेताले जनताका सामु गरेको प्रतिवद्धा सम्झी रहेको छु। जनताको स्वास्थ्य, शिक्षा निःशुल्क हुने, बोल्न पाउँने अधिकार (वाक स्वतन्त्रता), जनताबाट जनताका लागि जनप्रतिनिधि चुनिने व्यवस्थाका लागि पञ्चायतविरुद्ध आन्दोलन गर्दा कोठामा थुनिएका ति दिनहरु बेसरी सम्झना भइरहेको छ। 

अहिले कोरोनाबाट बच्न सरकारले गरेको तयारी, नागरिकको स्वास्थ्यमा पहुँच, पीसीआर टेष्ट आवश्यकता अनुसार हुन नसक्नु, अस्पतालमा जटिल बिरामीका लागि आइसीयू र भेन्टिलेटरको अभाव लगायतका बग्रेल्ती समस्यामा  स्थानीय सरकार, प्रदेश र संघ सरकार चुकको देख्दा त्यति बेलाको कम्युनिस्ट र कांग्रेसका नाराको सम्झना आइरहेको छ। कांग्रेस प्रतिपक्ष भूमिकामा रहेर पनि सरकारलाई खवरदारी गर्न चुकेको छ। सत्तामा रहेको कम्युनिस्ट पार्टीको सरकार कोरोनासँग जुद्धन धेरै समय पाएर पनि तयारीमै चुकेको छ। 

धेरै भन्दा धेरै पीसीआर चेक गर्न सरकारलाई दबाब दिन आन्दोलन गर्नु परेको छ। स्वास्थ्य सेवा निःशुल्क, दुर्गम क्षेत्रमा अस्पताल र सबैको पहुँचमा स्वास्थ्य र शिक्षा हुनुपर्छ भन्दै डा. गोविन्द केसी २० पटकसम्म आन्दोलनमा बस्नु परेको छ। गरेको सम्झौता पटकपटक हरेक सरकारले लत्याउने गरेका छन्। यति बेला नागरिकको वाक स्वतन्त्रताको हनन भएको छ। पञ्चायी व्यवस्थाविरुद्धकै आन्दोलनमा कम्युनिस्ट, कांग्रेस पार्टीले जनताको बीचमा वाचा गरेको निःशुल्क स्वास्थ्य सेवा र शिक्षा पाउँने नारा कार्यन्वयन गर्न कै लागि डा. केसीले सत्याग्रह गर्नु परेको छ।  

बोल्न पाउनु मात्र वाक स्वतन्त्रता होइन। जनताको सही आवाजलाई सम्बोधन गर्नु, कार्यान्वयन हुनु बल्ल वाक स्वतन्त्रता हो भन्ने मलाई लाग्छ। एकोहोरो बोल्न पाउनु मात्र वाक स्वतन्त्रता हुनै सक्दैन। 

हजुरबुवाको घरबाट प्रहरीले गिरफ्तार गरेपछि मुल सडकमा हामीलाई पर्खेर बसेको टाउँकोमा पिलिक पिलिक बत्ती बल्ने गाडीमा हामीलाई हुलियो। गाडी भित्र के छिरेका थियौँ। बुटको वर्षा हुन थाल्यो। तिमीहरुलाई के चाहियो। पञ्चायतविरुद्ध किन नारा लगाएको भन्दै प्रहरीले शरीरमा बुट बझारे। नुवारपाटनबाट गाडी फर्किएर बैदाम (लेकसाइड) तिर मोडियो। जरेवर, हल्लनचोक हुँदै बाराही मन्दिर जाने चोकमा गएर गाडी रोकियो। 

