कृष्णमणि बराल

पाेखरा :  दिपाङ ताल किनारका ५० वर्षीय नारायणप्रसाद लामिछानेकाे परिवारकाे जमिन सरकारले २०३९ सालमा अहिले निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरेपछि विस्थापित भए । पुर्खाै देखि गाउँघर, छरछिमेकी सग मिलेर बसेकाे परिवार एक्लियाे । बुवाअामासँग ११ वर्षको उमेरमा पोखरा २७ दिपाङ ताल किनारमा बसाइँसराइ गरे ।

दिपाङ ताल । तस्बिर : कृष्णमणि बराल

पोखराको भेडीफारम (छिनेडाँडा) मा १६ रोपनी जमीनसहित सुबिधा सम्पन्न घर थियो। सरकारले विमानस्थलका लागि पुख्यौली थलोबाट उठीबास गरेपछि ४ कक्षा पढ्दा पढ्दै दिपाङतालको पाखामा आएर बसेको उनि सम्झन्छन्। आप्ना दाजु भाइ, छरछिमेकबाट बिछडीएर दिपाङको पाखामा सानै उमेरमा आएका उनको यहाँ १३ रोपनी पाखो जमिन छ। पहिले जंगल बीचमा एक्लो घर थियो। अहिले घर नजिकै भएर सडक खनियो। सडक खन्दा वरपरको बस्ती, वन र तालको संरक्षणमा ध्यानै दिइएन। बुल्डोजरले कम्जोर जमीन थर्काउदै चाहिने भन्दा बढी चाक्लो बाटो बनाइयो। पानीको व्यवस्थापनका लागि न ढल बनाइयो न त बस्ती जोगाउन सडकमाथी र तलको जोखिम क्षेत्रमा पर्खाल नै लगाइयो। 
त्यही कच्ची बाटो माथिको वनमा पहिरो जाँदा अहिले उनको घरसहित गाउँका ५ घर जोखिममा परेको छ। घरमाथि सडक छ। त्यही सडक माथिको दिपाङ पाखाको सालको जंगलमा यस वर्ष ठूलो पहिरो गयो। पहिराेले बाटाे माथीकाे घर ढल्याे । छिमेकीलाइ राति नै उद्धार गरियाे । त्यही पहिरोले घर नै थिच्लाकी भन्ने त्रासले यस वर्षको वर्षा याम भर पानी पर्यो कि घरका सबै परिवार जागा बसेको उनले सुनाए। पहिले विमानस्थलका लागि सरकारले जग्गा लिदा पोखराका मुख्य बजारकै सुविधा सम्पन्न घर र जमिन छाडेर यहाँ आउनु पर्यो। 

पाेखराकाे बेगनास ताल । तस्बिर : कृष्णमणि बराल

अहिले पहिरोले ज्यानै लिन्छ कि भन्ने त्रासमा बाँच्नु परेको सावित्री लामिछानले सुनाइन्। पोखराका अन्य ८ तालसँगै दिपाङ ताल पनि रामसारमा सूचिकृत भएको समाचार पढेको र सुनेको भए पनि यहाँको ताल र वरपरका स्थानीयको बासस्थान संरक्षणमा तीन तहका सरकारले कुनै पहल नगरेको उनले बताइन्। पोखराका ९ ताल सन् २०१६ को फ्रेबुअरी २ मा रामसारमा सूचीकृत गरिएको हो। यस वर्ष मात्र दिपाङ तालको जलाधार क्षेत्रमा १० भन्दा बढी पहिरो गएको छ। पहिरो तालमा पस्दा तीन दिन सम्म दिपाङताल हिलोले रात्तै भएको उनले सुनाइन्। बाटो माथीको पहिरोले ५ घर जोखिमा रहेको पनि उनले बताइन्। 

फेवातालको मुहानमा यस वर्ष साना ठूला गरेर ३० भन्दा बढी पहिरो गएको छ। यसै वर्षको पहिरो पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकराले निर्माण गरेको सिल्टेसन पोखरी हुँदै तालमा मिसिएको स्थानीय विष्णु दाहालले सुनाए। पोखराको सबैभन्दा सानो ताल मैदी देखिएको छ। ताल हेर्दा पोखरी जस्तै आकारको छ। झारले ढाकेर नाम मात्रको तालको रुपमा अस्थित्वको लागि मैदीले संघर्ष गरेको देखिन्छ। 

