Posted on

अनुप पौडेल, पोखरा

फेवाताल किनारको सेदी फाँटमा पुख्र्यौली जग्गा थियो । बैदाम बस्ने कृष्णमणि बराल त्यहाँ गइरहन्थे । ठूल्ठूला रुखमा गिद्ध देख्थे ।

खेतबाहेक घर वरपरका रुखमा पनि गिद्ध डुलिरहन्थे । त्योबेलागिद्धप्रति खासै चासो भएन । अहिले उनै बरालको क्यामेराले हजारौं गिद्धका तस्बिर कैद गरिसक्यो । कम्प्युटर र ल्याप्टपका फोल्डर गिद्धकै तस्बिरले भरिएका छन् ।

उडिरहेका, बच्चा स्याहार्दै गरेका, सिनो खाँदै गरेका, जलविहार गरेका तस्बिर उनको डेस्कटपमा भेटिन्छ । उनलाई पशुपंक्षी संरक्षण गर्नुपर्छ भन्ने भाव यति जाग्यो कि आजकल माछामासु नै खाँदैनन् । बरु घाइते गिद्धलाई खुवाउन ४५ वर्षका बराल मासु बोकेर पुग्छन् ।

१८ वर्षअघिपत्रिकामा गिद्धबारेप्रकाशित सामग्रीमाबरालकोआँखा प¥यो । थाहा पाए,‘सिनो खाएर गिद्धले रेबिज, प्लेग, हैजा, आउँ लगायत रोग सर्नबाट जोगाउँदो रहेछ ।’

गिद्धको यही पक्षले उनलाई तान्यो । बाल्यकालमा ‘फोहोरी चरा’ भनेर गिद्धलाई चिनेका बराल त्यसलाई पछ्याउन थाले ।गिद्धले सिनो कसरी खान्छ, बासस्थान कस्तो हुन्छ, कहाँकहाँ पाइन्छ लगायत जिज्ञासाले उनलाई अझ तान्यो ।

‘यसले सिनो खाएर मान्छेलाई रोगबाट बचाउँछ भन्ने थाहा पाएपछि पोखरामा जहाँ गिद्ध देखिन्छ त्यहाँ गएर फोटो खिच्न थालेँ,’ बरालले गिद्धप्रतिको आकर्षण प्रष्ट्याए ।

कुनैबेला पोखराको चाउथे फाँटमा घोडाखच्चड चरिरहन्थे । ‘मुस्ताङीहरु जाडो छल्न घोडाखच्चड लिएर आउँथे, त्यहीँ बस्थे । कति घोडाखच्चड त्यहीँ मर्थे,’ उनी पुरानो दिन सम्झँदै भन्छन्, ‘त्यहाँ दिनभर लगाएर मैले कसरी गिद्धले आहारा खान्छ भन्ने बुझेँ ।’

नेपालमा पाइनेमध्ये फोटो पत्रकार बरालको क्यामेराले अहिलेसम्म आठ थरी गिद्ध भेटेको छ । लामो ठुँडेगिद्धको तस्बिर उनले खिच्न पाएका छैनन् । ‘लामो ठुँडे गिद्ध नेपालमा खासै देखिँदैन । तराईतिर पाइने र धेरै नदेखिने भएकाले अहिलेसम्म खिच्न पाएको छैन,’ उनले सुनाए ।

चाउथे फाँट पुगेर उनले कैयौँ दिन गिद्धलाई पछ्याए । अचेल गिद्धबारे सोधपुछ गर्न परे धेरैले बराललाई सम्झन्छन् । उनी पंक्षी संरक्षण नेपालका आजीवन सदस्य पनि हुन् ।

बरालका अनुसार पोखराको वातावरण गिद्धलाई मात्र होइन, सबैथरीका चराका लागि उपयुक्त छ। ‘सिकारी चरा र गिद्धको संख्या अरु ठाउँको तुलनामा पोखरामा राम्रो छ । हिमाली र गर्मी रुचाउने दुवै खालका गिद्ध पोखरामै भेटिन्छन्,’ उनले सुनाए ।

बरालको मानसपटलमा गाईले गिद्ध लखेटेको एउटा घटना अझै ताजा छ । एकदिन चाउथे फाँटको आकाशमा गिद्ध उडिरहेको देखे । केही मरेको हुनुपर्छ भन्ने लख काटे । त्यहाँ पुग्दा मरेको गाईको मासु लुछ्न गिद्ध एकअर्कासँग भिडिरहेका थिए ।

मरेको गाई लैजान नदिन जिउँदो गाईले गिद्ध लखेटिरहेको देखे । हातमा क्यामेरा बोकेका उनले त्यो दृश्य कैद गरे, अनि हेरिरहे ।

‘एउटा मरेको गाईलाई गिद्धले खान नजिक पुग्दा अर्को गाईले लखेटिरह्यो । सबै गिद्ध एकैपटक झरेपछि त्यो गाईले बल्ल छोड्यो,’ फोटो पत्रकार बरालले सम्झिए, ‘मान्छेमा मात्रै होइन जनावारमा पनि संरक्षणको भावना हुन्छ भन्ने मैले देखें ।’ यो २०६६ साल वैशाखको घटना हो ।

….

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये ९ थरी नेपालमा पाइन्छन् । नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर, लामो ठुँडे, सानो खैरो, हिमाली, खैरो, राज र सुन गिद्ध पाइन्छ । डंगर, सानोखैरो, सुन र लामो ठुँडेगिद्ध निकै दुर्लभ हुन् ।

‘गिद्धलाई मान्छेसँग तुलना गर्नु राम्रो होइन । गिद्धले आफू हिंसा गर्दैन । मरेको खान्छ,’ उनी गिद्धबारे प्रष्ट्याउँदै भन्छन्, ‘हामी वातावरण फोहोर गर्छौं, गिद्ध सफा गर्छ ।’

नेपालमा पाइनेमध्ये फोटो पत्रकार बरालको क्यामेराले अहिलेसम्म आठ थरी गिद्ध भेटेको छ । लामो ठुँडेगिद्धको तस्बिर उनले खिच्न पाएका छैनन् । ‘लामो ठुँडे गिद्ध नेपालमा खासै देखिँदैन । तराईतिर पाइने र धेरै नदेखिने भएकाले अहिलेसम्म खिच्न पाएको छैन,’ उनले सुनाए ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातोसूची (संकाटापन्न) मा रहेकामध्येको लामो ठुँडे भारत र पाकिस्तानको रैथाने हो । जाडो छल्न नेपाल आउने भएकाले यो गिद्ध कम देखिन्छ ।

बराल गिद्धप्रति आकर्षित हुँदाको सुरुआती समय र अहिले अवस्था भिन्न छ । त्योबेला लाखौंको संख्यामा भेटिने गिद्ध अहिले हजारौंमा सीमित भइसके । बरालका अनुसार गिद्धको संख्या घट्नुको मुख्य कारण पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधी हो ।

औषधीको प्रयोगले गिद्धको संख्या घटिरहेको थाहा पाएपछि चेतना फैलाउनुपर्छ भन्ने उनलाई लाग्यो ।

‘त्यो औषधीप्रयोग गरिएका पशुको सिनो खाँदा मृगौला खराब हुन्छ भन्ने वैज्ञानिकले पत्ता लगाए । पछि त्यो औषधी प्रतिबन्ध लगाउनुपर्छ भन्ने आवाज उठ्न थाल्यो,’ बरालले भने, ‘मैले पनि त्योबेला विभिन्न सहरका चोकहरु र स्कुलस्कुलमा गिद्धको फोटो प्रदर्शनी गरेँ ।’

संरक्षणकर्मीको चर्को विरोधपछि सरकारले डाइक्लोफेनेक प्रयोगमा २०६३ जेठदेखि रोक लगायो । बरालले अहिलेसम्म काठमाडौं, नवलपुर, दमौली, पोखरा लगायत एक दर्जनभन्दा बढी ठाउँमा फोटो प्रदर्शनी गरेका छन् ।

