Posted on

कृष्णमणि बराल
मारेर नखाने । भोक मेटाउन मरेको जनावर ( सिनाे) को खोजी गर्ने । पाए खाने नपाए भोकै बस्ने यति सोझो प्राणी हो गिद्ध । मरेका जनावर खाएर वातावरण सफा गर्छ गिद्धले ।

सिनो खाएर मानिसमा रेबिज, प्लेग हैजा, आउँ, झाडापखाला र पशुचौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरुको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउँछ गिद्धले । मरेको खाने मारेर नखाने भएकोले गिद्धले आफू भोकै रहे पनि अरु जनावरलाई मार्दैन बरु आफै खान नपाए छटपटाउँछ । अन्य प्राणीलाई जिउँदै लुछ्दैन । बरु मृत्यु कुर्छ । यति सोझो प्राणी गिद्धलाई खराब मान्छे संग तुलना गरेको तपाई हामीले सुन्दै आएको छौं ।

बरु यति सोझो प्राणी माथी धोका हामी मानवबाटै पटक पटक हुँदै आएको छ । कहिले मानिसले पशु उपचारकालागि बनाएकाे डाइक्लोफेनेकको कारण त कहिले सिनोमा विष राखेर धाेका हुँदै आएकाे छ । मान्छेले पशु उपचार गर्न बनाएको औषधी ९० काे दशकमा गिद्ध मृत्युको कारण बन्यो । बेलाबेलामा मान्छेकै लापारवाहीको कारण सिनोमा विष राखिदिँदा वा जनावरलाई विष खुवाएर मारेर जथाभावी फ्याँक्दा ठूलो दुर्घटना हुदै आएको छ । यस्तै घट्ना घट्यो २०७८ बैशाख ८ गते आजकै दिन नवलपरासी जिल्लाको रामग्राम नगरपालिका ४ जीतपुर नजिकै स्थानीय पाल्ही बहुमुखी क्याम्पसको चउरमा गिद्ध मरेको फोटो सहित समाचार अनलाइनहरुमा आयो । समाचार शिर्षक पढेपछि मनमा आयो लौ बर्बाद भो सोझो प्राणी गिद्ध माथी ठूलो धोका भो ।

हुन पनि हो । अरुको हत्या गरेर खानेले यस्तो अवस्था बेहोर्नु पदैन । कुनै पनि प्राणीको प्राकृतिक मरण कुर्ने पंछीकालागि सिनोमा विष राखिदिनु वा विष प्रयोग गरेर जनावर मारेर सिनो जथाभावी फ्याँक्नु भनेको ठूलो धोका नै हो । पहिलो कुरा कुनै पनि जनावरलाई विष खुवाएर मार्नु नै गलत हाे । त्यही मारेका जनावर जथाभावी फ्याँक्दा अर्को प्राणीको ज्यान जानु झन ठूलो अपराध हो । सोझो प्राणी गिद्ध धेरै दिन देखि भोको हुँदो हो । गन्धले जनावर मरेका थाहा पायो । तेजिला आँखाले सिनो कहाँ छ भन्ने पत्ता लगायो । खुशी हुँदै सिना खान पुग्याे । मान्छे भन्दा ८ गुना बढी टाढाको बस्तु नाङ्गो आँखाले देख्ने र कोसौं टाढाबाट गन्ध थाहा पाउँछ गिद्धले ।

आहाराको खोजीमा र सिनोको प्रतिक्षामा रहेको गिद्धले मानिसले कपट गरेको होला भन्ने मेसो नै पाएन । सिनो खायो । कुकुरको सिनो वरीपरी ६७ वटा गिद्ध सिनो खाएपछि छटपटाए । बेलामै उद्धार पनि पाएनन् । ६७ वटा गिद्धको प्राणपखेरु एक पछि अर्को गर्दै उड्यो । यस्तो गल्ती कहिल्यौ कसैले नगरौं । प्रकृतिको कुचिकार गिद्धको संरक्षण गरौं ।
प्रकृतिका कुचिकार प्रति हार्दिक श्रदाञ्जली ! ! !

Leave a Reply

Your email address will not be published. Required fields are marked *