Posted on


भ्रमणको क्रममा यति बेला म क्यानडामा छु । क्षेत्रफलका हिसाबले क्यानडा विश्वकै दोस्रो ठूलो देश हो । क्यानडामा १० प्रदेश र ३ टेरोटोरी रहेका छन् । त्यस मध्ये महिले यहाँ रहदा ७ प्रदेश, त्यस प्रदेशका राजधानी सहर र साना सहरको भ्रमण गरिसकेको छु् । भ्रमणको क्रममा पहिलो पटक प्रदेशमा दसैं मनाउने अवसर जुर्यो । बहिनी, ज्वाइँ, भान्जा भान्जी संग पहिलो पटक परदेशमा उल्लासको साथ दसैं मनाउने योजना र दसैं अनुभव स्मरण गर्दै छु ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनमा पहिलो पटक देखापरेर विश्वभर कोरोना फैलियो । त्यसपछिका दसैं कोभिडको त्रासमा बितेका थिए । कोभिडकै क्रममा विश्वका बिभिन्न देशको यात्रा पनि प्रतिबन्ध र कडाई गरिएका थिए । कोभिड नियन्त्रणमा आएपछि यात्रा सहज भए संगै मेरा क्यानडा यात्रा सम्भब भएको हो । अहिले कोरोना सङ्क्रमण हुनुलाई सुरुका दिन जस्तो त्यति ठूलै त्रासको रुपमा लिइँदैन । विश्वभरका प्राय सबै देशमा कोभिड सङ्क्रमण नियन्त्रण गर्न लगाइएका मापदण्ड हटेका छन् । दैनिक जीवन कोरोना त्रासबाट मुक्त हुँदै र सहजता तिर लम्किरहेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा पहिलो पटक देखापरेर विश्वभर फैलिएको कोरोना नेपालमा पहिलो पटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । कोभिड १९ को सङ्क्रमण सङ्ख्या २८१ पुगेको बेला २०७७ जेठ ३ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर पहिलो पटक कोभिड सङ्क्रमण भएर नेपालमा मृत्यु भएको पुष्टि गरेको थियो । सुत्केरी महिलाको कोभिड सङ्क्रमणबाट पहिलो पटक मृत्यु भएको थियो ।

कोभिड सङ्क्रमणबाट मान्छेको मृत्यु समेत हुनथालेपछि थप त्रास सुरु भएको थियो । सङ्क्रमण दर बढ्दै जाँदै गर्दा मृत्युदर पनि बढ्दै गएको थियो । कोरोना नियन्त्रण गर्न देशभर लकडाउन नै लगाउनु परेको थियो । आफ्नै बुवा आमा कोरोना सङ्क्रमण भएर थला परेर अस्पतालको बेडमा छटपटाउँदा पनि आफ्ना छोराछोरी टाढै बस्ने अवस्था थियो । आफन्तको मृत्यु भए आर्मीले लास व्यवस्थापन गर्ने गर्थे । यस्तो त्रासदीबाट अहिले कोभिड सामान्य अवस्थामा आइपुगेको छ । कोभिडको खोप बनेर विश्वभर खोप लगाउन थाले पछि त यसको त्रास झन् हट्दै गएको थियो ।
यस्तो सहज अवस्थामा आइपुग्दा पनि अझै कोरोना सङ्क्रमण भनेपछि पुरानो धङधङी कायम नै छ । कोरोना सङ्क्रमण भएको भन्ने थाहापाएपछि नजिक पर्न नै डराउने अवस्था भने छ । मलाई कोरोना सङ्क्रमण पहिलो पटक २०७७ असोजको तेस्रो साता पुष्टि भए थियो । त्यति बेला कोभिड सङ्क्रमण भएपछि चौथो पटक कोभिड टेस्ट गराउँदा ३४ दिन बल्ल रिपोट नेगेटिभ आएको थियो । कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेको २० औ दिनमा २०७७ को दसैँ परेको थियो । आमाले प्लेटमा दिएको रातो टिका र जमरा लगाएर दसैं मनाएको थियो ।
अहिले अवस्था फेरिएको छ । दसैं र तिहार क्यानडामा रहेकी बहिनी, ज्वाइँ, भान्जा भान्जी सँग मनाउने क्रममा म यति बेला क्यानडामा छु । यहाँ यति बेला कोभिड लागे पनि मास्क लगाएर बाहिर निस्कन पाइन्छ । तर वृद्धवृद्धा , बालबालिका रहेका स्थानमा भने जान नपाइने नियम कायम नै छ । क्यानडामा रहँदा दसैंको मुखमै आएर कोभिड सङ्क्रमण देखियो ।

