कृष्णमणि बराल
जन्म पछि मृत्यु सत्य हो । मृत्यु पछि जन्म भन्न सकिदैन् । हामीले देख्दै आएका छौ, हामी भन्दा अघिल्ला पुस्ताको मृत्यु । कालले कुनै पनि उमेर समुहलाई छाड्दैन । युवा, युवती भर्खर जन्मेका बालबालीका, धर्तीमा नआउँदै आमाकै गर्भमा पनि मृत्यु भएको घट्ना हामीले सुन्दै देख्दै आएका छौ ।
अंग्रेजी कवि तथा नाटककार विलियम शेक्सपियरले भनेको जस्तै पृथ्वी सायद नाट्यशाला (रंगमञ्च) हो । हामी यो नाट्यशालाको पात्र । कसैले खराव पात्रको त कसैले असल पात्रको भूमीकामा हामीले अभिनय गरिरहेका छौं । अनि कसैको यो पृथ्वीको नाट्यशालामा थोरै भूमीका त कसैको लामाे भूमीका हुन्छ । त्यसै अनुसार नाट्यशालामा हामीले भूमीका खेलीरहेका छौं ।
मृत्यु शाश्वत सत्य हो । जन्म संगै जोडिएर आउँछ मृत्यु । तर हामीलाई जन्मदिने, हाम्रो बुवा आमा, हजुबा हजुरआमा, काका काकी, दाजु भाइ, साथी संगी, इष्टमित्र सबैको मृत्यु कहाली लाग्दो हुन्छ । सपना जस्तै । हो र ? जन्मदिने बुवा आमा, हजुरबा हजुरआमाको मृत्यु कल्पना पनि गर्न सकिदैन् । तर यो भइछाड्छ । जन्मपछि मृत्यु हुन्छ भन्ने थाहा हुँदा पनि मृत्यु सधै त्रास पूर्ण हुन्छ । जस्को मृत्यु भएपनि मृत्यु मृत्यु नै हो । दुःखद हो । मान्छेको मृत्यु भएपछि उ मुडा, ढुंगा जस्तै हुन्छ । न बोल्छ । न चल्बलाउँछ । निर्जीव । शरिरले न अक्सिजन लिन्छ न पानी । वायुमण्डलको अक्सिजन नै लिन नसक्ने अवस्था आउनुलाई मृत्यु भनिन्छ सायद ।
हजुरबा हरिनन्द करिब एक महिना अघि बिरामी पर्नु भाे । अस्पताल लग्दा निमोनिया देखियो । निमोनिया भएपछि फोक्सोमा खराव हुने नै भयो । कोरोना भएकालाई पनि निमोनिया हुन्छ । फोक्सोमा समस्या देखिन्छ । यसैले कोरोना कहरमा डाक्टर डराएछन् । कोरोनाको शंका गर्ने नै भए । अर्को अस्पताल लग्ने र कोरोना रिपोट आएपछि त्यसै अनुसार उपचार चलाउने भनेछन् । त्यसै अनुसार अर्को अस्पताल लगियो । कोरोना टेष्ट भयो । डाक्टरले शंका गरेको शंकामै सिमीत भो । रिपोट नेगेटिभ आयो । फेरि हजुबालाई पुरानै अस्पताल लगियो । ८७ वर्षको उमेरमा निमोनियाले उठ्नै नसक्ने गरि पेल्दै लग्यो । अस्पताल भेट्न जाँदा अवस्था नाजुक देखे मैले । हजुरबा आत्तिने, बरबराउने गर्नु भएको थियो । औषधीको चक्की पनि पीनेर पाइपबाट खुवाउनु पर्ने । काका दुर्गाराजले औषधी पीनेर खुवाउनु भो । पानी पनि त्यही पाइपमा अलीकति राखि दिनु भो । त्यसको भोलीपल्ट डाक्टरकै सल्लाहामा घर ल्याउनु पर्ने भयो ।
घरमा ल्याएकै बेलुका माघ १७ गते पनि म र यशोदा हजुरबालाई भेट्न पुग्यौ । अवस्था उस्तै थियो । अक्सिजन दिइरहदा पनि अक्सिजन लेबल कम थियो । अवस्था नाजुक थियो । हजुरअामा, काकाहरु डम्मरु, उमनाथ, कृष्णराज (गिता) , दुर्गा अाडैमा सेवामा बस्नु भएकाे थियाे । भोली पल्ट बिहान सवा दश बजे तिर घरकै छतबाट हजुरबाको घरमा मान्छे जम्मा हुन थालेको दृश्य देखियो । मनमा शंका पस्यो । फोनको घण्टी पनि बज्यो । नविन काकाले फाेन गर्नुभएकाे थियो । अव आउ । यति भनेपछि बुझे । हजुरबा हुनुहुन्न । उहाँले सबैलाई छाडेर जानु भो । पोखरा ७ नुवारथोकका हजुरबाहरु तर्फ जीवीतहरु मध्ये सबैभन्दा जेष्ठ हजुरबा ८७ वर्षको उमेरमा संसार छाडेर बराल परिवारलाई शोकमा पारेर जानु भो । शोकमा सबै बराल परिवार इष्टमित्र जम्मा भएका थियौ । हजुरबा अग्नीलाल बराल (मुरली) दाजु हरिनन्दलाई अन्तिम विदाई गर्न आउनु भो । पुष्प गुच्छा अर्पण गर्दै भन्नु भो संगै खाएका, खेलेका, संगै हुर्के बढेका दाजुभाई हौं हामी । दाजु तपाइँ अघि लाग्नु भो । राम्रो घर बनाएर राख्नु म पनि आउनु पर्छ नै । उहाँले यति भन्दै पुष्पगुच्छा अर्पण गर्दा मन भारी भएर आयो । कान्छा हजुरबा टेकनाथले रामघाटमा पुगेर पुष्पगुच्छा चढानु भाे र दाजुभाइले बिताएका बालपन सम्झनु भयाे । मृत्यु सत्य भएर पनि त्रास बनेर आउँछ । डरलाग्दो आँधी, भूकम्प आएर भताभुंग पारेर गएजस्तै ।
मैले हजुरबा शिबकुमार बरालाई देख्न पाइन् । मेरा बा ७ वर्षको उमेर छदा नै हजुरबाले छाडेर जानु भो । हजुरबा स्वर्गवास हुँदा मेरा बा (चुडामणि) को उमेर नै आप्नो बुवालाई सम्झने गरि चिन्ने थिएन । मलाई सधै जिज्ञासा लाग्छ हजुरबुवा कस्तो हुनुहुन्थ्यो होला ? सम्झनाकालागि तस्बिर पनि नहुँदा यो जिज्ञासा सधै रहि रहने नै भयो । मेरा छोरीहरु र छोराले पनि आप्नो हजुरबालाई देख्न पाएनन् । बुवाको तस्बिर हेर्छन र भन्छन मेरा हजुरबा ।
हरिनन्द हजुरबा सरल हुनुहुन्थ्याे । सरल मायालु । कसैलाई पनि दुःख नदिने । सबैकाे भलाे चिताउने । आप्नै कर्ममा रमाउने । यति सरल मान्छे सायद बिरलै जन्मन्छन । आदारणीय हजुरबुवा प्रति हार्दिक श्रदाञ्जली ! हजुरबाको स्वर्गमा बास होस हार्दिक श्रदाञ्जली !!!