त्यही चोकमा प्रहरीको सानो बिट थियो। तीन चारजना प्रहरी बिटमा थिए। राजा वीरेन्द्र त्यही नजिकै रहेको फेवाताल किनारको रत्नमन्दिर भित्रै केही दिन अघिदेखि बस्दै आएका थिए। प्रहरी बिटमा रहेका प्रहरीसँग एकएक वटा एक हात लामो काँडे लठ्ठी थियो। त्यहाँ रहेका एकजना प्रहरीले काँडा भएको लठ्ठीले तीन जनालाई ट्वाट्वाङ आवाज आउने गरीगरी एकएक पटक टाउँकोमा बजारे। त्यसपछि गाडी वडा प्रहरी कार्यालय बैदाम, सहिदचोक हुँदै अहिलेको मुख्यमन्त्रीको कार्यालय भएको भवन अगाडीको रहेको डीआईजी कार्यालय परिसरमा छिर्यो। गाडी रोकिएपछि प्रहरीले ओर्लन लागेको बेलामा काका सञ्जयलाई राउण्ड किक प्रहर गरे। उहाँ छातीमा लाग्यो अइया भन्दै ढल्नु भो। एक छिनपछि उहाँ उठ्नु भो। हामीलाई २८ जना आन्दोलनकारी भएको कोठा भित्र छिराइयो। 

डीआईजी कार्यालयभित्र आउनु अघि गाडीमा प्रहरीले हाम्रो नाम, काम, ठेगाना लगायतका बारेमा सोधीखोजी गरेका थिए। राजु र संजयलाई सोधेपछि मेरो पालो आयो आप्नो बारेमा भन्ने। मैले म कक्षा ८ मा पढ्दै छु। उमेर १४ वर्ष नाम श्याम बराल आफ्नो परिचय दिए। मलाई आन्दोलनमा पक्राउ परेको भन्दापछि सरकारी जागिर खान नपाइने पिर थियो। यसैले मैले आफ्नो सक्कली नाम लुकाएको थिए। अहिले मृत्यु त्रास बनेर विश्व भ्रमण गरेको कोरोनाका कारण नाम सरकारले नै लुकाउँदै आएको छ। कोरोना संक्रमण पुष्टि भएकाको नाम सार्वजनिक गर्दा सरकराले नै नाम लुकाएर भन्ने गर्दछ। पोखरा ६ का ४७ वर्षीय पुरुष मेरो अहिलेको नाम बनेको छ। 

मुख्यमन्त्री कार्यालय अघिको डीआईजी कार्यालयको त्यो बसाई अहिले निकै सम्झेको छु। दिनको एक पटक घाम ताप्न हामीलाई १२ बजे तिर छतमा लगिन्थ्यो। छतमा घामताप्दा अरु मानिस साइकलमा कुदेको, हिँडडुल गरेको देख्दा म पनि उसै गरी हिँड्न पाए भन्ने हुन्थ्यो। त्यत्तिबेला अहिले मुख्यमन्त्रीको कार्यालय रहेको क्षेत्रमा चौर थियो। त्यस क्षेत्र वरपर कुटो, कोदालो बनाउने समुदायको बस्ती थियो। त्यसैले त्यसक्षेत्रलाई कामी गाउँ पनि भनिन्थ्यो। अहिले त्यो गाउँ नै बिस्तापित भएर कहाँ पुग्यो होला भन्ने मनमा लागि रहेको छ। 

आन्दोलन चर्कदै गयो। आन्दोलनमा लागेका ठूलाठूला नेता कार्यकर्ता पक्राउ पर्दै गएपछि हामी फुच्चेहरुलाई एक महिनापछि जेल मुक्त गराइयो।

त्यती बेला जेलमासंगै हुने मध्ये नेपाली कांग्रेसका युवा नेता रामजी बादलको निकै सम्झना आउँछ। उहाँ निकै सरल, सत्यकुरा बोल्ने युवा नेता।  हामीलाई हौसला दिनुहुन्थ्यो। माया गर्नुहुन्थ्यो। दुःखको कुरा उहाँलाई कांग्रेसकै कार्यकर्ताले हत्या गरे। जेलमा दिपक सिग्देल, प्रेमविनोद खनाल, शंकर देवकोटालगायत ३१ जनासँगै थियौँ। घर नजिकै भएकोले हामी संगै पक्राउ परेका तीनै जनाको घरघरबाट थर्मसमा चिया, मकै र भट्ट आउथ्यो। सबैले बाढेर खान्थ्यौं। मलाई मकैर र चिया लिएर आमा आउँदा आमाले कृष्णमणिलाई दिनु भनेर गेटमा रहेका सुरक्षाकर्मीलाई भन्नु भएछ। रोचक घटना कृष्णमणि भन्ने त छैन। प्रहरी को हो कृष्णमणि ? भनेर सोध्न कोठामा आइपुगे। ‘मेरो घरमा बोलाउने नाम कृष्णमणि हो’, मैले जवाफ दिएको थिएँ। 

२०६२/६३ को छुट्टै अनुभव 
२०४६ सालको पञ्यायत विरुद्धको आन्दोलन चैत २६ गते साँझ राजा वीरेन्द्र र नेताहरुबीच सम्झौता भयो। प्रतिबन्धित पार्टी फुकुवा भए। देशमा बहुदलीय व्यवस्था स्थापना भयो।

२०६२/०६३ को जनआन्दोलनमा मेरो भूमिका फरक थियो। अन्नपूर्ण पोस्टको संवाददाताको रुपमा फिल्डमा खटिएको थिएँ। रिपोर्टिङ र समाचार फोटो खिच्ने क्रममा मलाई प्रहरीले पक्राउ गरेका थिए। पोखराको पृथ्वीचोकमा आन्दोलनकारीले प्रर्दशन गरिरहेको तस्बिर खिच्दै गर्दा प्रहरीले पक्राउ गरेर भ्यानमा राखेको थियो। पत्रकार साथीहरुको दबाबमा पछि छोड्यो।

जनअान्दाेलन २०६२ -०६३ मा अान्दाेलनकाे तस्बिर खिच्दै गर्दा मलाई पक्राउ गर्दै प्रहरी । सबैभन्दा बायाँ प्रहरीकाे घेरामा म ।

आन्दोलनको तस्बिर खिच्दा तस्बिर नै सुरक्षाकर्मीले डिलिट गरे। यसरी दुई वटा ठूला जनआन्दोलनमा मात्र होइन माओवादी जनयुद्धको पनि साक्षी हुन पुगियो। यति बेला जनता (नागरिक)को सेवा सुविधाको लागि तीन तहको सरकार बनेको छ। पोखरा गण्डकी प्रदेशका राजधानी सहर भएको छ। गण्डकी प्रदेशमा तीन वर्षदेखि दुई तिहाइको कम्युनिस्टकै सरकार छ। २० वर्षपछि स्थानीय तहले पनि जनप्रतिनिधि मात्र पाएको छैन पोखरा महानगरपालिकामा पनि दुई तिहाइको बहुमतको सरकार कम्युनिस्टकै छ। लामो समयदेखि बहुमतको सरकार नहुँदा सरकार ढाल्ने र बन्ने क्रमको अन्त्यका लागि जनताले करिव दुुई तिहाईको कम्युनिस्ट सरकार संघमा बन्ने गरेर जनमत दिए। करिव दुई तिहाइको कम्युनिस्ट सरकार संघमा छ। 

जनताले सबै जनआन्दोलनमा परिवर्तनको आशा राखेर घरघरमा आश्रय दिएर आप्नो छाक काटेर सबै पार्टीका नेता कार्यकर्तालाई साथ, हौसला र माया दिए। माया मात्र होइन परिवर्तनका लागि आफूले बलिदान दिए। सहिद बने। आफ्नो छोरी, छोरा समेत गुमाए। यसैको बलमा अहिले तीन तहको जननिर्वाचित सरकार छ। जनताको कथा, व्यथा र गरिबी उही ०४६ सालको परिवर्तन अघिको जस्तै छ।

