- कृष्णमणि बराल
गत कार्तिक महिनाको दोस्रो साता मुस्ताङ जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको लुप्राको वनमा सिकारीले थापेको पासोमा परेर दुईवटा भाले र तीनवटा पोथी कस्तूरी मृग मरेको अवस्थामा भेटिए।
तीमध्ये दुई वटाको बिना झिकेर लगेको पाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। एक्याप क्षेत्रमा बिनाका लागि नै सिकारीले कस्तूरीलाई पासोमा थापेको पाइएको हो।
आयोजनाका जोमसोम प्रमुख ऋषि बरालका अनुसार पासोमा जिउँदै भेटिएको एउटा कस्तूरी मृगलाई वनमै छाडिएको थियो।
त्यसपछि संरक्षण क्षेत्र आयोजना, मुस्ताङका प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मी सहितको टोलीले सम्भावित अन्य क्षेत्रमा पनि अनुगमन गर्दा विभिन्न ठाउँमा कस्तूरी मृगलाई लक्षित गरेर १८० वटा पासो राखेको अवस्थामा भेटिएको एक्याप पोखराका सूचना अधिकारी अशोक सुवेदीले जानकारी दिए।
कार्तिक १५ देखि २३ गते सम्म अभियान नै चलाएर सम्भावित क्षेत्रको अनुगमन गर्दा दुइटा राता फ्याउरा पनि पासोमा परेर मरेको भेटियो।
केमा हुन्छ बिनाको प्रयोग?
लुप्राको वन क्षेत्र कस्तूरी मृगको वासस्थान हो। मुस्ताङमा हिमाली र कश्मीरी गरी दुई प्रजातिका कस्तूरी मृग पाइन्छन्।
एउटा भाले कस्तूरीबाट जीवनभरि १४ पटकसम्म बिना सङ्कलन गर्न सकिने विज्ञले बताएका छन्।
मुस्ताङमा पासोमा परेर हिउँचितुवा पनि मर्ने गरेका छन्।
सिकारीले मोटरसाइकलको ब्रेकको तार, डोरी लगायतको प्रयोग गरेर कस्तूरी मृगको बढी आउजाउ हुने मार्गको पहिचान गरी पासो थापेको पाइएको अधिकारीहरूले जनाएका छन्।
मुस्ताङमा हिउँचितुवाले किसानले पालेका भेडा, च्याङ्ग्रा खोरमै पसेर पनि ठूलो सङ्ख्यामा मार्ने र खाने भएकोले पनि वन्यजन्तु र मान्छेबीच द्वन्द्व बढेको पाइएको छ। हिउँचितुवाले याक पनि मार्ने गरेको बताइन्छ।
तेस्रो शताब्दीदेखि नै एशियामा कस्तूरीको बिना औषधि बनाउन प्रयोग हुने गरेको विज्ञहरू बताउँछन्। कस्तूरी मृगबारे विद्यावारिधि गरेका पारसविक्रम सिंहका अनुसार बिना अत्तर उद्योगमा पनि प्रयोग हुन्छ।
उनले अन्तर्राष्ट्रिय बजारमा बिनाको ठूलो माग भएकोले कस्तूरी मृगको सिकार राष्ट्रिय निकुञ्ज र बाहिर अत्यधिक हुने गरेको बताए।
सिंहले भने, “तराईमा गैँडा, बाघ निसानामा छन्, त्योभन्दा पनि बढी कस्तूरी मृग निसानामा छन्।”
उनका भनाइमा चीन, जापान, कोरिया, सिङ्गापुरमा चिनियाँ परम्परागत औषधि बनाउन र नेपाल, भारत लगायतका देशमा पनि औषधि बनाउन बिनाको प्रयोग हुन्छ।
अत्तरको बास्ना लामो समय राख्न फ्रान्स, जर्मनी लगायतका देशमा बिनाको प्रयोग गर्ने गरिएको उनको भनाइ छ।
मुस्ताङ चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सीमानाका कोराला रहेको जिल्ला भएकोल�� पनि बिना चीन पठाउने गरिएको हुनसक्ने बताइन्छ।
वन्यजन्तुको अङ्ग व्यापार
नेपालका अन्य वन्यजन्तुका अङ्गहरूको व्यापार पनि बढ्दो क्रममा रहेको पाइएको वन्यजन्तु संरक्षण र अनुसन्धानका क्षेत्रमा काम गरिरहेका अनुसन्धानकर्मीले बताएका छन्।
नेपाल वन्यजन्तुका अङ्ग र जिउँदै पनि वन्यजन्तुको अन्तर्राष्ट्रिय बजारमा बेचबिखन हुने मार्गको रूपमा पनि प्रयोग भइरहेको वन्यजन्तु संरक्षण र अनुसन्धानमा लागि रहेका प्रकृतिका साथी नामक संस्थाका निर्देशक राजु आचार्य बताउँछन्।
उनका अनुसार नेपालका १४ नाका र ३२ सहायक मार्ग प्रयोग गरेर नेपालबाट भारत र चीनमा वर्षेनि २,००० वटा लाटोकोसेरो मृत वा जिउँदै निकासी हुने गर्छ।
सन् २००० देखि सन् २०२० सम्म २० वर्षको अवधिमा गोरखापत्र दैनिकमा वन्यजन्तुका अङ्ग अवैध व्यापारकालागि ओसारपसार गरेको अवस्थामा मानिसहरू पक्राउ परेका १२७ वटा समाचार प्रकाशित भएका छन्।
एउटा पत्रिकामा मात्र प्रकाशन भएको समाचारको यो तथ्याङ्कले समेत नेपालमा वन्यजन्तुको अवैध व्यापारको अवस्था डरलाग्दो रहेको औँल्याएको यस विषयमा शोध गरिरहेका विद्यार्थी कुशल न्यौपानेले बताए।
उनले सङ्कलन गरेको तथ्याङ्कले वन्यजन्तुका अङ्ग कारोबारी पक्राउ परेका घटनाको सङ्ख्या काठमाण्डूमा ३१, चितवनमा ९, कैलालीमा ७ अनि बाँके र बर्दियामा ६-६ रहेको देखाएको छ।
सोझै अन्तर्राष्ट्रिय उडानको सुविधा रहेकाले देशको राजधानी काठमाण्डूमा धेरै पक्राउ परेको उनी बताउँछन्।
वन्यजन्तु संरक्षणमा सुराकी परिचालन, अनुगमन, छड्के जाँच पर्याप्त भएकाले चोरी सिकार बढेको विज्ञहरूको ठम्याइ पाइन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलजिस्ट वेदकुमार ढकालले निकुञ्ज, संरक्षण क्षेत्र, सामुदायिक वनसँग विभागले समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए।
संरक्षण क्षेत्रमा निकुञ्जमा जस्तो सेनाको व्यवस्था नभएको तर आवश्यकतानुसार सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समुदायसँग समन्वयमा काम भइरहेको उनको भनाइ छ।
तर संस्थागत समन्वय अझै बलियो बनाउनुपर्ने उनको बुझाइ छ।
बीबीसी नेपाली अनलाइनमा २५ डिसेम्बर २०२१ मा प्रकाशित समाचार ।
Leave A Comment