आइसोलेशनमा २९ दिन
कृष्णमणि बराल
पाेखरा ताल र हिमालकाे सहर हाे । अग्ला सेता हिमालमा बिहानीकाे सूर्यकाे लाली पर्दा सुनाैला रंगमा सुन्दरता पस्कन्छन अन्नपूर्ण हिमालले । बेलुकाकाे सूर्य अस्तमा पनि उस्तै सुन्दर देखिन्छन यहँाका हिमाल । जुनेली रातमा हिमालकाे सान नै बेग्लै हुन्छ । रातमा हिरा जस्तै जुनकाे प्रकाशमा टल्कन्छन् ।
पोखरा विश्व पर्यटन बजारमा परिचित भएको पनि यिनै सुन्दर हिमालले गर्दा नै हो। पोखराका घर घरबाटै देखिन्छन् हिमाल। पोखरामा विदेशी पर्यटकको आगमनको वृद्धि भएकै हिमालको कारण हो। फ्रान्सेली नागरिक मौरिस हार्जोग, फ्रान्सकै लुइस लेकेनल सहितको टोलीले सन् १९५० को जुन महिनाको ३ तारिखमा ८ हजार ९१ मिटर उच्च अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। विश्वमा ८ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने रेकर्ड गण्डकी प्रदेशमा रहेको हिमाल हुन पुगेको थियो।
मौरिसले अन्नपूर्ण प्रथमको सफल आरोहणपछि विश्व पर्यटन बजारनै तरंगित भएको थियो। यहीबाट नेपालका हिमालको बारेमा चर्चा परिचर्चा विश्वमै भयो। मौरिसले आरोहण गरेको हिमाल हेर्न पर्यटक पदयात्रामा आउन थालेका हुन्। यसरी अन्नपूर्ण पदयात्रा मार्गमा वर्षेनी विदेशी पर्यटकको आगमन बढ्दै गयो। यसरी पोखरामा विदेशी पर्यटकको आगमन बढ्दै गएको हो। अन्नपूर्ण प्रथम हिमालको आरोहण भएको तीन वर्षपछि मात्र नेपालका तेन्जि नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमन्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथा (८,८४८ मिटर) को सफल आरोहण गरेका थिए। यसैले आरोहणको हिसाबले अन्नपूर्ण प्रथम हिमाललाई जेठो हिमाल पनि भनिन्छ।
यति बेला हिमाल मुस्कुराइ रहेपनि विश्वभर डडेलोको रुपमा फैलिएको कोरोना भाइरसको कारण पर्यटन क्षेत्र भने सुनसान छन्। आन्तरिक पर्यटक केही संख्यामा मर्दी हिमाल, मनाङ क्षेत्रका पदयात्रामा जाने क्रम सुरु भएपनि अन्य पदयात्रा क्षेत्र भने सुनसान छन्। कोरोना कहरमा पोखरेली नै पदयात्रामा निस्कन थालेका छन्। प्याराग्लाइडिङ गर्न पनि थालेका छन्। कोभिडले फुर्सद मिलेपछि पहिलो पटक यसै हप्ता प्याराग्लाइडिङ् गरेको पोखरा -२ मिरुवाका दिपेन्द्रराज रेग्मीले सुनाए। मर्दी हिमालमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्रका सूचना अधिकारी ऋषि बरालले बताए। काठमाडौंलगायत देशका विभिन्न शहरबाट फाट्फुट्ट पर्यटक मर्दी हिमालको पदयात्रा क्षेत्रमा देखिएको हालै त्यस क्षेत्रको पदयात्रा गरेर फर्केका बरालले सुनाए।
सामान्य अवस्थामा अन्नपूर्ण पदयात्रा क्षेत्रको अन्नपूर्ण आधार शिविर, थोरङलापास, मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको चापको कारण यति बेला कोठा पाउन पनि मुस्किल पथ्यो। कोरोना भाइरसको कारण यति बेला यी पर्यटकीय स्थलमा जान अझै पनि रोक लगाइएको छ। खुला भएका पनि सुनसान छन्। पोखरामा दसैं, तिहारको छुट्टीमा आन्तरिक पर्यटकको ओइरो लाग्थ्यो। विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउँथे। विदेशी पर्यटक पदयात्राका लागि आउँथे। कोरोनाले विश्व पर्यटन बजार नै ठप्प छ। यसको प्रभाव नेपालमा नपर्ने कुरै रहेन। कोरोनाले पर्यटन उद्योगमा शुन्यता छाएपनि प्रकृतिले आप्नो सुन्दरता प्रदर्शन गर्न छाड्ने कुरै रहेन।
सबै तस्बिरहरु काेराेना भाइरसबाट संक्रमित भएर हाेम आइसोलेशनमा रहदा खिचेका हुन् ।
तस्बिरहरु : कृष्णमणि बराल
Leave A Comment