मैदी ताल । तस्बिर : कृष्णमणि बराल

पोखराको दोस्रो ठूलो बेगनास ताल अरु तालको तुलनामा पहिरोको जोखिम केही कम रहेको बताइदै आएको छ। तर अरु ताल भन्दा सुरक्षीत भनिएको बेगनास तालमा पछिल्लो समयमा जथाभावी खनिएका सडककै कारण तालको मुहान चण्डीखोला, कमारङ खोला क्षेत्रमा ७ ठाउँमा पहिरो गएको स्थानीय शिवराज बास्तोलाले बताए। 

पोखराको तेस्रो ठूलो रुपा ताल संरक्षणका लागि संघ सरकार नै अघि सरेको छ। तालको मुहान तालवेसी खोलाले बगाएर ल्याउने माटोका कारण वर्षेनी पुरिदै र सांगरिदै गएको रुपाको संरक्षणका लागि दुई वर्ष अघि बाँध बाध्न परियोजना सुरु गरिएको हो। 

रुपाताल पुरिएर बनेका जमीनमा झुलेकाे धान । तस्बिर : कृष्णमणि बराल

तालको उपल्लो तटमा आवश्यक जग्गा र तल्लो तटमा बाँधबाँध्न आवश्यक जग्गा अधिग्रहण गरेर मुआब्जा वितरण चरणमा छ। विसं २०३२ को नापीमा १३५ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हाल १०७ हेक्टरमा खुम्चिएको अध्ययनले देखाएको छ। रुपामा बाँध निर्माण भएसंगै तालको सतह बढेर १७४ हेक्टर पुग्ने बताइएको छ। पाँच वर्षीय योजना अन्तर्गत सरकारले बाँध निर्माणका लागि ४ अर्ब ५२ करोडको लागत अनुमान गरिएको छ। संघ सरकारले ताल संरक्षणको काम अघि बढाउँदै गर्दा ताल किनारमा अवैज्ञानिक रुपमा डोजर चलाएर पैदल मार्ग निर्माण गरिएको छ। यो वर्ष त्यही पैदलमार्ग निर्माण भएका क्षेत्रमा पहिरो गएर तालमा मिसिएको स्थानीय दामोदरभक्त थापाले बताए।  

सात ताल जोड्ने सडक तालका लागि जोखिम
पछिल्लो समयमा पोखराको लेखनाथका ७ ताल जोड्ने भनेर बनाइदै गरिएको कच्ची सडकका कारण ताल पुरिने क्रम तिब्र भएको स्थानीयले बताएका छन्। लेखनाथका ७ ताल (बेगनास, रुपा, मैदी, न्यूरीनी, खास्टे, दिपाङ, गुदे) जोड्ने गरी डोजर नै चलाएर तालको जलाधार क्षेत्रका धमाधम सडक निर्माणको काम भइरहेको छ। 

न्यूरिनी तालकाे सिरानमा खनीएकाे ताल जाेड्ने बाटाे । सात ताल जाेड्ने बाटाे जथाभावी खनिदा तालहरु जाेखिममा परेका छन् ।

तस्बिर : कृष्णमणि बराल

सडक बनाए संगै वर्षाको पानी व्यवस्थापन गर्ने ढल र कम्जोर जमिन भएको स्थानमा ग्याविङवाल नलगाउँदा पहिरोबाट सुरक्षित रहेका ताल पनि जोखिममा परेको खास्टे न्यूरिनी ताल संरक्षण समितिका सदस्य चुडामणि लामिछानेले बताए। यस वर्ष पोखरामा अहिले सम्मकै धेरै पानी परेको छ। सन् १९७० देखि पोखरामा वर्षाको मापन हुन थालेको हो। सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय मिलिमिटर वर्षा भएको रेकर्ड तोडेर यस वर्ष अहिले सम्मकै सर्वाधिक ५ हजार ३ सय ५८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका हाइड्रोलोजिष्ट इन्जिनियर सागर मिश्रले जानकारी दिए। 

