१२ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस
कृष्णमणि बराल
मांसहारी चरा गिद्धलाई हेर्ने नजर नेपाली समाजमा फरक छ। गिद्धलाई फोहोरी मान्छेसँग तुलना गरिन्छ। अर्काप्रति कुदृष्टि राख्ने खराब आचरण भएको मान्छेलाई पनि गिद्धसँग तुलना गरिन्छ। कस्तो गिद्ध जस्तो फोहोरी। गिद्धे नजर लगाउने भनेर गाली गर्ने चलन नेपाली समाजमा छ।
नेपाली साहित्य सिर्जनामा केही लेखक, साहित्यकारले खराब आचरण भएका मान्छे र कसैप्रति खराब दृष्टिले हेर्ने पात्रलाई गिद्धे नजर लगाउने, गिद्धे दृष्टि, गिद्ध जस्तो फोहोरी भनेर लेख्दै आएको पनि पाइन्छ। के गिद्ध वास्तवमै खराब आचरण भएका र फोहोरी मान्छेसँग तुलना गर्न लायक पंछी हो ? गिद्ध मांसहारी पंछी हो तर सिकार गर्दैन। गिद्धले घाइते जनावरको मृत्यु कुर्छ तर जिउँदै लुछ्दैन।गिद्धले मरेको जनारको सिनो खाएर वातावरण सफा गर्छ। गिद्धले मान्छेभन्दा ८ गुणा बढी टाढाको बस्तु नाङ्गो आँखाले देख्छ। आफ्नो आहारा कोसौं टाढाबाटै गन्धबाट थाहा पाउँछ। लंकाका राजा रावणले सीतालाई हरेर लैजादै गर्दा सीतालाई छुटाउन गिद्धले रावणसँग आकाशमा संघर्ष गर्दा पखेंटा काटिनु परेको र वीरगति पाएको रामायणमा उल्लेख छ। यसैले गिद्ध सत्य र न्यायको पक्षमा लड्ने मांसहारी तर अहिंसाको पुजारी पंछी हो। गिद्धका यिनै गुण खराब मान्छेसँग तुलना गर्न उपयुक्त, मानिँदै आएका हुन् त ?
किन घटे गिद्ध
पोखराका गाउँ घर नजिकैका चौर, खेत, फाँटमा मरेका जनावरको सिनोलाई गिद्धले खाएर केही क्षणभरमै सफाचट गरेका दृश्य केही वर्षअघिसम्म देखिन्थे। ती दृश्य अझै पनि ताजा जस्तै भएर आउँछ। ठूलो संख्यामा एकपछि अर्को गरी गिद्ध झर्थे र क्षणभरमै सिनो सक्थे। हाडखोरमात्र बाँकी राख्थे र नजिकैका अग्ला सिमलका रुखमा गएर आराम गर्थे। पोखरा ७ नुवारथोकस्थित गैरीखेत, बिरुवा फाँट, सेदी फाँट, कुँडहर, चाउथे फाँटमा लडेका धेरै सिनो गिद्धले सफा गरेको देखिन्थे। सेती नदी, बुलौदी खोला, विजयपुर खोला, फेवातालमा मरेका जनावरको सिनो खाएर गिद्धले पानी सफा गरेको पनि देखिन्थ्यो।
पोखरामा ठूलो संख्यामा गिद्धहरु देखिँदा समाचार बन्थ्यो। बन्छ। सन् २००५ मा पोखराको चाउथे फाँटमा एक सय ५० भन्दा बढी संख्यामा गिद्धहरु सिनो खाँदै गरेको अवस्थामा देखिएका थिए। त्यति बेला गिद्धहरु एक्कासि ठूलो संख्यामा घट्दै गएको अवस्था थियो। पछि पत्ता लाग्यो मानव निर्मित पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधी गिद्ध ठूलो संख्यामा घट्नुकोप्रमुख कारण हो भन्ने। सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेक औषधीले उपचार गरिएका पशुको मृत्युपश्चातको सिनो गिद्धले खाँदा गिद्धको मृगौला नै बिग्रेने गरेको वैज्ञानिकको अनुसन्धानबाट पत्तो लाग्यो।
गिद्ध ठूलो संख्यामा विनास हुनुमा मान्छेले पशु उपचारका लागि बनाएको औषधि विष सावित भयो। प्रकृतिको कुचिकार गिद्ध विनास हुनुमा आखिर मानिस दोषी देखियो। अहिले पनि वासस्थान अभाव, अहारा अभाव, विषाक्त आहारा (सिनो) लगायत कारण गिद्धको संख्या घट्दो क्रममा छ।
मान्छे फोहोर गर्ने गिद्ध सफा गर्ने
मानविय गतिविधिको कारण प्रदुर्षणको चपेटामा परेको फेवाताल ।
तस्बिर ः कृष्णमणि बराल
मान्छे फोहोर गर्ने गिद्ध सफा गर्ने
कोभिड-१९ कोरोना भाइरसको कारण विश्वका मान्छेहरु मृत्युको त्रासमा छन्। मान्छेबाट मान्छेमा सर्ने कोरोना संक्रमण नियन्त्रण गर्न विश्वका शक्ति राष्ट्रहरुले पनि देशलाई लकडाउन गरे। घरबाट बाहिर निस्केनन्। उद्योग धन्दा बन्द भए। यसै मेसोमा पृथ्वीमा रहेका अन्य प्राणीले सुखले शास फेर्न पाएको समाचार आयो।
लकडाउनको कारण विश्वमै वातावरण प्रदूषण घट्यो। यो समाचार पढेपछि लकडाउनमै म फेवा ताल किनार पुगे। झ्यामझ्याम पानी पर्ने असार, साउनको महिना फोहोर किन घट्थ्यो। तालमा प्लाष्टिक मरेका कुखुरा तैरिएकै थिए। थोत्रा कपडा पनि यत्रतत्र थिए। फिर्केखोला मिसिने फेवाताल क्षेत्रमा बढी यस्तो फोहोर हुने गरेपनिताल वरपर सहरी करण तिब्र बढ्दै जाँदा अहिले तालले चारैतर्फबाट धान्नै नसकीने गरि प्रदूषण र पुरिने क्रम भोगी रहेको छ।
असार, साउनको महिना मान्छेले घरमा वर्षभरि जम्मा भएको सोक्फिट र सेप्टिक ट्यांकीको फोहोर खोला किनारमा घर हुनेले यही मेसेमा छाड्ने समय हो। सबैले यसो गदैनन्। जो कोहीले गर्छन् यस्तै मौका कुर्छन्। फेवामा मिसिने खोला र ढलहरुमा पनि यसो गरिँदा ३० वर्षअघिसम्म पिउन योग्य तालको पानी अहिले छुन नहुने अवस्थामा पुगेको छ।
लकडाउनको समयमा पनि मानवीय गतिविधिकै कारण ताल प्रदूषण भएको देख्दा १० वर्षअघि पोखरा १८ खपौदीस्थित फेवातालमा मरेको जनावरलाई खाएर गिद्धले ताल सफा गरेको दृश्य वरपर घुम्यो र सोध्न मन लाग्यो हामी मान्छे किन यति फोहोरी ?
मानव स्वास्थ्यकालागि गिद्धको भूमिका
गिद्धलाई मानिसले फोहोरी, हिंस्रक र घिनलाग्दो चराको रुपमा हेर्छन्। यसैले नेपालीहरु घर वरपर गिद्ध देखिए र घरको छानोमा गिद्ध बसे अशुभ मान्छन्। स्वस्तीशान्ति नै गर्छन्। गिद्ध वास्तवमा फोहोरी पंछी नभएर सिनो खाएर वातावरण सफा गरीमानवलाई लाग्ने विभिन्न घातक रोगहरुबाट जोगाउनेगुनकारी पंछी हो भन्ने विषय सरोकारवाला, राज्यपक्षले बुझाउन नसक्दा यो समस्या आएको हो।
विजयपुर खोलामा मरेको गाईको (सिनो) खाएर खोला सफा गर्दै गिद्ध ।
तस्बिर ः कृष्णमणि बराल
गिद्धले सिनो खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्छ। यसैले गिद्धलाई प्रकृतिको कुचीकार भनिन्छ। गिद्धले मानिसभन्दा ८ गुणा टाढासम्म देख्छ। सिनो खाई हाम्रो वरपरको वातावरण प्रदूषित हुनबाट जोगाउँछ। सिनोबाट हुने दुर्गन्धित अवस्था हुन दिँदैन। विभिन्न रोग फैलनबाट रोकी पर्यावरणीय चक्र खाद्यशृंखलाको सन्तुलन र गतिशीलताको संवाहकको रुपमा भूमीका निभाउछ। गिद्धले सिनो खाएर मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखला र पशुचौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरुको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउँछ। धार्मिक आस्थासँग पनि गिद्ध जोडिएको छ। शनि देवताको बाहनको रुपमा पनि गिद्धलाई पुजिन्छ।
गिद्ध बाहेक अरु मांसहारी जनारले सिनोको करिब ३६ प्रतिशत भागमात्र खान्छन्। गिद्धले भने सिनोको करिब ८० प्रतिशत खपत गर्ने बिज्ञहरु बताउँछन्। गिद्धका प्राजाति अनुसार कुनै गिद्धले मासुमात्र खान्छन त कुनैले हड्डीको टुक्रा र बोन म्यारोसमेत खान्छन्। नेपालका हिमाली जिल्ला मनाङ, मुस्ताङ लगायतको केही जिल्लामा बस्ने तिब्बती मूलका लामा समुदायमा मृत आफन्तको शव गिद्धलाई खुवाउने चलन छ।
दुई दशकअघिसम्म गिद्ध संसारमै सबैभन्दा सहजै देख्न सकिने र ठूलो संख्यामा भेटिने चराका प्रजातिमा पर्थे। मानाव गतिविधिकै कारण अहिले गिद्ध संकटमा छन्। सन् १९८०/९० को दशकमा भारतीय उपमहादीपमा पाइने गिद्धहरु तीब्र गतिमा घटेर लोप हुने अवस्थमा पुगेको विज्ञहरुले बताउँदै आएका छन्।
गिद्धको अवस्था
नेपालमा पनि सन् १९८० को दशकमा १० देखि १६ लाखको संख्यामा रहेका गिद्ध ९० प्रतिशतभन्दा बढीले घटेर २० हजार भन्दा कममा सिमित रहेको गिद्ध संरक्षणमा काम गर्दै आएको विज्ञहरु बताउँछन्। आईयुसीएनले नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये चार प्रजातिलाई अति संकटापन्न सूचीमा राखेको छ। यस्तैगरी एक प्रजातिलाई संकटापन्न सूचीमा र तीन प्रजातिलाई संकटको नजिक सूचीमा राखेको छ। विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन्। गिद्ध संरक्षणमा सरकार, युवा संरक्षणकर्मी, समुदाय र गैरसरकारी संस्था जुटेको भए पनि सरकारी निकायबाट जति र जसरी काम हुनु पर्ने हो त्यो भएको पाइँदैन।
गिद्ध संरक्षणकालागि नेपाल सरकारले २०६३ जेठ २३ गते देखि पशु उपचारमा प्रयोग हुँदै आएको गिद्धका लागि बिष सावित भएको डाइक्लोफेनेक औषधि प्रतिबन्ध गरी त्यसको विकल्पमा सुरक्षित मानिएको मेलोक्सिक्यामको उत्पादन र प्रयोग सुरु गरेको छ। गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले समुदाय स्तरमा जटायु (गिद्धका लागि) रेस्टुरेन्ट पनि नेपालमा खोलिएका छन्।
पोखराको चाउथे फाँटमा मरेको खच्चड खाएर वातावरण सफा गर्दै गिद्ध ।
तस्बिर ः कृष्णमणि बराल
नवरपरासीको पिठौलीमा खोलिएको जटायु रेस्टुरेन्ट गिद्ध संरक्षणका लागि खोलिएको विश्वकै पहिलो समुदाय स्तरको रेस्टुरेन्ट हो। रेस्टेरेन्टमा बृद्ध, अशक्त र वृद्ध भएर जोत्न र दूध दिन छाडेका गाई गोरु पालिन्छन्। प्राकृतिक रुपमा मृत्यु भएपछि ति गाई गोरुको छाला तारेर गिद्धका लागि आहाराको रुपमा दिइन्छ्। यस्ता रेस्टुरेन्टहरु विश्वमै दुर्लभ हुँदै गएका गिद्धको अध्ययन, अनुसन्धान र अवलोकनकालागि पर्यटकीय स्थलको रुपमा पनि विकास भएका छन्। कास्कीको घाचोकमा पनि गिद्ध रेस्टुरेन्ट संचालनमा छ। रुपन्देहीको गैंडहवा ताल, दाङ्को लालमाटिया, बिचौराी, कैलालीको खुटिया र सुनसरीको कोसीटप्पुमा पनि गिद्धकालागि रेस्टुरेन्ट सञ्चालनमा छन्। यस्ता रेस्टुरेन्टहरु पर्यापर्यटनसँग जोड्न सकिने भए पनि सबै रेस्टुरेन्ट प्रभावकारी रुपमा सञ्चालन हुन भने सकेका छैनन्।
सन् २००९ देखि प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभरअन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै आएको छ। नेपालमा पनि यो दिवस मनाइन्छ। कोरोना कहरमा सिनो खाएर मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झाडापखला र पशुचौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरुको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउनेप्रकृतिको कूचीकार गिद्ध संरक्षणमा जुट्न सबैमा थप प्रेरणा मिलोस् शुभकामना।
अन्नपूर्ण पाेष्ट दैनिककाे अनलाइन समाचार । २० भदाै २०७७
#internationalvultureawarenessday2020 #Nepalvulture #Vultureofnepal #savevulture #vultureawarenessday2020
Leave A Comment