भान्जा रिदम र भान्जी रिया ।

पहिला भान्जी रिया बिरामी भएर अस्पताल लगेपछि अस्पतालले कोभिड टेस्ट गराएको रहेछ । अस्पतालले रिपोट पोजेटिभ भनेर खबर गर्‍यो । अनि क्रमशः भान्जा, बहिनी, ज्वाइँ सबैमा कोरोना पोजेटिभ देखियो । अचम्म त म तीन दिन अघि देखि मिसिसागा बुद्धि दाइकोमा थिए । भोलिपल्ट टोरोन्टो जाने तयारीमा थिए । तर मलाई पनि कोभिडका लक्षण देखियो । अघिल्लो दिन देखि नै मलाई कमजोरी भएको थियो । बेलुका अघिल्ला दिन देखि नै कमजोर र नर्मल अवस्थामा भन्दा अलि बढी नै शरीर जाडो भएर आएको थियो । घाँटी कक्रक्क पारेको थियो । हल्का खोकी लागेको पनि थियो । लक्षण उस्तै देखिएपछि कोभिड टेस्ट गर्दा मलाई पनि कोरोना पोजेटिभ देखियो । यसपछि घरमा सबैलाई कोरोना सङ्क्रमण भएकोले म ज्वाइँसँगै टोरोन्टो लागे । नारायणी दिदीकोमा त्यस दिन दसैंको पार्टीमा सहभागी हुन सकिन । न त दसैंमा दाइ दिदीको हातबाट टिका लगाउने अवसर नै पाइयो ।

पूर्णिमा सम्म कोभिड ठिक होला र बुद्धि दाइ नारायणी दिदी सँग टिका लगाउने र छोराछोरीलाई टिका लगाइदिने योजना पनि घर तिर हजुर आमाको मृत्यु भएपछि रोकियो । मामा कृष्ण प्रसाद पोखरेल र अन्य इष्टमित्रकोमा जाने, क्यानडामा रहेका साथीहरू सँग भेटघाट गरेर दसैँमा रमाइलो गर्ने कार्यक्रम पनि कोरोनाले रोक्यो । हजुरबुवा टेकनाथ बरालकी धर्मपत्नी, ढाका मोहन बराल, झलक मोहन बराल तथा रमिता बरालकी ममतामयी माता हामी सबैकी हजुरआमा विष्णुमाया बरालको दसैँको पर्सीपल्ट गुमाउनु परेपछि पूर्णीमामा टिका लगाउने योजना पनि रोकिएको हो ।

क्यानडामा रहेका नेपालीकारलागि दसैं मनाउनु नेपालमा जस्तो सहज भने छैन । यहाँ दैनिक मसिन जस्तै व्यस्त हुनुपर्ने दैनिकीबाट मुक्त पाउन पहिले आफूले काम गर्ने कार्यालयबाट छुट्टी मिलाउनु पर्छ । सबैलाई छुट्टी मिल्न पनि त्यती सहज नहुने यहाँ रहेका नेपाली बताउँछन् । विकेन्डमा दसैं पर्‍यो भने बल्ल यहाँका नेपालीलाई सहज हुन्थ्यो । त्यो पनि विकेन्डमा व्यस्त रहने रेस्टुरेन्ट जस्तामा काम गर्ने कालागि भने त्यो पनि जटिल हुन सक्छ । दसैंमा नेपाल धेरै मिस हुने यहाँ लामो समय देखि रहेका इन्जिनियर केशव राज पौडेल बताउँछन् । नेपालमा दसैंको माहौल सोह्र श्राद्ध सुरु सँगै हुन्छ । सोह्र श्राद्ध सकिएपछि रौनक नै अर्कै हुन्छ । 

पहिलो कोभिड सङ्क्रमण भन्दा बलियो देखियो दोस्रो

पहिलो पटक २०७७ मा कोभिड हुँदा सामान्य रुघा र खोकी मात्र लागेको थियो । सामान्य अवस्थामा रहँदा पनि त्यति बेला ३४ दिनमा बल्ला कोरोना रिपोट नेगेटिभ आइरहेको थियो । त्यस अघि तीन पटक पोजेटिभ देखिएपछि चौथो पटक ३४ औँ दिनमा मात्र रिपोट नेगेटिभ आएको थियो । त्यति बेला नेगेटिभ नआए सम्म बाहिर निस्कन बन्देज थियो ।

नेगेटिभ आए पनि सुरु सुरुमा त नजिक पर्दा पनि मान्छे कोभिड सङ्क्रमण हुन्छ कि भनेर तर्सन्थे । यस घरमा कोभिड बिरामी छ भनेपछि घर नजिक हिँड्न पनि डराएर अर्कै बाटो लाग्थे । त्रासदीका अवस्था थियो । अहिले भने कोभिडको खोप पनि तीन डोज लगाएको थिए । आत्मबल पनि पहिलेको भन्दा झन् बलियो नै थियो । पहिले आइसोलेसनमा थिए । यति बेला घरका सबै कोरोना सङ्क्रमण भएकोले आइसोलेसनमा बस्नु पर्ने पनि थिएन ।

तर पहिला पटक कोभिड पोजेटिभ भएको भन्दा बढी शरीर कमजोर बनाएको थियो । घाँटी पनि पहिले भन्दा बढी कक्रक्क पारेको थियो । खोकी धेरै लागेको थियो । पछिल्लो समयमा रुघा पनि बढी लागेको थियो । त्यति बेला कोभिड लाग्दा पनि अक्सिजन लेबल ९९ भन्दा कम थिएन तर यस पटक भने ९६ सम्म देखिएको थियो । भान्जीलाई बिस्तारै सन्चो हुँदै गयो । त्यसपछि ज्वाइँलाई नेगेटिभ देखियो । दसैँ सकिनु अघि (पूर्णिमा अघि) नै सबैको रिपोट नेगेटिभ देखियो ।

ज्वाइँलाई यस अघि कोरोना सङ्क्रमण हुँदा निकै थला पारेको थियो । ९/१० दिन अस्पताल नै भर्ना भएर उपचार गराउनु परेको थियो । बुवालाई कोरोना सङ्क्रमण भएपछि क्यानडाबाट पोखरा गएर बुवाको सेवामा रहँदा ज्वाइँ आफैलाई कोरोना सङ्क्रमण भएर लामो समय कडा कोभिड सँग जुद्यनु परेको थियो । यसपालिको कोरोना सङ्क्रमणले भने त्यस्तो ठूलो रूप भने लिएन । सामान्य अवस्थामै सबैलाई निको भयो । कोरोना समान्य भइसक्दा  पनि  यहाँ अझै त्रास भने रहेछ । कोरोना सङ्क्रमण भएपछि यहाँ भेट्न कोही आएको पाइन् । आएकाहरू पनि बाहिरबाटै सामान छोडेर पर पुगेपछि मात्र सामान छोडेको छु भनेर फोन गर्ने अवस्था यो कोभिडमा मैले पनि अनुभव गरे । यसरी कोरोना सङ्क्रमणकै बिचमा हामीले क्यानडामा दसैं मनायौँ ।

दसैं २०७९ क्यानडा ।

२०७७ को दसैं : कोभिड भएपछि आइसोलेसनमा दसैं मनाउँदाको अनुभव समाचार लींक अन्नपूर्ण पोष्टमा ।

२०७७ मा  दोस्रो पटक स्वाब टेष्ट गर्न जाँदा कोरोनाबाट मृत्यु भएका दुई जना पुरुषको घाटमा गर्नु पर्ने विधि आफन्तले अस्पताल परिसरमै गर्दै गर्दा समाचार र तस्बिर लींक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *