Posted on


कृष्णमणि बराल
पोखरा : विश्वभर आतंकित बनाएको कोरोना भाइरस जति सजक र सचेत रहँदा पनि मेरो शरीरभित्र पसिछाड्यो । पत्रकारिता पेशाको धर्म अनुसार कोरोना कहरमा समाचार फिल्डमै खटिएर रिपोटिङ गरिरहेको थिए ।

कोरोना संक्रमणबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दा गर्दै पहिलो पटक मृत्यु भएका स्याङजाका पुरुषको शव व्यवस्थापन गर्दाको तस्बिर निकै दुःखी हुँदै खिचेको थिए । शव व्यवस्थापन गर्दा महानगरपालिकाले उपयुक्त स्थान छनोट नगरेको भन्दै पोखरा वडा नम्बर ११ र २० का स्थानीय र जनप्रतिनिधि नै विरोधमा उत्रिएका थिए । मर्दा पर्दा सहयोगी बन्ने नेपाली संस्कृति कोरोनाले च्यातिदिएको थियो । दुःखमा मलामी आउनुपर्नेमा स्थानीय विरोधमा उत्रेका थिए । यो दृश्यले मन निकै अमिलो भएको थियो । 

कोरोना डेडिकेटेड पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेर त्यहाँ मिर्गौलाको नियमित डायलिसिस गराउन आउने बिरामीको समस्या, कोरोनाको डरको कारण बिरामी उपचार गराउनै नआएको अवस्था, कोरोना संक्रमितको अवस्था, कोरोना कहरमा वन अपराध, कोरोनाले पर्यटन लगायतका उद्योग, विकास निर्माणमा पारेको प्रभाव लगायतका विषयमा विभिन्न ठाउँमा पुगेर फोटोसहित समाचार लेख्ने काम निरन्तर गर्दै आएको थिए । 

यसरी फिल्डमा खटिदा मोटरसाइकलमा एक्लै हिँड्थे । बिनाकाम साथीभाइलाई भेट्दिन थिए । भेटे पनि दुरी कायम गर्ने, मास्क लगाउने गर्थे । केही चिज समाए हातमा स्यानीटाइजर लगाउँथे । पत्रकार साथीहरु भन्थे एक्लै कुद्ने ? कोरोनासँग कति डराएको । भेटम सँगै कफी खाउँ । म हुन्छ भोली भेटौला भन्थे तर कोरोनाको डरले कफी, चियाँखान साथीभाइलाई दिएको बचन पनि तोडी दिन्थे । आफ्नो कारणले घरमा कोरोना नछिरोस । आमा, श्रीमती, छोरीहरु र छोरालाई यस भाइरसले अक्रमण नगरोस भन्नेमा निकै सचेत थिए । बाहिर गएर आएपछि नुहाइधुवाइ गरेर लुगा फेरफार गरेर मात्र घर भित्र छिर्थे । 

असोज १६ गते फेवाताल किनार खपौदीमा पोखरा महानगरपालिका कृषि महाशाखाको आयोजनामा किसान बजार उद्घाटन कार्यक्रम थियो । मलाई महाशाखाका प्रमुखले आउन खबर गरेका थिए । ताल किनारको कार्यक्रममा जाँदा रिफ्रेस पनि हुने दुरी कायम गरेर बस्दा कोरोनाको डर पनि नहुने भएकोले म त्यस कार्यक्रममा पुगे । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी प्रमुख अतिथि थिए । औपचारिक कार्यक्रम पछि बजारको उद्घाटन भयो । कार्यक्रम सकिएपछि पत्रकार साथी, महानगरपालिकाका महाशाखा प्रमुख लगायत भएर खाँजा खायौं र फर्कियौं । 

त्यस कार्यक्रममा सहभागी पत्रकार भाइ अमृत सुवेदीलाई दुई दिनपछि ज्वरो आयो । कोरोनाको लक्षण देखिएछ । स्वाब परीक्षण गर्दा पोजिटिभ देखियो । त्यसपछि सुरु भयो कन्ट्याक ट्रेसिङ । बुधबार बेलुका शरीर तात्यो, टाउको पनि दुखेको थियो  । राती ११ बजे तरि कोठा बाहिर निस्के । कम्जोर फिल भयो । बाहिर थुचुक्क बसे । कोरोनाको सिमटम त कतै होइन भन्ने भयो । श्रीमतीलाई भनेर राति नै माथिल्लो तलाको कोठामा एकान्त बास सुरु गरे । 

भोलीपल्ट बिहीबार पोखरा महानगरपालिकाका मेयरका प्रेस सल्लाहाकार भाइ माधब बरालले स्वाब टेष्ट गर्न बोलाए । बिहीबार बिहान दिएको स्वाब टेष्टको रिपोट शुक्रवार दिउँसो पोजिटिभ आयो । सुरुमा त पत्याइन । भाइ माधवले पहिलो पटक सूचना दिएका थिए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल भाइ, पत्रकार भाइ प्रकाश ढकालले पनि फोन गरेर पोजिटिभ देखिएको बताएका थिए । महानगरपालिकाको स्वास्थ्य महाशाखाबाट साढे ४ बजे तिर बल्ल फोन आयो तपाइँको पोजिटिभ देखियो । कहाँ बस्नु हुन्छ भनि सोधे । महानगरपालिकाको कार्यक्रममा कन्ट्याक ट्रेसिङमा परेपनि खासमा मलाई कहाँबाट कोरोना सर्‍यो भन्ने अझै अलमलमा छु । 

असोज १९ गते पोखराका फोटो पत्रकारहरुको मिटिङ थियो । त्यस मिटिङमा दश जना सहभागी थियौ । सबै जनाले माक्स त लगाएका थियौ । तर चियाँ खाने बेलामा फुकाल्यौ । माइन्युट गर्दा कलम सेयर गर्‍यौं । फोटो पत्रकारको मिटिङमा सहभागी फोटो पत्रकार राम गुरुङले मेरो भन्दा एक दिन अघि बुधवार नै स्वाब टेष्ट गराएका थिए । उनको पनि शुक्रवार नै पोजिटिभ रिपोट आयो । मिटिङमा सहभागी अरु साथीहरुको पनि कोरोना टेष्ट सुरु भयो । फोटो पत्रकार संघ कास्कीका अध्यक्ष प्रदिप पौडेल, सचिव दुर्गा पौडेल, कोषाध्यक्ष सुरज श्रेष्ठको पनि पोजिटिभ देखियो । 

म २० दिन‍देखि होम आइसोलेसनमा छु । बिहान उठ्ने बित्तिकै कोठाको झ्यालबाटै अन्नपूर्ण र माछापुच्र्छे हिमालको दर्शन गर्छु । यिनै सुन्दर हिमालको दृश्यले पनि कोरोनासँग लड्न थप उर्जा मिलेको छ । कोरोना सक्रमितलाई छरछिमेक, घरभेटी लगायतले गरेको दुरव्यवहारका बारेमा समाचार आइरहेका छन् । तर मलाई त्यस्तो भोग्नु परेको छैन् । दाजुभाइ, काकाहरु, साथीहरु घरमै आएर भेटेरै उर्जा थपेका छन् । 

छिमेकीहरु केही परे हामी छौं कोरोनालाई जितिन्छ भन्दै शुभकामना दिइरहेका छन् । यसले थप उर्जा मिलेको छ । कोरोना संक्रमण पुष्टि भएको १४ औं दिन (सप्तमीको दिनमा) दोस्रो स्वाब टेष्ट गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगे । अस्पतालको कोरोना सक्रमित बिरामीको उपचार गर्ने आइसोलेसन कक्षको परिसरमा स्वाब टेष्ट गर्न पालो पर्खेर बसेको थिए । आइसोलेसन परिसरमै दुई जना मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव व्यवस्थापन हुँदै थियो । 

नेपाल आर्मीको शव व्यवस्थापन टोलीले अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु भएका म्याग्दीका पुरुष र होम आइसोलेसनमा रहेका बिरामीको थप उपचार गराउन अस्पताल ल्याउँदा ल्याउँदै एम्बुलेन्समै मृत्यु भएका पोखरा १२ का पुरुषको शव व्यवस्थापनका लागि तयारी गर्दै थिए । केही देखिए फोटो पनि खिच्न हुन्छ भनेर साथमा क्यामरा पनि लगेको थिए । आफु कोरोना संक्रमित भएर दोस्रो स्वाब परिक्षण गर्न गएको अवस्थामा अस्पतालको आइसोलेसन कक्ष परिसरमा दुई जना कोरोना सक्रमितको मृत्यु पछि शव व्यवस्थापनकालािग गर्दै गरेको तयारीको फोटो खिच्दै गर्दा मन निकै भारी भएर आयो । 

मेरो इम्युनिटी पावर ठिक छ । अरु कुनै रोग पनि छैन । त्यसैले मैले कोरोनालाई सजिलै जित्छु भन्ने मेरो भित्रै देखिको दृण शक्ति कता कता डगमगाउन खोजेको जस्तो भयो । म संगै फोटो पत्रकार दुर्गा पौडेल र राधी कडेल पनि दोस्रो पटक स्वाब परिक्षण गर्न पुगेका थिए । उनिहरु स्वाब परिक्षण गरेर फर्कीय । म भने मन भारी बनाउँदै मृतकका आफन्तले मृत्युपछि घाटमा गर्नु पर्ने हिन्दु धर्म अनुसारको बिधी अस्पताल परिसरमै गरेको दृश्य क्यामरामा कैद गरे ।

यसअघि कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवार र आफन्तले मृतकको मुख समेत हेर्न पाउँदैन थिए वा हेर्न अस्पताल सम्म पुग्दैन थिए । पछिल्लो समयमा कोरोना संक्रमण भएर मृत्यु हुनेका आफन्तले मृतकको अनुहार हेर्न र आफ्नो धर्म संस्कृति अनुसार अस्पताल परिसरमै भए पनि घाटमा गर्नुपर्ने केही विधि पूरा गरेको यो दृश्य र समाचार महत्वपूर्ण रहेको मलाई लाग्यो । 

स्वाब दिएर घर फर्केपछि अन्नपूर्ण पोष्टको अनलाइनका लागि समाचारसहित फोटो फिचर पठाए । कोरोना पोजिटिभ पुष्टि भएको १४ दिनमा दिएको स्वाबको रिपोट तीन दिनपछि फेरि पोजिटिभ आयो । अब त कोरोना जिते भन्ने थियो । यसले मलाई निरास बनायो । अझै कोरोना पोजिटिभ रिजल्ट आउँदा शरीरमा कुनै समस्या नरहे पनि पोजिटिभ सोचाइ भने नआउने रहेछ । 

रिजल्ट नेगेटिभ नआइन्जेल सोचाइ पनि नेगेटिभ मात्र आउने रहेछ । दसैंमा आमाको हातबाट टिका थापेर आशिरवाद लिने । श्रीमती, छोरीहरु र छोरालाई टिका लगाइदिनेलगायतका सबै दसैंका योजना कोरोनाले खोस्यो । 

दसैंमा पहिलो पटक घरमा रहेर पनि आमाको हातबाट टिका लगाउन कोरोना बाधक बन्यो । श्रीमती, छोरा छोरीहरुलाई टिका लगाइ दिन पनि पाइन् । हुन त कोरोना संक्रमण भएको १४ दिनपछि संक्रमितबाट अरुलाई कोरोना सर्दैन भन्ने समाचार पछिल्लो समयमा आइरहेको छ । तर स्वास्थ्य जस्तो सम्बेदनसिल विषयमा कोरोना सर्न सक्ने जोखिम रहिरहने भएकाले त्यसो गर्न मनले मानेन।

टिकाको दिन आमाले टिकाको साइत छोपेर छोरीहरु, छोरा र श्रीमतीलाई पहिला टिका लगाइ दिनुभयो । माथिल्लो तलाबाट भिडियोकलमा मैले लाइभ हेरे । ठूलीआमा दाइ, भाइहरु, छोराहरु, छोरीले टिका लगाएको पनि भिडियो कलमा लाइभ हेरे । त्यसपछि आमाले जमरा र टिका प्लेटमा राखेर भुँइमा राखि दिनुभो । मैले आफैले आमाले दिएको टिका र जमरा लगाए । टाढाबाट श्रीमती, छोरीहरु र छोराले हेरिरहे । खुशीको कुरा मलाई कोरोना पुष्टि भएको ७ दिनपछि घरमा आमालगायत सबैको स्वाब टेष्ट गर्दा कसैमा पनि कोरोना संक्रमण भने देखिएको थिएन । यस वर्षको दसैं सबैभन्दा खुशी यही नै रहयो । सुरक्षित रुपमा दसैं मनाऔं सबैमा विजया दशमी २०७७ को हार्दिक शुभकामना । 


दोस्रो पटक स्वाब टेष्ट गर्न जाँदा कोरोनाबाट मृत्यु भएका दुई जना पुरुषको शव व्यवस्थापन गर्दाकाे अन्नपूर्ण अनलाइनमा छापीएकाे फोटो फिचर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *