Posted on

कृष्णमणि बराल

पोखराबाट जोमसोमका लागि सन २०१७ को अप्रिल १४ मा उडिरहेको तारा एयरको जहाज घोरेपानीको आकाशमा पुग्दा चरासँग ठोकिएको थियो। तत्कालै चरा ठोक्किएको आवाज आएपछि पाइलटले जहाजलाई पोखरा विमानस्थल नै फर्काएका थिए। त्यसै गरी सन् २०२० को अक्टोवर १८ मा काठमाडौबाट पोखरा आएको बुद्ध एयरको जहाज अवतरणको क्रममा रनवे मा पांग्रामा चराले छोएको थियो।

पोखरा विमानस्थलको गत दश वर्षको तथ्याङ्कअनुसार जहाज अवतरण र उडानका क्रममा गरी २२ पटक ठूलासाना चरा ठोक्किएको तथ्याङ्क छ। यसरी जहाजमा ठोक्किने चराहरूमा ठूला मांशाहारी चरा गिद्ध, चिलदेखि सानामा परेवासमेत रहेको पाइएको छ।

चरा जहाजमा ठोक्किने धेरैजसो घटना पोखरा विमानस्थलमा अवतरणको क्रममा भएको छ। काठमाडौबाट आएको जहाज पोखरा विमानस्थलमा अवतरणको क्रममा रनवे क्षेत्रमा धेरै जसो चरा जहाजमा ठोक्किएको सूचना अधिकारी देवराज सुवेदीले बताए।

पोखरामा चराको सबैभन्दा धेरै मुभमेन्ट हुने क्षेत्रमध्ये ल्याण्डफिल्डसाइट पनि एक हो। पोखरा बजारभरको फोहोर विसर्जन गर्ने ल्याण्डफिल्डसाइट अहिले बन्दै गरेको नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि ३ किलोमिटर भित्रै छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार फोहोर व्यवस्थापन गरिने डम्पिङ साइट विमानस्थलभन्दा कम्तिमा ५ किलोमिटर टाढा हुनुपर्ने नियम रहेको छ।

पोखरामा चराको सबैभन्दा धेरै मुभमेन्ट हुने क्षेत्रमध्ये ल्याण्डफिल्डसाइट पनि एक हो। पोखरा बजारभरको फोहोर विसर्जन गर्ने ल्याण्डफिल्डसाइट अहिले बन्दै गरेको नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि ३ किलोमिटर भित्रै छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार फोहोर व्यवस्थापन गरिने डम्पिङ साइट विमानस्थलभन्दा कम्तिमा ५ किलोमिटर टाढा हुनुपर्ने नियम रहेको छ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको कम्तिमा ६ महिनादेखि एक वर्षभित्र सञ्चालनमा आउँदै छ। विमानस्थल सञ्चालनमा आउनुभन्दा कम्तिमा ६ महिनापहिले नै ल्याण्डफिल्डसाइट अन्यत्र सारिसक्नु पर्ने विज्ञले बताएका छन्। तर अहिले पनि ल्याण्डफिलसाइट निर्बाध चलिरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थल नजिकको ल्याण्डफिलसाइट सार्न पोखरा महानगरपालिकाले अझै सुरसार गरेको छैन।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले नयाँ ल्याण्डफिलसाइटका लागि पोखरा ३३ मा जमिनको करिब टुंगो लागिसकेको र ल्याण्डफिलसाइट निर्माणको काम छिटै नै अघि बढाएर नयाँ ठाउँमा सार्ने बताएको पनि महिनौं बितिसकेको छ।  तर प्रगति शून्यl

ल्याण्डफिलसाइट बेलैमा अन्यत्र सार्न सके नयाँ बन्ने ल्याण्डफिलसाइटतर्फ जान चराहरू अभ्यस्त भैसक्ने थिए, चरामा विद्यावारिधि गरेका डा· हेमसागर बराल बताउँछन्। चराबाट हुन सक्ने जोखिमबाट जोगिन र चरा संरक्षणका लागि यसतर्फ सरोकारवाला निकायको छिट्टै नै ध्यान जानु पर्ने डा· बरालको सुझाव छ।

