Posted on

कृष्णमणि बराल

मानव सभ्यता नदी किनारमा भएको हो । नदी, खोला, ताल, पोखरी मानव सभ्यताका प्रमुख आधार हुन् । मानव सभ्यताको मात्र होइन सम्पूर्ण सजीव प्राणीको उत्पत्तिको आधार पनि पानी नै हो । 

पानी बिना सजीव प्राणीको तपाईँ कल्पना गर्न सक्नु हुन्छ ? हो पानी बिना मानव सभ्यता मात्र होइन कुनै पनि प्राणीको परिकल्पना गर्न सकिँदैन । यसैले त विश्वका धनी राष्ट्र मङ्गल ग्रहमा मानव बस्ती बसाल्न खरबौँ खर्चेर पानीको खोजी गरिरहेका छन् । मानव इतिहास मात्र होइन सजीव प्राणीको इतिहास पानी सँग जोडिएको छ । 

काठमाडौँको मानव सभ्यता विकास पनि बागमती नदी भएर नै भएको हो भन्न सहजै सकिन्छ । बागमती, विष्णुमती, टुकुचा काठमाडौँको सभ्यताका आधार हुन् । यही मानव सभ्यताको इतिहास पढेका, बुझेका मेयर बालेन्द्र शाहले बागमती, टुकुचा संरक्षणकालागि प्रधानमन्त्री मात्र होइन तालुकदार मन्त्री र मन्त्रालय सँग संरक्षणको योजना सहित अनुरोध गरे । 

विष्णुमती नदी । तस्बिर : कृष्णमणि बराल

बालेन्द्रको योजना कार्यान्वयन हुँदा बागमती नदी किनारमा वर्षौँ देखि असुरक्षित रुपमा बस्दै आएका बस्तीका मानिस सुरक्षित ठाउँमा सर्थे । नदी किनारमा जोखिमरुपमा बस्दै आएका नागरिकलाई सुरक्षित ठाउँमा सार्नु सरकारको प्रमुख काम भित्रै पर्नु पर्ने हो । सरक्षित ठाउँमा सार्दा प्रत्येक वर्ष वर्षा याममा नदीको सतह बढ्दा नदी किनारका मान्छे ज्यान बचाउन भागाभाग गर्नु पर्ने अवस्थाको अन्त्य हुन्थ्यो । नदीको प्राकृतिक बाटो कायम हुने मात्र होइन नदी संरक्षणमा महत्त्वपूर्ण काम हुन्थ्यो । मेयर बालेनको प्रस्तावलाई सरकारले महत्त्वपूर्ण प्रस्तावको रुपमा लिएर एकै ठाउँमा बसेर दीर्घकालीन योजना बनाएर अघि बढ्न सक्नु पर्थ्यो । 

नागरिकको सर्वोच्चता, लोकतन्त्र, सङ्घीयता र गणतन्त्रको कुरा गरेर नथाक्ने प्रचण्ड सरकारले स्थानीय सरकारको यो शान्त विद्रोहलाई टेबलमा बसेर समाधान गर्न पनि उचित ठानेन र मुद्दामा गए । सरकारलाई नदी सभ्यता संरक्षण गर्न दवाव दिन मेयर शाहले सिंहदरवार, प्रधानमन्त्री, राष्ट्रपति निवासको फोहोर नउठाउँदा सरकार पक्षले अदालतमा मुद्दा हाल्ने काम गरे र अदालतको आदेश कुर्ने काम भयो । स्थानीय सरकारको नदी सभ्यता संरक्षण अभियानमा साथ दिनुको साटो मुद्यामा गएर प्रचण्ड सरकारले लोकतन्त्र, गणतन्त्र र संघीयताको मर्मको खिल्लि उडाएका छन् ।  बागमती सभ्यता बचाउने उनको माग गलत हो ?  जमिन मुनी हराएको टुकुचा खोलालाई खुला आकाशमा प्राकृतिक रुपमा बग्न दिनु पर्छ भन्ने उनको योजना र काम गलत हो ? खोला प्राकृतिक रुपमा बग्न पाउनु पर्छ भन्ने उनको अभियान गलत हो ? उनले चालेका प्रक्रिया गलत छन् भने गणतान्त्रिक सरकारका प्रधानमन्त्रीले मेयरलाई आमन्त्रण गरेर सँगै बसेर नदी संरक्षणको योजनाको खाका कोर्न सकिँदैन ? कि यति गर्दा प्रधानमन्त्री सानो होइबक्सन्थ्यो ? 