परिवर्तन नेता, नेताको परिवार, आफन्त, सेवक र कार्यकर्तामा आएको छ। जनताका छोराछोरी भोक टार्न विदेशमा कष्टकर जीवन बाँच्न बाध्यछन्। कोरोना कहरमा मृत्युदेखि डराएर भारतबाट घर फर्केका नेपाली दाजुभाइ हातमुख जोर्न समेत समस्या परेपछि फेरि भारत नै फर्केका छन्। कोरोना भन्दा पनि  हातमुख जोर्न नपाएर खाली पेट भएर मरिने डरले रोजगार खोज्दै नेपाली दाजुभाइ भारत, खाडी मुलुक लगायत विभिन्न देशमा कठिन काम गर्न बाध्यछन्।कोभिड–१९ कोरोना भाइरसको माहामारीका कारण बेरोजगार बनेका नागरिकलाई अमेरिका, बेलायत, क्यानडा लगायतका देशका सरकारले बेरोजगारी भत्ता उपलब्ध गराएका छन्। अमेरिकामा रहेका एक आफन्त भन्दै थिए कोरोनाका कारण बेरोजगार भएपछि सरकारले काममा जाँदा पाउँने तलब भन्दा धेरै भत्ता दिएको छ। 

जापान सरकारले व्यवसाय हेरी कोभिडको कारण पर्न सक्ने व्यापार घाटालाई ध्यानमा राखेर व्यवसायीलाई समेत राहातमा केही रकम दिएको अर्का आफन्तले सुनाउँदै थिए। जापानको टोकियो सहरमा किराना पसल गरेका उनलाई २५ लाख नेपाली रुपौयाँ बराबर रकम जापान सरकारले  उपलब्ध गराएको उनी बताउँदै थिए। संकटको बेलामा आफ्नो देशको व्यवसायीलाई मात्र होइन विदेशी व्यवसायीलाई पनि संरक्षण गर्न जापान सरकारले सहयोग गरेको छ। 

नेपालमा कम्युनिस्ट सरकार सत्तामा छ। खाना नपाएर कोही भोको हुनु पर्दैन प्रधानमन्त्रीको भाषणमा सुनिन्छ। काम गरेर दैनिक गुजारा चलाउँने गरिब र मजदुरले कोरोना कहरमा बेरोजगार बन्दा भोकभोकै भए। सरकारले केही राहातका सामाग्री कनिका छर्दा झै बाढ्यो। त्यसले लामो समयसम्म भएको लकडानमा थेग्न सक्ने कुरै भएन। कतिले त त्यही राहात पनि पाएनन्। गरिब, दुःखी र मजदुरको हक, हित र अधिकारका बारेमा काम गर्ने कसम खाएर सत्तामा पुगेको कम्युनिस्ट सरकारकै पालामा मजदुर, गरिब, दुखी रोग र भोकले  मर्नु पर्ने अवस्था आएको छ। 

कोरोनाको स्वाब टेष्ट पहुँचवालाले सजिलै पाउँछन्। गरिबका लागि त्यहाँ पनि उस्तै कष्ट छ। रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा बेड पाउन उस्तै मुस्किल छ। भन्न त चुनावमा शिक्षा र स्वास्थ्य निःशुल्क भनेर भाषण दिएकै थिए। घोषण पत्रमा लेखेकै थिए। फिल्डमा खटिदा र आइसोलेसनमा बस्दाको मेरो अनुभवले भन्छ सरकारले जनताको स्वास्थ्यप्रति उत्तरदायित्व वहन गरेको अनुभूति छैन्।

अन्नपूर्ण पाेष्टकाे अनलाइनमा छापिएकाे लि‌क ।

सम्बन्धित समाचार

आइसोलेसनमा दसैं अन्नपूर्ण अनलाइन ।