जोखिम कम गर्न ध्यान पुगेन

नयाँ विमानस्थल नजिकै विजयपुर खोला, सेती नदी, सेती नहर रहेका छन् । यी नदी, खोला, नहर र ढलमा मरेका जनावर, कखुरालगायतका सिनो फ्याँकिन्छन्। सिकारी प्रजातिका चरा बढी रहेको पोखरामा मासुजन्य फोहोरको व्यवस्थापनमा पनि चुनौति रहेको छ।

विमानस्थलको तीन किलोमिटर वरपर खुला मासु पसल राख्न नपाइने अन्तर्राष्ट्रिय नियम छ । यसको व्यवस्थापनमा पनि सरकार लाग्नु पर्ने छ।

सिकारी चराकालागि नेपालकै सबैभन्दा उपयुक्त स्थान पोखरा हो। पोखरा यस्तो एक मात्र सहर हो जहाँ नेपालमा पाइने ९ प्रजातिका गिद्धहरू सबै पाइन्छन्। नेपालमा पाइने ६ प्रजातिका महाचिल पनि पोखरामा पाइने बराल बताउँछन । नौ तालको सहर भएकोले पोखरा पानी चराका लागि पनि स्वर्ग रहेको उनले सुनाए।

पोखराको ल्याण्डफिलसाइट वरपर ५ देखि ७ प्रजातिका गिद्ध प्रायजसो देखिरहन्छन्। अन्य साना चराहरू पनि उस्तै संख्यामा पाइन्छन्। ल्याण्डफिलसाइट र सँगै जोडिएको सेती नदी पारि निर्मलपोखरी, भरतपोखरीको जंगलमा ठूलो संख्यामा सेतो गिद्धको बासस्थान रहेको छ। यसै गरी विश्वमै दुर्लभ सानो खैरो डंगरलगायतका गिद्धले पनि त्यस क्षेत्रम गुँड बनाउँदै बच्चा हुर्काउँदै आएका छन्।

यस्ता लोपोन्मुख प्रजातिका चराहरूको संरक्षण मात्र होइन, हवाइ उडानका क्रममा हुन सक्ने जोखिमलाई समेत ख्याल गरेर वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार हुनु पर्ने हो । त्यसैअनुसार आवश्यक कार्ययोजना बनाएर जोखिम न्यूनीकरण र संरक्षणका काम अघि बढ्नु पर्नेमा यो विषय वातावरण प्रभाव मूल्याङ्कनमा समेटिएको समेत छैन ।

वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा विमानस्थल नजिक रहेको फोहर फाल्ने ठाउँका कारण चरासँग दुर्घटना हुन सक्ने र त्यसका लागि आवश्यक कार्ययोजना बनाउने भनेर उल्लेख गरिएको भए पनि पोखरामा पाइने विश्वकै दुर्लभ चराको व्यवस्थापनको कार्ययोजना नै छैन। यसै गरी धावनमार्गमा चरालगायत अन्य जीवहरूसँग हुने दुर्घटनालाई कसरी कम गर्ने भन्ने विषयमा पनि प्रतिवेदन मौन छ।

अन्नपूर्ण हिमश्रृङ्खलाको दक्षिणतिरको भू-भाग हुँदै बर्षेनी अंग्रेजी महिनाको सेप्टेम्बरदेखि डिसेम्बर महिनासम्म सिकारी चरालगायत विभिन्न प्रजातिका १५ हजार चराहरु  बसाइसराइँ गर्छन्। चरा बसाइसराइँ गर्दा उडेको दृश्य हेर्न पर्यटक र चरा गणना गर्ने टोली काँडेमाथि ठूलाखर्क पुग्छन्। मौसम प्रतिकूल हुँदा यी चरा पनि विमानस्थलमाथिको आकाश हुँदै उडान भर्नेछन्। यस विषयमा पनि वातावरण प्रभाव मूल्याङ्कन मौन छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख मुनकर्मीले विमानस्थल सञ्चालनपछि चरालाई विमानस्थल क्षेत्रबाट धपाउने विभिन्न उपकरण जडान हुने बताउँछन्। अहिले भने चरा मार्न हँदैन भन्ने बारेमा सचेत गराइएको उनले सुनाए।

विमानस्थल निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल बोइङ ७५७ र एयरबस ३२० वा सो सहरका जहाज आउजाउ गर्ने छन्। २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हनेछ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन कमजोर हुनु, प्रतिवेदनमा भएका विषायहरू पनि कार्यान्वयन नहुनुले नेपालका ठूला आयोजनाहरू वातावरणमैत्री छैनन् भन्नेतर्फ संकेत गरिरहेको छ।

यति महत्त्वको राष्ट्रिय गौरवको आयोजनाका काम अन्तिम चरणमा पुग्न लाग्दासम्म अहिलेसम्म ठूला चरालगायतका विभिन्न प्रजातिका चराबाट अन्तर्राष्ट्रिय, राष्ट्रिय उडानमा पर्न सक्ने जोखिमको बारेमा सचेत नहुनु दु:खको कुरा भएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्।

कास्कीको घाचोकमा गिद्धका लागि जटायु रेष्टुरेण्ट सञ्चालनमा छ। यस रेष्टुरेण्टमा बूढा गोरु, गाईलाई राम्रोसँग लालनपालन, स्याहार सुसार गर्ने र प्राकृतिक रूपमा मरेपछि गिद्धलाई आहाराको रूपमा खुवाउने गरी २०६५ सालदेखि सञ्चालनमा आएको छ।

बृद्ध गाईगोरुको बाँचुन्जेल राम्रोसँग सेवा गर्ने र प्राकृतिक रुपमा मरेपछि गिद्धलाई शुद्ध आहाराका रूपमा खुवाएर संरक्षण हुँदै आएको छ। यही दृश्य हेर्न पर्यटक घाचोक गाउँ पुग्छन्। यसरी पर्यपर्याटनको रूपमा यस क्षेत्रलाई विकास गर्न नेपाल पन्छी संरक्षण संघ र नेपाल सरकारको समेत सहयोगमा जटायु रेष्टुरेण्ट सञ्चालनमा आएको हो।

जटायु रेष्टुरेण्ट व्यवस्थित रूपमा सञ्चालन गरेर नियमितरूपमा आहारा जुटाउनु पर्छ। गिद्धका लागि अन्यत्र पनि आहाराको व्यवस्थापन गर्ने गरी विकल्प खोज्नु पर्ने देखिन्छ। यसरी गिद्धकालागि नियमित अन्यत्रै आहारा जुटाउन सके र ल्याण्डफिलसाइट छिटै अन्यत्र सार्न सके पोखरा विमानस्थल वरपरका गिद्ध लगायतका चरा त्यस क्षेत्रतर्फ आकर्षित हुने विज्ञ बताउँछन्।

अन्तमा,

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन कमजोर हुनु, प्रतिवेदनमा भएका विषायहरू पनि कार्यान्वयन नहुनुले नेपालका ठूला आयोजनाहरू वातावरणमैत्री छैनन् भन्नेतर्फ संकेत गरिरहेको छ। पोखरामा बनिरहेको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि यही समस्या दोहोरिएको छ। प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम र बजेट व्यवस्थापनतर्फ बेलैमा ध्यान दिनु पर्दछ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : ठूला चराबाट हुन सक्ने जोखिमका विषयमा पुगेन ध्यान – eNature News eNature News

Leave a Reply

Your email address will not be published. Required fields are marked *