कृष्णमणि बराल÷पोखरा
पोखरामा पछिल्लो समयमा घाइते चरा देखिने क्रम बढेको छ । एक हप्ता अघि पोखरा ५ पस्याङमा १३ वटा चित्रकूत नाम गरेका चरा आकाशबाट घाइते अवस्थमा खसेका थिए । पानी खुवाएपछि दुई वटा उडेको र ११ वटा मरेका थिए । ति चराको पोष्टमार्टम गर्दा शरिरको नशा फुलेको पशुचिकित्सकले बताएका थिए ।

पाेखरामा साेमबार फेरीअर्काे घाइते चरा भेटिएकाे छ । पोखराको गैहपाटनमा किसानको साथी भनेर चिनिने चित्री उलक लाटोकोसेरो चरा घाइते अवस्थामा भेटिएको हाे । स्थानीय गीता कोइरालाको घरमा घाइते अवस्थामा लाटाेकाेसेराे चरा देखिएपछि चरा प्रेमी र प्रकृति संरक्षणमा लाग्दै आएकी मिरा ढकालले उद्धार गर्न संरक्षणकर्मीलाई खवर गरेकी थिइन् । घाइते लाटोकोसेरोको डिभिजन वन कार्यालय कास्कीले उद्धार गरि पोखराको पचभैयामा रहेको वन्यजन्तु उद्धार तथा उपचार केन्द्रमा लगेर उपचार भइरहेको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताए । घाइते लाटोकोसेरो चित्री उलक भएको संरक्षणकर्मी ऋषि बरालले जानकारी दिए । बच्चा लाटोकोसेरो गुणबाट खसेको हुन सक्ने उनले सुनाए ।


घाइते अवस्थामा देखिएका चरा, वन्यजन्तु बारे खवर गर्ने र उद्धारमा लाग्ने युवा समुह पछिल्लो समयमा पोखरामा बढ्दो छ । वन्यजन्तु संरक्षणमा पछिल्लो समयमा चासो बढेको संरक्षणकर्मी राजु आचार्यले बताए । संगसंगै चोरी शिकारी र कानुन बिपरित वन्यजन्तु पाल्ने क्रम पनि कास्की लगायत देशभर बढेको संरक्षणकर्मीहरु बताउँछन् ।


लाटोकोसेरोले मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने गर्छ । त्यसैले लाटोकोसेरोलाई किसानको साथी भनिन्छ । यिनको एक परिवारले एक सिजनमा ३ हजार वटा सम्म मुसा खाने गर्छन् । मुसाबाहेक यिनले किरा, फट्याग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्ने गर्दछन् ।


तस्बिर क्याप्सन
पोखरामा घाइते अवस्थामा भेटिएको लाटोकोसेरोलाई उद्धार गरिदै ।
तस्बिरहरु ः कृष्णमणि बराल