पत्रकार बरालले पंक्षी र वातवरण संरक्षणमा लागेबापतसन् २०१४ मा गिद्ध संरक्षण पुरस्कार, २०१२ मा वातवरण पत्रकारिता पुरस्कार, २०१२ मै संरक्षण सम्मान, २०१७ मा प्रकृति संरक्षण पुरस्कार लगायत आधा दर्जन पुरस्कार पाएका छन् ।

कसैले नराम्रो गरे कस्तो गिद्धजस्तो भनेर गाली गर्ने चलन नेपाली समाजमा छ । मान्छेलाई गिद्धसँग तुलना गरेको उनलाई फिटिक्कै मन पर्दैन । ‘गिद्धलाई मान्छेसँग तुलना गर्नु राम्रो होइन । गिद्धले आफू हिंसा गर्दैन । मरेको खान्छ,’ उनी गिद्धबारे प्रष्ट्याउँदै भन्छन्, ‘हामी वातावरण फोहोर गर्छौं, गिद्ध सफा गर्छ ।’

गुँड बचाउन पोखरादेखि पाल्पा

फोटो प्रदर्शनीमात्रै होइन, सुन गिद्धको गुँड बचाउन उनी घन्टौं यात्रा गरेर एकपटक पाल्पा पनि पुगे । पाल्पाबाट पत्रकार टेकनारायण भट्टराईले फोन गरे ।

‘सुन गिद्धको गुँड देखेको भनेपछि फोटो पठाउन भनें । फोटो हेरेको सुन गिद्ध रहेछ । अनि गुँड बचाउनुपर्छ भनेर पाल्पा जाने निधो गरेँ,’ पत्रकार बरालले सुनाए ।

यो २०७१ साल जेठको कुरा हो । साढे चार घन्टाको त्यो यात्रामा सहकर्मी पत्रकार केशवशरण लामिछानेले साथ दिएका थिए । साढे चार घन्टा बाइकमा यात्रा गरेर दुवै तानसेन नगरपालिका धरमपानी पुगे ।

सुन गिद्धको गुँड बचाउन पाल्पा धरमपानीमा भएकाे सचेतना कार्यक्रममा गिद्धकाे महत्वकाे बारेमा जानकारी दिदै पत्रकार बराल ।

स्थानीय सरस्वती रावलको घरको पचास मिटर नजिकै ओटको रुखमा गिद्ध बसेको थियो । गिद्ध घर वरिपरि देखिए अशुभ हुन्छ भन्ने चलन नेपाली समाजमा अझै छ, ६ वर्ष पहिला पाल्पा धरमपानीका स्थानीय त्यसै भनिरहेका थिए । पोखराबाट गएका बरालले गाउँलेलाई गिद्धको महत्वबारे बुझाए ।

‘गाउँलेलाई सम्झायौं । सरस्वती दिदीको श्रीमान् भारतमा काम गर्नुहुन्थ्यो, उहाँलाई पनि भन्यौं,’ ६ वर्ष पुरानो घटना सम्झिँदै बराल भन्छन्, ‘पछि त्यो गिद्धले लगातार तीन वर्ष लगातार बच्चा हुर्कायो ।’

पाल्पा यात्रामा साथ दिएका पत्रकार लामिछाने पनि बरालको काम देखेर निकै प्रभावित छन् । बरालले पाल्पा जाऊँ भनेर प्रस्ताव गरेपछि लामिछानेले कुरा काट्न सकेनन् । लामिछाने भन्छन्, ‘यस्तै काम गरेर मान्छे डलर खेती गर्छन् । कृष्ण दाइको निस्वार्थ भावले उहाँलाई भेट्दैदेखि प्रभावित थिएँ । पाल्पा जाऊँ भनेपछि हुँदैन भन्नै सकिनँ ।’

१७ वर्षदेखि उनी अन्नपूर्ण पोस्टको पोखरा संवाददाता छन् । वातावरण बिट रुचाउने बराल नेपाली मिडियामा वातावरणसँग सम्बन्धित विषयले खासै प्राथमिकता नपाउने अनुभव सुनाउँछन् ।

‘राजनीतिक नेताले आज के बोले, भोलि के हुन्छ भन्नेलाई नेपाली मिडियाले प्राथमिकता दिन्छन् । वातावरण मान्छेको स्वास्थ्य, पृथ्वी र जीवसँग जोडिएको छ,’ पत्रकार बरालले थपे, ‘तर नेपालका पत्रिका र अनलाइनमा जसरी ती विषय समेटिनुपर्ने हो त्यस्तो छैन ।’

आफू आबद्ध मिडियामा ठाउँ नपाएका कन्टेन्ट उनले आफ्नो ब्लगमा प्रकाशित गर्न थालेका छन् । उनको ब्लगमा चरा, गिद्ध र वातावरणसम्बन्धी बाहेक अरु सामग्री सायदै भेटिन्छन् ।

‘क्यामेरा बोक्दा सँगै हिँड्दिनँ’

मोफसलमा एउटामात्रै बिटमा काम गर्न सम्भव थिएन । गिद्धको तस्बिर खिचेर आम्दानी हुने पनि होइन । मोफसलमा बसेर काम गरेपछि सबै ठाउँमा पुग्नैपर्ने ।

क्यामेरासँगको दुई दशकको यात्रामा कतिको हप्की खाए, कतिले फोटो डिलिट गर्न लगाए । २०६२/६२ को जनआन्दोलनमा सेनाले आन्दोलनको तस्बिर डिलिट गर्न लगायो । सेनाले नियन्त्रणमा पनि लिएको थियो, पत्रकारले विरोध गरेपछि छोडिदियो ।

पूर्वयुवराज्ञी हिमानी शाहले प्याराग्लाडिङ गर्दा पनि सेनाले तस्बिर खिच्न रोक लगायो । एकपटक त किसानले हप्काए, त्यो पनि श्रीमतीसँग हुँदा। फेवातालको मुहान पामे क्षेत्रतिर जाँदै थिए । किसानले धानगोडिरहेको देखे । साथमा भएको क्यामेरा उनीहरुतिर तेस्र्याए । फोटो किन खिचेको भनेर एकजना वृद्धले थर्काए । त्यो दिन श्रीमतीसँग राम्ररी बोलचाल भएन ।

‘उनले त्यो दिन तपाईंले क्यामेरा बोक्दा कहिल्यै सँगै हिँड्दिनँ भनिन्,’ पत्रकार बरालले खुलेर सुनाए । बराल त्यो दिन अमिलिएको मन लिएर घर फर्किए । दिउँसो खिचेको फोटो द हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टमा पठाए । भोलिपल्ट पहिलो पृष्ठमा मुख्य तस्बिर भएर छापियो । अनि के थियो र श्रीमतीयशोदाले पनि रिसाएकोमा गल्ती महसुस गरिन् ।

फोटो खिच्दाका दर्जनौं हप्की र रोकतोकलाई उनी सामान्य मान्छन् । ‘पत्रिका/अनलाइनलाई फोटो चाहिन्छ । कहिलेकाहीँ अरु दुःखमा हुन्छन् । आफैंलाई मन नलागे पनि खिच्नुपर्छ,’ बरालले भने ।

हिरासतमा एक महिना

बरालले पञ्चायत, जनआन्दोलन, भूकम्पदेखि कोरोना सबै राम्रैसँग भोगे । २०४६ सालमा पञ्चायतविरुद्ध नारा लगाउँदा एक महिना हिरासत बस्नुप¥यो । जनआन्दोलनताका फोटो खिच्दा सुरक्षा निकायले समात्यो ।

२०७२ सालको भूकम्पमा केन्द्रबिन्दु बारपाक पुगे । कोरोना संक्रमित भएर एक महिना आइसोलेसन पनि बसे । आमाले ल्याइदिएको टीकाजमरा लगाएर उनले आइसोलेसनमै दसैं मनाए ।

२०४७ सालदेखि अहिलेसम्मका घटनामध्ये सबैभन्दा यादगार एक महिनाको हिरासत बसाइँ छ । बराल मात्र १४ वर्षका थिए ।प्रजातन्त्र आउँछ, विकास हुन्छ भन्ने सुनेपछि १४ वर्षे फुच्चे पनि अरुको लहैलहैमा ‘पञ्चायती व्यवस्था मुर्दावाद, प्रजातन्त्र जिन्दावाद’ भनेर नारा लगाउन तम्सिए ।

‘परिवर्तनका लागि हिरासत बसेको हो भन्ने लाग्यो । म सबैभन्दा कान्छो थिएँ । सबैले माया मान्नुहुन्थ्यो,’ उनी हिरासत बसाइँ सम्झन्छन्, ‘रामजी बादल (जसको २०७२ सालमा हत्या भयो) लगायत नेता/कार्यकर्ता हुनुहुन्थ्यो । उहाँहरुकै कुरा सुनेर बस्थ्यौं ।’

पक्राउ पर्दा उनी तालबाराही माविको कक्षा ९ मा पढ्थे । २०४६ साल फागुन ७ गते जनआन्दोलन सुरु भयो । त्यतिबेला राजा वीरेन्द्र पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा थिए । राजा कहाँ छन्, के गर्दै छन् भन्ने चासो हुनु स्वाभाविक थियो । त्योबेला रेडियो, टेलिभिजन सबैको घरमा हुँदैनथ्यो । बैदामस्थित तालबाराही स्कुल अगाडि टिभी थियो ।

साँझ खाना खाएर टिभी भएको ठाउँमा पुगे । त्यहाँ टिभी हेरेर काका सञ्जय पौडेल र राजुराज रेग्मीसँगै घर फर्कँदै थिए । घर पुग्नै लाग्दा तीन जनाबीच सल्लाह भयो, ‘आज जनआन्दोलनको पहिलो दिन, देशभर कहाँ–कहाँ के भयो सुनौं ।’

बीबीसीको राम्रो क्रेज थियो । बीबीसी सुन्ने सहमति जुट्यो तर जानेचाहिँ कहाँ ?राजुले आफ्नो मामाघर नजिकै भएकाले त्यहीँ जाऊँ भने । तीनैजना ‘पञ्चायती व्यवस्था मुर्दावाद, प्रजातन्त्र जिन्दावाद’ नारा लगाउँदै दौडिएर राजुको मामाकहाँ छिरे । भित्र पुगेर रेडियोको कान के बटार्दै थिए, बाहिरबाट आवाज आयो, ‘अघि नारा लगाउने को हो ?, बाहिर आइज ।’

बाहिर प्रहरी आएको बुझिहाले । प्रहरीलेसेतो कपडा लगाउने बाहिर आइज भने । सेतो कमिज लगाएका कृष्णमणि थिए । उनी चुपचाप बाहिर निस्किए । प्रहरीले फेरि भने, ‘अरु दुईजना पनि बाहिर आओ नभए घरको सबैलाई लग्छौं ।’ अरु दुईजना पनि बाहिर आए ।

प्रहरीले जरेबर, हल्लनचोक, बाराही चोक, सहिदचोक हुँदै हालको पार्दीको डिआइजी कार्यालय पुर्‍यायो । ‘त्योबेला ३१ जनालाई एउटै कोठामा राखिएको थियो । दिउँसो घाम ताप्न १२ बजेतिर बाहिर निकालिन्थ्यो,’ उनले जेल बसाइँ सम्झिए, ‘त्योबेला अरु साइकलमा चढेर हिँडेको देख्दा हामी पनि यसरी स्वतन्त्र भएर हिँड्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।’

त्यो फेवा…

फेवातालकै पानी खाएर हुर्किएका बराललाई अहिलेको तालको अवस्था देख्दा उराठ लाग्छ । फेवा किनारको सेदी फाँट र तालकै पानीले सिँचाइ हुने बिरौटाको खेतमा काम गर्न जाँदा त्यही पानी निर्धक्क पिउँथे ।‘पहिला र अहिलेको फेवाताललाई तुलना गर्नै सकिँदैन । दुवै ठाउँको खेतमा जाँदा त्यहाँको कुलाको पानी खान्थ्यौं,’ उनले कुराकानी बिट मार्दै भने, ‘घर बढे, ढल त्यहीँ मिसिन्छ । अहिले त्यो पानी छुने अवस्था पनि छैन ।’

Samadhan News

Leave a Reply

Your email address will not be published. Required fields are marked *