साना तालमा माछा सहकारीले आर्यआर्जन लिदै
पछिल्लो समयमा लेखनाथका साना तालको रेखांकन गरि ढुंगामाटोका ड्याम लगाएर स्थानीयरुपमा मत्सय तथा कृषि सहकारी संस्था मार्फत माछा पालेर आर्यआर्जनका काम सुरु भएका छन् । ताल संरक्षणकालागि स्थानीय संरक्षण समिति संग मिलेर लेखनाथका खास्टे, न्यूरिनी, गुदे, मैली, दिपाङ र पोखराको कमलतालमा हरियो वन संगको सहकार्यमा संरक्षणका काम भएको फेवा वाटरसेड इकोस्टिम म्यानेजमेन्ट वोर्डका सचिवालय सचिव दिलबहादुर भट्टराईले बताए । भूतथा जलाधार व्यवस्थापन कार्यालयले पनि मैदी, खास्टे, न्यूरिनीमा भूक्षय नियन्त्रणका काम गरेको बताइएको छ ।

पाेखराकाे लेखनाथ स्थित मैदी ताल । तालमा मत्यस तथा कृषि सहकारी संस्थाले पछिल्लो समयमा माछा बिक्री गरेर वार्षिक १४ लाख आम्दानी लिएको छ ।

बेगनासतालमा पनि फेवातालबाट सिकेर वातावरणीय सेवा भुक्तानी कार्यक्रम साथै आर्यआर्जनका लागि माछापालन लगायतका कार्यक्रम गरिने बेगनासताल संरक्षण तथा विकास बोर्डका सचिव लेखनाथ ढकालले जानकारी दिए । रुपातालमा भने यस अघि नै सहकारीले माछा पालन गरेर आर्यआर्जन गरिरहेको छ । खास्टेतालका स्थानीय मत्यस तथा कृषि सहकारी संस्थाले पछिल्लो समयमा माछा बिक्री गरेर वार्षिक १४ लाख आम्दानी लिएको सहकारीका कर्मचारी खेमराज बरालले बताए ।

कमल ताल पाेखरा । तस्बिर : कृष्णमणि बराल


फेवा जलाधार क्षेत्रमा पानीको प्रवाह कम गर्न हरियो वन कार्यक्रमले वायोइन्जिनियरिङ वालसहितका तारजाली निर्माण, भिरालो खेतबारीमा माटो बग्नबाट बचाउन कफी, अलैची, एभोकाडो, मेकाडामियानट, डाले घाँस रोप्ने काम भएको फेवा वाटरसेड इकोस्टिम म्यानेजमेन्ट वोर्डका सचिवालय सचिव भट्टराईले बताए । यस्ता कामबाट बस्ती वरपरका जमिनबाट भूक्षय हुने क्रममा सुधार आए पनि वन क्षेत्रमै पहिरो जाने क्रम बढेको फेवा वाटरसेड इकोस्टिम म्यानेजमेन्ट वोर्डका सचिवालय सचिव भट्टराईले सुनाए । फेवातालको जलाधार क्षेत्रमा ३ सय २५ किलो मिटर भन्दा बढी सडक खनिएको पनि उनले बताए । बाटो नै जलाधार क्षेत्रमा पहिरो जानुको कारण बनेको उनले सुनाए ।

तालको सिमाङ्कन नै भएन
रामसारमा सूचिकृत भएको ४ वर्ष भइसक्दा पनि फेवाताल संरक्षणका लागि पहिलो काम ताल कहाँ सम्म हो भन्ने सिमांकन समेत हुन सकेको छैन । फेवाताल सबैभन्दा धेरै अतिक्रमणमा परेको ताल हो । सर्वोच्च अदालतले पनि ताल संरक्षणमा जोड दिदै फैसला गरेको छ । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७ ) को अवसरमा टान पोखराको आयोजनामा भएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ सरकारले एक वर्ष भित्र तालको सिमाङ्कन गरि सक्ने र त्यसपछि तालको संरक्षणका थप काम अघि बढ्ने बताएका थिए । अहिले सम्म तालको सिमाङ्कननै नभएकोले यो एतिहासीक काम छिट्टै हुने उनले सुनाएका थिए ।

