Posted on

कृष्णमणि बराल

सम्पूर्ण साप्ताहिक

शुक्रबार, ०५ बैशाख २०७७

विश्वभर फैलिएको कोभिड–१९को संक्रमणले विश्व अर्थतन्त्रलाई नै थिलथिलो बनाएको छ। चीनको वुहान शहरमा सन् २०१९ को डिसेम्बरमा पहिलो पटक देखापरेको मानवबाट मानवमा सर्ने भाइरसले मानव स्वास्थ्यमा गम्भीर चुनौती थपिएसँगै अर्थतन्त्रमा पनि ठूलो धक्का लागेको छ।

कोरोना संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ। नेपालमा भएका पर्यटक आ–आफ्ना दूतावासको सहयोगमा घर फर्कने क्रम जारी रहेको छ। घरबन्दीपछि पोखराबाटएक हजारभन्दा बढी पर्यटक स्वदेश फर्केका छन्। नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्, पश्चिमाञ्चल होटल संघ, नाटा, टान, पर्यटक प्रहरी कार्यालय पोखरा लगायतको समन्वयमा पोखरामा रहेका र अन्नपूर्ण, मनास्लु, धौलागिरि पदयात्रामा रहेका पर्यटकलाई उद्धार गरी काठमाडौँ पठाइएको थियो।

दूतावासले पहल नगरेका देशका कतिपय पर्यटक र नेपाल नै बस्न चाहेका केही युरोपेलीर अमेरिकीपर्यटक अझै पनि पोखरामा छन्। त्यो संख्या करिबदुई सयको हाराहारीमा रहेको पर्यटक प्रहरी कार्यालय पोखराले बताएको छ।

पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटन क्षेत्रमा व्यवसायीले पछिल्लो समयमा धेरै लगानी गरिरहेका थिए। ‘एउटै होटलमा २५–३० करोडदेखि एक अर्ब रुपैयाँसम्मको लगानी गरिएको छ,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले भने।

बैंकसँग चर्को ब्याजदरमा ऋण लिएर बनेका होटल, रेस्टुरेन्ट कसरी ‘सस्टेन’ हुने हुन्, पर्यटन व्यवसायी अनिश्चित छन्। पर्यटक नआए पनि होटललाई उस्तै चुस्त– दुरुस्त राख्न लाग्ने खर्च कसरी धान्ने भन्ने चिन्तामा उनीहरू छन्।

बैंकको ब्याज त छँदै छ, विद्युत्, खानेपानी आदि खर्चले पनि व्यवसायीको टाउको दुखाउने गरेका छन्। सबैभन्दा ठूलो समस्या कर्मचारीलाई तलब खुवाउनु रहेको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। पश्चिमाञ्चल होटल संघका अनुसार पोखरामा साना र ठूला गरी७ सय ५० भन्दा बढी होटल सञ्चालनमा रहेका छन्। तीमध्ये चार सयभन्दा बढी होटल संघमा आबद्ध छन्।

पोखराका होटलमा सुविधासम्पन्न ३० हजारभन्दा बढी बेड संख्या रहेको संघका अध्यक्ष तुलाचनले बताए। त्यसमाथि कतिपय होटल बनेर सञ्चालनको तयारीमा रहेका छन्। ‘पोखराका होटलमा मात्र दुई खर्ब रुपैयाँ लगानी रहेको छ,’ उनले भने, ‘पोखराको समग्र पर्यटन क्षेत्रमा चार खर्बरुपैयाँभन्दा बढी लगानी रहेको छ।’ होटल, रेस्टुरेन्ट, साहसिक खेल, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्प, पर्यटकलाई लक्ष्य गरी सञ्चालन भएका बस, जिपलगायत क्षेत्रमा ठूलो लगानी गरिएको छ।

यस वर्ष पर्यटकीय सिजनमै कोरोना महामारीले पर्यटक घटेका थिए। जनवरी, फ्रेबु्रअरीमा चिनियाँ पर्यटकले भरिभराउ हुने पोखराका होटल यसपालि खाली–खाली रहे। युरोपेली, अमेरिकी, कोरियाली, जापानी, भारतीय पर्यटक आउने क्रम सुरु हुँदै गर्दा ती–ती देशमा कोरोना भाइरस देखिन थाल्यो। आएका पर्यटक फर्किए, आउने योजना बनाएकाहरू आउनपाएनन्।

गत सेप्टेम्बर, नोभेम्बर र डिसेम्बर महिनामा पर्यटकको संख्या गत वर्षभन्दा बढेपछि सरकारले भिजिट नेपाल २०२० मनाइरहेको कारण दोस्रो पर्यटकीय सिजन जनवरी, फ्रेब्रुवरी, मार्च, अप्रिलमा पर्यटकको आगमन थप बढ्नेमा पर्यटन व्यवसायी आशावादी थिए। ‘तर, कोरोनाका कारण सब चौपट भयो,’ तुलाचनले भने।

कोरोना कहरका कारण विश्व पर्यटन उद्योग नै प्रभावित भएको जटिल अवस्थामा चार खर्बभन्दा बढी लगानी रहेको पोखराको पर्यटन उद्योगले कसरी खुट्टा टेक्ला त ?यस विषयमा पोखराका पर्यटन व्यवसायी संघ–संस्थाका नेताहरूले आफ्ना धारणा राखेका छन्।

‘सहुलियत प्याकेज ल्याउनुपर्छ’

चिरञ्जीवी पोखरेल, अध्यक्ष, पोखरा पर्यटन परिषद्

पर्यटन उद्योग संवेदनशील उद्योग हो। कोरोनाले विश्व अर्थतन्त्र नै संकटमा परेको अवस्थामा नेपालको अर्थतन्त्र र पर्यटन उद्योग पनि समस्यामा पर्ने नै भए। यस्तो जटिल अवस्थामा सरकारले खर्बौँ लगानी रहेको पर्यटन उद्योगलाई बचाउन राहत र सहुलियतका प्याकेज ल्याउनुपर्छ।

कोरोना भाइरसको सन्त्रास अझै कति समयसम्म रहन्छ, भन्न सकिन्न। नेपालको पर्यटन उद्योग पनि विश्व पर्यटन उद्योगको अवस्थासँग निर्भर हुने भएकाले  कोरोनाअघिको जस्तै लयमा फर्कन दुईतीन वर्ष पनि लाग्न सक्छ। पर्यटन मजदुरहरू बेरोजगार हुने सम्भावना छ। चर्को ब्याजदरमा बैंकसँग ऋण लिएर सञ्चालित होटल, रेस्टुरेन्टका साथै समग्र पर्यटन उद्योगलाई‘सस्टेन’ हुन मद्दत गर्ने गरी सरकारले सहुलियत प्याकेज ल्याउनुपर्छ।

‘न्यून ब्याजदरमा थप ऋण’

विकल तुलाचन, अध्यक्ष, पश्चिमाञ्चल होटल संघ, पोखरा

कोरोनाको महामारीले हामीलाई कहिलेसम्म पिरोल्छ, यकिनसाथ भन्न सकिँदैन। अहिले पर्यटन मात्र होइन, सबै उद्योग संकटमा परेका छन्। अरू उद्योग समान्य अवस्थामा फर्केपछि लयमा आइहाल्छन्,तर पर्यटन उद्योग संवेदनशील उद्योग भएकाले कोरोनाअघिकै अवस्थमा फर्कन कम्तीमा दुई वर्ष लाग्ला।

व्यवसायलाई चलायमान बनाउन थप ऋणको आवश्यकता छ। न्यून ब्याजदरमा थप ऋण बैंकले नदिएको खण्डमा पर्यटन उद्योग नै संकटमा पर्छ र पलायन हुने अवस्थामा पुग्छ। सरकारले लगानीको आधारमा नीति बनाएर थप कर्जा उपलब्ध गराउनुपर्छ।

‘किस्ता पर सार्नुपर्छ’

सञ्जयकान्त सिग्देल, अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स (नाटा),गण्डकी प्रदेश

पर्यटन उद्योग लयमा फर्कन कोरोना प्रकोप साम्य भएपछि पनि लामो समय लाग्छ। विज्ञहरूले दुईतीन वर्ष लाग्छ भनेका छन्।

हामीले गाडी चलाएरै हो, बैंकको किस्ता र ब्याज तिर्ने। गाडी नगुड्दा किस्ता तिर्न सक्ने अवस्था रहँदैन। गाडीको फुल किस्ता बुझाउन ६० महिनाको समय सीमा हुन्छ। त्यतिबेलासम्म सबैले तिर्दै आएका थियौैँ। अहिले जटिल अवस्था सिर्जना भएको छ। गाडी नै नचलेपछि कसरी तिर्ने ? अहिले तत्कालै पाँच महिनाका लागि किस्ता ब्रेक गरेर ६० महिना तिर्नेलाई ६६ महिना तिर्ने गरी व्यवस्था मिलाउन सके केही राहत हुन्थ्यो। कोरोनाको संक्रमण अझै बढ्दै गए छ महिनामा पनि समस्या समाधान हुने देखिँदैन।

‘सरकारले सघाउनुपर्छ’

गोपी भट्टराई, उपाध्यक्ष, पोखरा पर्यटन परिषद्

सरकारले अहिलेको अवस्थामा पहिलो प्राथमिकता कोरोना नियन्त्रणलाई नै दिनुपर्छ। कोरोना नियन्त्रणमा आएपछि ‘नेपाल घुम्नका लागि सुरक्षित छ’ भन्ने सन्देश पु¥याउन सरकार र निजी क्षेत्र लाग्नुपर्छ।

यस्तो संकटमा सरकारले बैंकको ब्याज ‘सिंगल डिजिट’मा ल्याउनुपर्छ। पर्यटन उद्योगलाई बचाउनका लागि व्यवसायीलाई सहुलियतमा ऋण दिनुको विकल्प छैन। यसो नभए पर्यटन उद्योग बाँच्न सक्दैन।

‘यथाशीघ्र राहत प्याकेज’

भरत पराजुली, केन्द्रीय सदस्य, नेपाल होटल संघ

कोरोना संक्रमणका कारण अहिले पोखराको पर्यटन उद्योग शून्यमा छ। होटल, रेस्टुरेन्ट सुनसान भएर भूतबंगलाजस्ता भएका छन्। पर्यटन उद्योगलाई बचाउन ब्याज मात्र पर सारेर हुँदैन। सफ्टलोन उपलब्ध गराउनुपर्छ। ‘सिक इन्डस्ट्री’ घोषणा गरेर यथाशीघ्र राहत प्याकेज ल्याउनुपर्छ। पर्यटन उद्योगमा कार्यरत कर्मचारीलाई तलब खुवाउन मुश्किल छ। सरकारले प्याकेज नदिए पर्यटन मजदुरलाई तलब दिन नसक्ने अवस्था छ। पुनर्कर्जाको व्यवस्था गर्नुको विकल्प छैन। अन्यथा,पर्यटन व्यवसायीले हात उठाएर सरकारलाई तालाचाबी हस्तान्तरण गर्नुबाहेक अर्को उपाय छैन।

‘सफ्टलोनको विकल्प छैन’

गणेशबहादुर भट्टराई, पूर्वअध्यक्ष, पोखरा पर्यटन परिषद्

पर्यटन उद्योग पुनर्जीवित हुन सबैभन्दा पहिले विश्व कोरोना भाइरसबाट मुक्त हुनुप¥यो। मान्छेहरू काममा जाने, पैसा बचाउने र घुम्न जाने गर्न थालेपछि मात्र नेपालको मात्र होइन, विश्वकै पर्यटन उद्योग पुनर्जीवित हुन्छ।

सरकारले कम्तीमा एक वर्ष ब्याजदर कम्तीमा पनि ५० प्रतिशत घटाउनुपर्छ। उद्योग फेरि चलाउन थप ऋण दिनुपर्छ। पर्यटन व्यवसायीलाई सफ्ट लोन दिनुको विकल्प छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *