कृष्णमणि बराल÷पोखरा
पोखराका कोइराला परिवारले पनि नेवार समुदायले जस्तै गरी एक वर्ष भित्र परिवारमा कोही दिवंगत भएको अवस्थामा आफन्तको सम्झनामा गाईजात्र निकाल्दै आएका छन् । नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पर्व पोखराको नेवार बस्तीमा बस्ने क्षेत्री कोइरालाले पनि वषौं देखि मनाउँदै आएका हुन् ।
पोखरा ४ गणेश टोलका यसै वर्ष दिवंगत कृष्णबहादुर कोइरालाको परिवारले पित्री उद्धारकालागि निमालेको गाईजात्रामा सहभागी ।
तस्बिर ः कृष्णमणि बराल
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ—आप्ना क्षेत्रमा परिक्रमा गराउने नेपाली संस्कृतिक पर्व गाईजात्रा मंगलवार देशभर मनाइएको छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती छ । नेवार समुदायबाहेकले दिवंगत भएका आफन्तको सम्झनामा यसरी गाईजात्रा निकाल्ने चलन रहेको पाइँदैन ।
पोखरा ४ का क्षेत्री कोइराला परिवारले ८० वर्ष देखि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्दै आएको बताएका छन् । पोखरा ४ गणेश टोलमा रहेका कोइराला परिवारले ४ पुस्ता अघि देखि गाईजात्रा पर्व मनाउँदै आएको स्थानीय तोरण बहादुर कोइरालाले बताए । गाईजात्राको अवसरमा मंगलवार यसै वर्ष दिवंगत भएकी श्रीमती डिलकुमारीको सम्झनामा तोरण बहादुर कोइरालले गाईजात्रा निकालेका छन् । तोरणबहादुर पोखरा ४ का पूर्व वडा अध्यक्ष हुन् ।
पोखरा ४ गणेश टोलका दिवंगत डिलकुमारी र पदमकुमारी कोइरालाका परिवारले मंगलवार पोखरामा पित्री उद्धारकालागी निकालेको गाईजात्रामा सहभागी ।
तस्बिर :कृष्णमणि बराल
यसै गरी गणेशटोलकै युद्धबहादुर कोइलाराले पनि आप्नी श्रीमती पदमकुमारीको सम्झनामा गाईजात्रा निकाले । युद्धबहादुर पनि पोखरा ४ का पूर्व वडा अध्यक्ष हुन् । गणेश टोलका क्षेत्री कोइराला परिवारमा यसै वर्ष तीन जनाको मृत्यु भएको थियो । गणेशटोलकै दिवंगत कृष्णबहादुर कोइरालाका परिवारले पनि उनको सम्झनामा मंगलवार गाईजात्रा निकालेको स्थानीय संञ्जीवबहादुर कोइरालाले जानकारी दिए ।
कोरोना भाइरसको जोखिमको कारण सरकारले भिडभाड नगर्न आग्रह गरेको कारणले यस वर्ष तायामचा नृत्य भने नगरिएको उनले बताए । नेवाः खलः कास्कीको आह्वानमा प्रत्येक वर्ष हुँदै आएको गाईजात्रा महोत्सवमा हुने तायामचा प्रतियोगितामा पनि कोइरालाहरु पनि सहभागी हुँदै आएको उनले बताए । यस वर्ष कोरोना जोखिमको कारण गाईजात्रा महोत्सव लगायतका भिडभाड हुने सांस्कृतिक कार्यक्रम रोकीएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए । रामायण, महाभारत, लाखेनाच जस्ता सांस्कृतिक कार्यक्रम पनि यस वर्ष कोभिडको कारण रोकीएको प्रधानाङ्गले बताए ।
नेवार समुदायको महत्वपूर्ण पर्व गाईजात्रा जनैपूर्णिमाको भोलीपल्ट मनाइन्छ । पोखरामा नेवार समुदाय संगै बस्ने कोइराला, राणा, परियारले पनि पित्री उद्धारकालागि गाईजात्रा निकाल्दै आएको संस्कृति कर्मी प्रधानाङ्गले जानकारी दिए ।
पदमपुराण, गरुण पुराण लगायत सबै पुराणहरुमा पित्री उद्धारकोलागी गाईजात्राको महत्वको बारेमा उल्लेख गरिएकोले यो पर्व सबै जातजातीको साझा पर्व रहेको उनले बताए । गाईजात्राका दिनमा ताःहासा बनाई प्रमुख मन्दिर भीमसेन, गणेश, भैरव मन्दिरको दर्शन गर्ने परम्परा रहेको छ । यसै परम्परा अनुसार पोखरा ४ का क्षेत्री कोइराला र राणाहरुले पनि सांस्कृतिक पर्व गाईजात्रा मनाउँदै आएका हुन् । सबै जातीका संस्कृति पर्व आम नेपालीका साझा पर्व रहेकोले सबैले मनाउनु पर्ने स्थानीय सञ्जीव बहादुर कोइरालाले बताए ।
Leave A Comment