पाेखराकाे फेवातालमा देखिएकाे अन्नपूर्ण हिमालकाे छाँया । तस्बिर : कृष्णमणि बराल

वर्षायाममा हिलाम्य पाेखराकाे फेवाताल । तस्बिर : कृष्णमणि बराल

फेवाताल सिमाङ्कन नभएको मात्र होइन वर्षेनी तालको गहिराई कस्तो अवस्थामा छ । रामसारमा सूचिकृत यहाँका तालहरुको मुहान क्षेत्रबाट वर्षेनी तालको क्षेत्रफल कुन रेसियोमा पुरिदै गएको छ । तालहरुको पानीको क्वालीटी प्रत्येक तालको के कस्तो अवस्थामा छ रिपोट तयार गरेर अपडेट नै भएको छैन् । तालमा मिसिने प्रदूर्षण नियन्त्रण, ताल अतिक्रमण हुनबाट जोगाउँन पहल नै नभएको नागरिक समाज पोखराका विष्णुहरि अधिकारी बताउँछन् ।
फेवातालमा प्रत्येक वर्ष १ लाख ४२ हजार मेट्रिक टन ग्रेगर, माटो ढुङ्गा आएर पुरिने गरेको भन्ने धेरै पुरानो तथ्याङ्क बाहेक तीनै तहका सरकारले अध्ययन, अनुसन्धान नगरेकोले पछिल्लो तालको जैविक विविधता र अवस्थाका बारेमा दुबै तह जानकार छैन् ।

फेवाताल प्रदूर्षण मुक्त बनाउन चुनौती

पाेखराकाे फेवाताल । तस्बिर : कृष्णमणि बराल
पोखराको मुख्य बजारको बिचमा अवस्थित नेपालकै पर्यटकीय केन्द्र फेवाताल प्रदूषण हुने तिब्र गतिमा बढ्दो छ । पोखरा बजार हुँदै तालमा मिसीने फिर्के, बुलौदी खोलामा जथाभावी फोहोर फाल्दा र ढल सोझ्याउँदा ताल प्रदूर्षणका चपेटामा परेको छ । विन्ध्यवासिनी मन्दिर छेउँ हुँदै फोहोर पानी बग्ने ढल, बागलुङ् बसपार्क हुँदै फेवामा मिसीने फिर्के खोलामा खस्छन् ।
पस्याङ्, मालेपाटन, सिद्धार्थ चोक, सिमलचौर, मासबार, बैदामको फोहोर पनि फिर्के, बुलौदी खोला र ढल हुँदै तालमा मिसीन्छ । पछिल्लो समयमा तालको मुहान क्षेत्रका चंखपुर, पामे, सेदी, खपौदी लगायतका क्षेत्रमा बढेको बस्ती विकास संगै फेवाको मुहानबाट पनि प्रदूर्षण बढ्ने क्रम सुरु भएको छ । फेवाको पानी शुद्ध बनाउनु जटीलतामाथी जटीलता थपीदै गएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी ताललाई प्रदूर्षण मुक्त बनाउन तालमा मिसीने ढल र फिर्के खोला डाइर्भट गर्ने योजना बेला बेलामा सुनाउदै आए पनि निकै खर्चीलो यो योजना सुरु हुने अवस्था भने देखिएको छैन ।

तालको मापदण्ड बिवाद, ताल किनारमै घर बन्ने क्रम तिब्र

पोखरा महानगरपालिकाले फेवाताल किनारबाट ६५ मिटर भित्र र बेगनास तालको किनारबाट १०० मिटर क्षेत्र भित्र घर लगायत कुनै पनि संरचना बनाउन नपाइने गरि मापदण्ड तोकेको छ । फेवाताल र बेगनास ताल किनारमा होटल, रेष्टुरेण्ट बन्ने क्रम रोकीएको छैन ।
फेवातालको सिमांकन नै नभएकोले कहाँबाट तालको सिमा मानेर ६५ मिटर छाड्ने हो भन्ने नै अन्यौल रहेको स्थानीयले बताएका छन् । जग्गा धनीहरुले तोकीएको मापदण्ड पनि न्यायसंगत नभएको बताउदै आएका छन् । सरकारले व्यक्तीको लालपुर्जा भित्रको जमीन वर्षौ देखि मापदण्डको नाममा बन्दक बनाएर राखेको बताएका छन् । ताल संरक्षणकालागि चाहिन्छ भने उचित मुअब्जा दिएर लिन सक्ने अवस्था हुँदा हुँदै महानगरले व्यक्तीको जग्गामा ४५ वर्ष देखि संरचना बनाउन रोकेर गरिखान नदिएको फेवाताल मापदण्ड सरोकार समितिका संयोजक नविन बरालले बताए ।

जैविक विविधताको संरक्षण भएन

फेवातालमा ७ वर्ष अघि सम्म सिमलकाँडे झार, कमलफुल फुल्थ्यो । अहिले भने देखिन छाडेको छ । ग्रासकार्प माछाले खाने हाईडीला झार पनि देखिन छाडेको फेवा हर्पन मत्यस सहकारीका पूर्व अध्यक्ष ज्ञानबहालुर जलारीले बताए । ताल हेर्दा हेर्दै आधा पुरिएको छ । तालको माथिल्लो मुहान क्षेत्रमा साना साना पोखरी थिए । तिनै संग्ला पोखरी र बग्ने पानीमा सहरमाछाले अण्डा छाड्थे ।

फेवातालकाे मुहान क्षेत्रबाट हर्पन खाेलाले बगाएर ल्याएकाे कमेराे । तस्बिर: कृष्णमणि बराल

सिमल काँडे तालकोपीद देखि सतह सम्म फैलन्थ्यो । त्यही बोटको मुनी लेउ टासिन्थ्यो । लेउँमा किरा टासिन्थे । त्यो माछाले खान्थे । यसरी तालमा बिभिन्न प्रजातीका माछा, चरा, भ्याकुता लगायतको इकोसिस्टम चल्थ्यो । अहिले भने काँडे, रेवा, बाम, कत्ले, सहर, रहु, भित्ता लगायतका माछाको बसस्थान, प्रजनन केन्द्र र चरिचरणमा असर परेको उनले बताए ।
तालको तल्लो तटबाट प्रदूर्षण बढेको छ । यसरी दुबै तिरबाट तालको जैविक विविधतालाई असर गरेको उनले सुनाए । फेवातालमा २३ प्रजातीका माछा पाइन्छन् । पछिल्लो समयमा मिचाहा झार र मिचाहा नयाँ आगन्तुक माछाले स्थानीय झार र स्थानीय माछालाई विस्थापीत गर्दै लगेको ज्ञानबहादुरले बताए । फेवाताल लगायत पोखराका तालहरुमा हिउँदमा जाडो छल्न आउने पानी चराहरुको संख्या र प्रजाती पनि कम हुँदै गएको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

some fact about Fewa lake

१९९० सालमा फेवाताल वरपरको जग्गाको आमोदप्रमोद मात्र नापी भयो । २०१८ सालमा सर्भे अफ इण्डीयाले फेवातालमा बाँध बनाउँदा पानीको भार क्षमता पत्ता लगाउन गरेको नापी अनुसार फेवाताल १०।३५ बर्ग किलोमिटर (२२ हजार ४ रोपनी) फैलिएको डा बाबुराम भट्टराई नेतृत्वको सरकारले फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न गठन गरेको समितिका संयोजक विश्वप्रकाश लामिछानेले बताए ।
२०३८ मा नापी हुँदा फेवाताल ५।८० बर्ग मिलोमिटर ।
२०५८ मा नापी हुँदा ताल घटेर ४।४३ बर्ग किलोमिटर
केन्द्रिय नापी टोलीले २०६४ मा गरेको नाापी अनुसार ४।२० बर्ग किलोमिटर (९ हजार ९ सय ५५ रोपनी पानीले ढाकेको) । लामिछानेले जानकारी दिए ।