ताल एक फाइदा अनेक
पोखरा : फेवाताल एउटा ताल मात्र होइन । धेरैका लागि लागि अवसर पनि हो । फेवातालको पानीबाट सिचाईं भएर पोखराको बिरौटा फाँटमा जेठोबुढो धान झुल्छ । तालको पानी फ्रुस्रो खोला किनारमा झारेर एक मेगावाट बिजुली निकालिएको छ ।
फेवाकाे पानी बाँध हुँदै बगेर छाेरेपाटनमा बनेकाे पाताले छाँगाेमा रमाउँदै भारतीय पर्यटक । तस्बिर : कृष्णमणि बराल
त्यही पावरहाउस नजिकै तालकै पानीबाट वर्षायाममा सुन्दर झरना बनेको छ । यति मात्र होइन फेवा तालकै पानी ड्यामबाट बगेर पाताले छाँगो (डेभिज फल) बनेको छ । डेभिज फल हुँदै भित्रभित्र पानी छिरेर फुस्रो खोला निस्कने क्रममा गुप्तेश्वर गुफा बनेको छ ।
तालकाे पानी पाताले छाँगाे हुँदै भित्रभित्र खाेदलेर बनेकाे गुप्तेश्वर गुफा । तस्बिर : कृष्णमणि बराल
तालबाटै ताल किनारमा बस्ने करिव दुई सय जलारी परिवारले माछामारेर जिवीका चलाएका छन् । फेवाताल किनारमा तालकै कारण पर्यटकलाई लक्षित गरी करिब ७ सय होटल, रेष्टुरेण्टलगायत विभिन्न व्यवसाय संचालन हुँदै आएका छन् । फेवाफाँटमा हजारौं रोपनी क्षेत्रफलमा जेठोबुढो धान झुल्छ । पछिल्लो समयमा माछापालन समेत हुने गरेको छ । ताल र यहाँको सिमसारमा जैविक विविधता कायम छ । यहाँ साइबेरियादेखि विभिन्न प्रजातीका चराहरु आउँछन ।
यिनै चराको अवलोकन गर्न पोखरा आएका पर्यटक एक दुई दिन बसाई लम्ब्याएर सिमसार क्षेत्रमा चरा हेर्न पुग्छन् । यसरी फेवातालबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबै पोखरेलीले फाइदा लिएका छन् । पोखरेलीले मात्र होइन यहाँ देशै भरबाट पोखरा आएका नेपालीले कुनै कुनै रुपमा तालकै कारण रोजगारी पाएका छन् । फेवातालको तल्लो तटका स्थानीयका लागि तालबाट कृषि, पर्यटन, विद्युत, गुफा, छाँगालगायतका धेरै प्राकृतिक स्रोतबाट अवसरहरु सृजना भएका छन् ।
यति धेरै महत्वको फेवाताल माथिल्लो तटमा हुने भू–क्षय, पहिरो तालको मुख्य स्रोत हर्पन खोला हुँदै तालमा मिसिएर प्रत्येक वर्ष साँगुरिएको छ । पोखराका बजारका ढल सोझै पोखरा महानगरपालिकाले तालमा सोझ्याउँदा ताल प्रदूषणको चपेटामा छ । तालमा मिसिने फिर्के खोला, बुलौदी खोलामा पोखरेलीले जथाभावी फोहोर फ्याँक्दा त्यसै गरी प्रदूषणको चपेटामा परेको छ । पछिल्लो समयमा तालको मुहान पामे, चंखपुर क्षेत्रमा पनि अव्यवस्थित रुपमा बस्ती बस्ने क्रम बढेसँगै तालको मुख्य स्रोत हर्पन हुँदै प्रदूषण हुने क्रम पनि सुरु भएको छ ।
फेवातालको माथिल्लो तटका नागरिकले तल्लो तट (लेकसाइड,ड्यामसाइड) का स्थानीय र व्यवसायीलाई फेवाताल देखाएर डलर कमाउने तर संरक्षणका लागि कुनै योगदान नदिएको गुनासो गर्दै आएका थिए । तल्लो तटका स्थानीयले माथिल्लो तटका नागरिकलाई जलाधार क्षेत्रमा जथाभावी सडक खनेको र भूक्षय,पहिरो गएर ताल पुरिएको अरोप लगाउँदै आएका थिए । यति धेरै महत्वको ताल संरक्षणमा तल्लो तट र माथिल्लो तट बीच सहकार्य हुनु नै सबैकालागि हितकर विषय थियो । यही अवधारणमा गत पाँच वर्षदेखि फेवातालमा वातावरणीय सेवा भुक्तानी (पिइएस) कार्यक्रम सुरु भइ प्रभावकारी रुपमा अघि बढेको छ ।
फेवातालकाे माथिल्लाे तटमा रहेकाे हर्पन गाउँ । तस्बिर : कृष्णमणि बराल
तल्लो तट र माथिल्लो तट बीचको द्न्दव हटाएर दुबै क्षेत्रका स्थानीय मिलेर हातेमालो गर्दै ताल संरक्षणमा जुटाउने प्रयास स्वरुप युएसएडको आर्थिक सहयोगमा डब्लुडब्लुएफ हरियोवनको नेतृत्वमा वातावरणीय सेवा भुक्तानी कार्यक्रम सुरु भएको थियो । वातवरणीय सेवा भूक्तानी कार्यक्रम अन्तर्गत फेवातालको तल्लो तटीय क्षेत्र सेवा प्रापकहरुको तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय होटल संघ र उपल्लो तटीय क्षेत्र सेवा प्रदायकहरुका तर्फबाट फेवा जलाधार पर्यावरणीय उपभोक्ता समितिका अध्यक्षले २०७२ जेठ ७ गते फेवा वाटरसेड इकोसिस्टम म्यानेजमेण्ट बोर्डको उपस्थितीमा समाझदारी पत्रमा हस्ताक्षर गरी कार्यक्रम सुरु भएको थियो ।
यस कार्यक्रममार्फत फेवाताल आसपासका होटल, रेष्टुरेण्ट, ट्रेकिङ एजेन्सी, डुंगा व्यवसायी, बाराही मन्दिरले माथिल्लो तटको संरक्षणकालागि तालको मुहानका स्थानयि नागरिकको कृषि प्रणालीमा सुधार,भूक्षय नियन्त्रण र जीविकोपार्जनमा सहयोग स्वरुप योगदान दिन सुरु गरेका हुन् । यस कार्यक्रममा अझै धेरै व्यवसायी, संघ संस्था, डेभिज फल, गुप्तेश्वर गुफाको आम्दानीको केही हिस्सा ताल संरक्षणकालागि छुट्याउन सके यो कार्यक्रम थप प्रभावकारी हुने फेवा वाटरसेड इकोसिस्टम म्यानेजमेन्ट वोर्डका सचिवालय सचिव दिलबहादुर भट्टराईले बताए । यो कार्यक्रमसँगै माथिल्लो तट र तल्लो तट बीच ताल संरक्षणका विषयलाई लिएर हुँदै आएको आरोपप्रत्यारोप हटेर ताल संरक्षणमा सकहकार्य सुरु भएको छ । सहयोग अंकमा कति भयो भन्नु भन्दा पनि सहयोगको सुरुवात हुनु नै सबैभन्दा ठूलो उपलब्धी भएको माथिल्लो तटका स्थानीय समेत रहेका भट्टराईले सुनाए ।
हालसम्म वातावरणीय सेवा भुक्तानी कार्यक्रमअन्तर्गत होटल संघले अहिलेसम्म यस कार्यक्रमका लागि ४ लाख ५८ हजार रुपौयाँ प्रदान गरिसकेको छ । यसैगरी गत वर्षबाट यस कार्यक्रममा योगदान दिन सुरु गरेको रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले ५० हजार, ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले ३० हजार, फेवा डुंगा व्यसायी समितिले ५० हजार, तालबाराही मन्दिरबाट ५० हजार, पोखरा महानगरपालिकाबाट ५ लाख, इच्छुक व्यक्तिबाट सहित गरी हालसम्म ९ लाख १५ हजार ९ सय ११ रुपौयाँ माथिल्लो तटको संरक्षणकालागि सहयोग प्रप्त भएको भट्टराईले जानकारी दिए ।
यस कार्यक्रमको परिकल्पना र संयोजन गर्ने संस्था डब्लुडब्लुएफ नेपाल, हरियो वन कार्यक्रमबाट यसै कार्यक्रमकालागि ८७ लाख ९४ हजार १ सय ५० रुपोयाँ सहयोग प्राप्त भएको पनि उनले बताए । यस वर्षबाट हरियो वनको पाँच वर्षे कार्यक्रम सकीएसँगै कार्यक्रमले निरन्तरता नपाउने भएको छ । हरियो वनको कार्यक्रम सकीए पनि वातारणीय सेवा भुक्तानी कार्यक्रम अन्तर्गत सहयोग हुँदै आएको रकम निरन्तर रुपमा उपलब्ध हुने पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।
ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले ताल संरक्षण गर्नु सबैको दायित्व रहेकोले यस कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष हरि भुजेलले बताए । डुंगा व्यवासय समिति र तालबाराही मन्दिर व्यवस्थापन समितिले कोरोना कहरले आर्थिक संकट भएकोले यस वर्ष भन्न नसक्ने अवस्थामा रहेको बताएका छन्। यसका लागि होटल संघले आप्ना सदस्य होटबाट ठूलाबाट प्रत्येक वर्ष १२ सय र साना होटल बाट ६ सय रुपैयाँका दरले उठाउँने र सहयोग गर्ने सदस्यहरुलाई फेवाताल संरक्षणमा योगदान दिएको चिनो स्वरुप प्रत्येक वर्ष महानगरपालिकाका मेयरको हस्ताक्षर रहेको हरियो स्टिकर उपलब्ध गराइदै आएको अध्यक्ष तुलाचनले बताए । तालको संरक्षणको विषयमा तल्लो तट र माथिल्लो तटीय क्षेत्रका नागरिकबीच असमझदारी थियो । वातावरणीय सेवा भुक्तानी कार्यक्रमले मतमतान्तरलाई समझदारीमा परिणत गरिदिएको शान्ति तथा सालघारी सामुदायिक वनका अध्यक्ष बिष्णु दाहालले बताए ।
यस कार्यक्रमबाट प्राप्त रकमले गाउँमा कृषिमा सुधार, पहिरो नियन्त्रण, पक्की कुला निर्माणलगायतका आयआर्जनका क्षेत्रमा काम गरेको ढिकुरपोखरीका स्थानीय कृष्णबहादुर कुँवरले सुनाए । यसबाट फेवातालमा माटो बगेर मिसिने क्रम रोकिन योगदा पुगेको उनले सुनाए । यस्तै गरि हरियो वन कार्यक्रमले माथिल्लो तटीय क्षेत्रमा पानीको प्रवाह कम गर्न इन्जिनियरिङ बालसहितका तारजाली निर्माण, भिरालो खेतमा माटो बग्नबाट बचाउन कफी,अलैची, एभोकाडो, मेकाडामियानट, डाले घाँस तथा बाँसरोपण गनै सहयोग गर्दै आएको भट्टराईले बताए ।
फेवातालको पानी फ्रुस्रो खोला किनारमा झारेर निकालिएको बिजुली । तस्बिर : कृष्णमणि बराल
फेवातालको जालाधार क्षेत्र नेपालमै धेरै पानी पर्ने लुम्ले र नेपालमै धेरै पानी पर्ने शहर पोखरामा पर्दछ् । यसैले फेवाताल पोखराका ९ तालहरुमा सबैभन्दा धेरै जोखिममा रहेको छ । तालको मुहान पञ्चासे, ढिकुरपोखरी, कास्कीकोट, सराङ्कोट, चापाकोट, पुम्दीभुम्दी, हर्पनलगायतका भिरालो जमिनमा बर्षेनि पहिरो जाने गर्दछ । ती पहिरो तालका पानीका स्रोत अधेरीखोला, हर्पन खोला हुँदै तालमा मिसिन्छ ।
२०७२ साउन १३ गते तालको सिरानमा पहिरो गयो । पहिरो संगै २२ हेक्टर वनको काठपात र माटो तालको मुख्य स्रोत हर्पन खोलो हुदै तालमा थुपारेको साविक जिल्ला भूसंरक्षण कार्यालय कास्कीमा तथ्याङ्क छ । त्यती बेला पहिरोले मात्र तालको सतह करिब एक फीट घटेको अनुमान त्यती बेला भूसंरक्षण कार्यालयले बताएको थियो ।
काठपात सहित पहिरो तालमा मिसिदा ताल एक महिना बढी धमिलो भएको थियो । २०१४ साल भाद्रमा पनि ढिकुरपोखरीमा ठूलो पहिरो गएको स्थानीय ६९ वर्षीय खिमलाल भुगाईले बताए । त्यतीबेला ३५ मुरी धान खेत र बगाएकोले माटो तालमा मिसिदा २ महिनासम्म ताल धमिलो भएको उनी सम्झन्छन् ।
सन् १९५७ को नापी अनुसार फेवाताल २२ हजार रोपनीमा फैलिएको एक अध्ययनमा देखिएको छ । तालको गहिराई १८ मिटर, लम्बाई ४ किलोमिटर र चौडाई सय मिटर देखि २ किलोमिटर रहेको थियो । सन् २००० को अध्ययनले ताल आधा भन्दा बढि घटेर ९ हजार ९ सय ५५ रोपनीमा सिमित रहन गयो ।अहिले ताल झनै खुम्चिएर पाँच हजार वर्ग किलोमिटरमा साँघुरिएको अनुमान गरिए पनि पछिल्लो समयमा यसको अध्ययन भने भएको छैन । फेवातालमा प्रति बर्ष एक लाख ४२ हजार मेट्रिक टन माटो र गेग्रयान थुप्रिदै गएको एक अध्ययनमा देखिएको पोखरा महानरपालिका इन्जिनियर महेन्द्र गोदारले सुनाए ।
फेवातालमा माछा मार्न जाल बिच्छयाउँदै ताल किनारमा बस्ने जलारी समुदायका बालक । तस्बिर : कृष्णमणि बराल
तालको जलाधार क्षेत्रमा हुने भूक्षय, पहिरो तालमा मिसिने क्रम रोक्न गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा २०७६/०७७ को बजेटबाट वर्षा सुरु हुन अघि २८ करोड ९६ लाखको लागतमा सिल्टेसन पोखरी निर्माण गरेको छ । महानगरपालिका र प्रदेश सरकारले ताल संरक्षणमा पछिल्लो समय केही चासो देखाएपनि ताल संरक्षणकालागि नगरि नहुने सिमाङ्कन, ताल प्रदूषण नियन्त्रणका काम, ताल अतिक्रमण, तालको मापदण्डभित्र घर बन्ने क्रम रोक्नेलगायतका काममा भने अघि बढेको छैन् ।
फेवाताल संरक्षणका लागि तालको तल्लो तट र माथिल्लो तटबीच समाझदारी बन्दै संरक्षणमा तल्लो तटले पनि वातावरणीय सेवा भुक्तानी कार्यक्रममार्फत योगदान दिन सुरु भएपछि यो अभ्यास पोखराको दोस्रो ठूलो बेगनास तालमा पनि सुरु हुने क्रममा रहेको माछापुच्र्छे विकास समाजका अध्यक्ष दिलबहादुर भट्टराईले बताए । फेवातालको जस्तै वातावरणीय सेवा भुक्तानी कार्यक्रमको अभ्यास अघि बढेको बेगनासताल संरक्षण तथा विकास बोर्डका सचिव लेखनाथ ढकालले जानकारी दिए । यसकालागि बेगनास तालको तल्लो तट र माथिल्लो तटका नागरिक बीच बैठक बसेर बोर्ड गठन भइसकेको छ । बेगनास ताल संरक्षण तथा विकास बोर्डका अध्यक्ष पोखरा ३१ का वडा अध्यक्ष कमलबहादुर थापा रहेका छन् । सहअध्यक्ष वडा नम्बर २८ का वडा अध्यक्ष रहेको छन् । तल्लो तट र माथिल्लो तटका नागरिकको संयुक्त प्रसायमा ताल संरक्षण गर्न यो वातावरणीय सेवा भुक्तानी कार्यक्रम अघि बढेको बोर्डका सचिव ढकालले बताए ।
माथिल्लो तटमा आर्यआर्जनका कार्यक्रम सँगसँगै भूसंरक्षणका कार्यक्रम पनि गरिने उनले सुनाए । यसकालागि लिबर्डले सिड मनिको रुपमा बोर्डलाई दुई लाख रुपैयाँ उपलब्ध गराएको सचिव ढकालले बताए । तालको आम्दानी वृद्धि हुने कार्यक्रम पनि गरिने छ । तालमा आस्रीत जलारी समूदायलाई पनि समेटिने छ । वातावरणीय सेवा भुक्तानी कार्यक्रम अघि बढ्दै गर्दा कोरोना संक्रमण बढेपछी रोकीएको छ । कोरोना संक्रमणको अवस्था हेरी कार्यक्रमलाई पूर्न अघि बढाइने बोर्डका सचिव ढकालले बताए ।
अन्नपूर्ण पाेष्ट अनलाइनमा १८ असाेज २०७७ मा छापीएकाे समाचार ।
Leave A Comment