नदी, खोला, ताल, पोखरी मानव प्रयोगकालागि मात्र हुन त ? मानवले चाहे खुला रहनु पर्ने मानवले नचाहे जमिन भित्र लुकेर बग्नु पर्ने । के नदी, खोलाको पानी उपयोग गर्ने अधिकार चरा, वन्यजन्तु, चौपायालाई छैन । वन्य जन्तु, चराचुरुङ्गी पानी प्रयोग गर्ने अधिकार मानवले खोस्न पाउँछ त ? के यही हो हाम्रो सभ्यता ?  

बागमतीको पानी खाएको, बागमतीमा निस्फिक्री नुहाएका हजुरबुवा, हजुरआमा अझै पनि जिउँदै हुनु होला । टुकुचाको पानीमा स्नान गरेका हजुरबुवा पनि हुनुहोला । हो यिनै खोला र नदीहरूका कारण नै काठमाडौँ उपत्यकामा बस्ती बसेको हो । हिजो बागमती सफा कन्चन बगेकी थिइन । पुस्तौँ पुस्ता त्यही पानी खाएर हुँकीए । अब भन्नुहोस् मेलम्चीको पानी पनि बागमतीको जस्तै हालतमा पुगे, टुकुचा खोलाको अवस्थामा पुगे तपाई कहाँको पानी खानु हुन्छ ? पानी खोज्न कहाँ भौतारिने हो त्यसकालागि अहिले नै योजना बनाउनुहोस् प्रधानमन्त्री ज्यू । 

त्यो अवस्था नआओस् भनेर नदी, खोला संरक्षण अभियान थाल्दा मुद्दा दिनु पर्ने के आपत् आइलाग्यो प्रधानमन्त्री ज्यू ? नदी, खोला संरक्षणकालागि काम गर्दा रोकावट भएपछि आफ्ना माग राखेर प्रधानमन्त्री कार्यालय, तालुकार मन्त्रालय धाएकै हुन् । तै पनि माग सुनुवाइ भएन मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै आएका छन् । नदी सभ्यता बचाउने अभियानमा रोकावट आएपछि अभियान नरोकीयोस भनेर दबाब दिन स्थानीय निकायका मेयरले सिंहदरबार, प्रधानमन्त्री निवास, राष्ट्रपति निवासको फोहोर नउठाउने निर्णय गर्नु पर्ने अवस्था आउनु कस्तो शासन व्यवस्थामा छौँ हामी ? 

समस्या मेयर बालेनमा होइन समस्या सङ्घ सरकारमा छ । मेयर बालेनले बालेको प्रकृति संरक्षणको विद्रोहको झिल्को देश भर सल्कनु पर्छ । निदाइरहेको सिंहलाई बिउँझाउन ढिला गर्नु हुँदैन । ढिला भए हामीले प्रयोग गर्ने देशभरका पानी बागमती, विष्णुमती, टुकुचाको जस्तो प्रयोग गर्नै नहुने अवस्थामा पुग्ने छन् । मानव सभ्यताको भविष्यको त कुरा छार्डौ हाम्रो नाति पुस्ताले शुद्ध पानी नपाएर काकाकुल हुनु पर्ने छ । 

संरक्षण बागमती, विष्णुमती, टुकुचाको मात्र होइन । पोखराको फेवाताल, फिर्केखोला, बुलौदी खोला, सेती नदी लगायत देशै भरका खोला नदीको हो । पोखराको फेवाताल यति बेला अस्तित्वको सङ्कटमा छ । पोखराको मुख्य बजार भएर तालमा मिसिने फिर्के, बुलौदी खोलामा फ्याँकिएका प्लास्टिक जन्य फोहोर मात्र होइन घरबाट निस्केका फोहोर पानी पनि खोला हुँदै सोझै तालमा मिसिँदा ताल प्रदूर्षणको चपेटामा छ । 

तालको मुख्य स्रोत हर्पन खोला वरपर पनि सिमसार पुरेर बस्ती बस्दै गएको छ । बस्ती मुहानबाट पनि ताल तर्फ अघि बढ्दै छ । खोला किनारमा बस्ती बसे सँगै मुहानबाट पनि ताल प्रदूषण हुने क्रम तीव्र हुँदै गएको छ । तालको मुहानको सिमसार पुरिदा तालको पानीको स्रोत सिमसारका मूल सुक्दै गएका छन् ।  तालको मिर्गौला मानिएका सिमसार पुरिदा पनि सङ्घ, प्रदेश र स्थानीय निकायको संरक्षणमा नजर पुगेको छैन । तालको मुहानबाट वर्षा याममा ठुलो मात्रामा बगेर आउने कमेरो, गेग्र्यान सिमसार क्षेत्रमा फैलिने र थोरै मात्रामा मात्र खोला हुँदै तालमा पुग्ने गर्दथ्यो । किसानले वर्षा याममा फेवा सिमसार क्षेत्रको फाँटमा रोपेको धानमा कमेरो माटो पस्दा धान पनि मौलाएर आउने र ताल संरक्षणमा पनि योगदान पुग्दै आएको थियो ।  सिमसार पुरेर बस्ती बसे हर्पन खोला पनि बागमती जस्तै साँगुरिएर बग्न बाध्य हुने छ । वर्षा याममा सिमसारमा फैलन कमेरो सोझै तालमा थुप्रँदा ताल वर्षेनी अहिले पुरिँदै आएको गति भन्दा सय गुना बढीले परिने छ । अव भन्नोस् ताल संरक्षणकालागि महत्त्वपूर्ण मानिएको सिमसार क्षेत्रलाई कृषि भूमिकै रुपमा वा माछा पोखरीको रुपमा विकास गर्ने कि बस्ती बसाल्ने ?  

प्रदूषणको चपेटामा परेको पोखराको फेवाताल । काठमाडौंका नदी, खोला मात्र होइन पोखराका ताल, नदी र खोला पनि प्रदूषणको चपेटामा परेका छन् ।
तस्बिर : कृष्णमणि बराल

फेवातालको संरक्षणकालागि महत्पूर्ण फेवा सिमसार जोगाउने हो भने वर्षै देखि खेती किसानी गर्दै आएका किसानको लालपुर्जाको जमिन उचित मुआब्जा दिएर सरकारले लिन अब ढिलाइ गर्न हुँदैन । होइन भने स्थानीय जग्गा धनीको चित्त बुझाएर सिमसार क्षेत्रलाई कृषि उपयोगकालागि मात्र प्रयोगमा ल्याउने गरी सम्झौता गर्न सक्नु पर्ने छ । यसो नभएर फेवा निकट भविष्यमै दुर्गन्धित पोखरीको रुपमा परिणत हुने छ । 

पोखरा सहरको बीचबाट बगेको सेती नदी पनि प्रदूषणको चपेटामा परेको छ । बागमती किनारमा जस्तै सेती किनारमा पनि सुकुम्वासी बस्ती छ । वर्षा याममा सेतीको सतह बढेपछि ज्यान जोगाउन बस्तीका मानिसको भागाभाग हुने गर्दछ । वर्षा याममा पोखरामा ठुलो पानी परेपछि रामघाट किनारको बस्ती डुबानमा पर्छ । अन्य घाटमा पनि उस्तै समस्या हुन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्धार टोली रातारात उद्धारमा खटिनु पर्ने वर्षौ देखिको नियमित प्रक्रिया हुँदै आएको छ । पोखराका फिर्के  र बुलौदी खोलाको संरक्षणमा पनि ढिला भइसकेको छ । फिर्के , बुलौदीको पानी खाएर हुकेका युवा यति बेला यी खोलाको पानी छुन पनि सक्दैनन् ।  खोलाको पानी खान वन्यजन्तुको त के कुरा कहीँ कतै त चरा उडेर जान सक्ने अवस्था पनि छैन । 

वर्षा याममा सेती नदी थुनीदा रामघाटमा बनेको ताल । वर्षा याममा नदीको सतह बढ्दा सेती नदी किनारका बस्ती डुवानमा पर्ने गर्दछ ।
तस्बिर : कृष्णमणि बराल

काठमाडौँ महानगरपालिकाका मेयर बालेनको विद्रोह केवल बागमती, विष्णुमती वा टुकुचा संरक्षणको मात्र हो भन्ने रुपमा लिनु हुँदैन । उनको यो विद्रोह देशकै नदी, खोला, ताल, पोखरी संरक्षणकालागि सञ्जीवनी बुटी बनोस् शुभकामना । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *