Posted on

कृष्णमणि बराल

पोखरा : कोरोना कहरमा पोखरा महानगरपालिकाको घर-घरै फोहोर संकलन गर्नेदेखि पोखराका मुख्य सडकको सफाइमा खटिएका कर्मचारी सामान्य कपडाको माक्सको भरमा काम गरिरहेका छन् । जोखिम काममा खटिएका सफाइ कर्मचरी सामान्य माक्सको भरमा खटिंदा कोरोना सक्रमण हुने जोखिम बढेको छ । 

पोखराका मुख्य बजार न्यूरोड, सृजनाचोक, पेन्सेन क्याम्प लगायतका क्षेत्रमा स्थानीयले सडकमै फोहोर जथाभावी फ्याँकिदिंदा सफाइ कर्मचारीलाई समस्या भएको उनीहरुले बताएका छन् । सडकमा हिंड्नेलाई समेत जोखिम हुने गरी फोहोर फ्याँकिने गरेको पोखराको न्यूरोडमा काम गर्ने सफाइ कर्मचारीले बताएका छन्  । 

पोखरा महागनरपालिका-६ बैदाममा सफाइ अभियानमा खटिएका २२ वर्षका उज्वल मगर सामान्य कपडाका माक्समा भेटिए । कम्पनीले यही माक्स दिएको उनले सुनाए । गमबुट र पञ्जा लगाएका उनी सामान्य पोशाकमा थिए । महानगरपालिकाका घर-घरमा पुगेर फोहोर संकलन गर्ने सरसफाइ कर्मचारीलाई आवश्यक पिपिइ लगायतका समाग्री उपलब्ध गराउनु पर्नेमा नगरिंदा जोखिममा काम गर्नु परेको उनी बताउँछन् । 

पोखरा महानगरपालिकामा ८२ जना सफाइ कर्मचरी भए पनि कोरोनाका सक्रमण बढेपछि अहिले २५ जना सफाइ र १२ जना ल्याण्डफिल्ड साइडमा फोहोर ब्यवस्थापनमा खटिएको पोखरा महानगरपालिका सफाइ शाखा प्रमुख कल्पना बरालले बताइन् । अन्य कर्मचारी माहानगरकै विभिन्न वडा र महानगरमा खटिएको उनले सुनाइन् । 

निजी कम्पनीका छुट्टै ७० भन्दा बढी कर्मचारी पनि महानगरका विभिन्न वडा र अस्पतालको सफाइमा खटिएको उनले बताइन् । पोखरा महानगरपालिकाका  नागरिकहरुले जथाभावी फोहोर फालिदिंदा पनि सफाइ कर्मचारीलाई समस्या परेको उनले बताइन् । नागरिकले कोरोना संक्रमणको बेलामा अझै सचेत बनेर घरबाटै फोहोरको गाडी आएको संकते दिने गरी हर्न बजाएपछि मात्र ब्यवस्थित गरी फोहोर ल्याउन उनले अनुरोध गरिन् । सफाई कर्मचारीले फोहोर समाउन नै  नपर्ने गरी फोहोर गाडीमा राख्ने कुनै उपाएका बारेमा पनि महानगरपालिकाले योजना बनाइरहेको उनले सुनाइन् । 

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा महानगरपालिकाका कर्मचारीलाई महानगरपालिकाले आवश्यक माक्स, पञ्जा, गमबुट, रेनकोट लगायतका सामाग्री उपलब्ध गराएको  सुनाए । महागनरपालिकाका कर्मचारीबाहेक फोहोर मैला ब्यवस्थापनका लागि ७ साझेदारी निजी कम्पनी पनि रहेको र सबैलाई सफाइमा खटिने कर्मचारीलाई आवश्यक सामाग्री उपलब्ध गराउन भनेको उनले सुनाए । आवश्यक सुरक्षा समाग्री दिएर मात्र काम गराउने भनेका उनले बताए । होइन भने कर्मचारीलाई जोखिममा पर्ने गरी काम नगराऔं भनेर पटक-पटक निजी कम्पनीलाई भनेको मेयर जिसीले बताए । 

सफाइ कर्मचारीलाई भएको सुरक्षा समाग्री पनि लगाउन सिकाउनु पर्ने अवस्था देखिएको महानगरपालिकाका कर्मचारीले बताएका छन् । यसै क्रममा पछिल्ला समयमा विरगञ्ज महानगरपालिकाका एक जना सरसफाइ कर्मचारीमा कोरोना सक्रमण देखिएको छ । यसैले सफाइ कर्मचारी जोखिममा छन् ।

  • ०८ जेठ २०७७ मा अन्नपूर्ण अनलाइनमा छापिएकाे समाचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *