पोखरा : विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड—१९) का कारण आधा विश्व लकडाउनमा छ । लकडाउनका कारण सवारी साधन नचल्दा र उद्योग बन्द हुँदा वातावरणप्रदूषणमा निकै कमी आएको नासाका वैज्ञानिकलाई उद्धृत गर्दै समाचारहरु आइरहेका छन् । नेपालको राजधानी काठमाडौं लगायत देशभरको वातावरण प्रदूषणमा पनि कमी आएको बताइएको छ ।

नासाका वैज्ञानिकहरुले मोटरभेइकल, औद्योगिक क्षेत्रबाट उत्पादन नासियोस ग्यास, नाइट्रोजन डाइअक्साइडको मात्र घटिरहेको बताएका छन् । कोभिड—१९ का कारण वातावरण प्रदूषणमा कमी आएको समाचार आइरहँदा पोखराको सुन्दर फेवातालको दुःख भने उस्तै छ । 

फेवातालमा फोहोर मिसिने क्रम नरोकिएपछि यहाँको प्रदूषण कम नभएको हो । विशेष गरी फेवातालमा मिसिने फिर्के खोलामा फालिने फोहोर बस्तु र ढल नरोकिंदा फेवातालमा हुनेप्रदूषण नघटेको हो । पोखराको विन्ध्यवासिनीदेखिका ढल फिर्के खोला हुँदै तालम मिसिन पुग्छन् । प्लाष्टिक, बोतल, थोत्रा कपडा, मरेका कुखुरासमेत खोलाको पानीसँगै तालमै डुबुल्की मार्न पुग्छन् ।

घर-घरका फोहोर पानी पनि तालतिरै सोझिएका छन् । पोखरा नेपालकै धेरै पानी पर्ने शहर मानिन्छ । चैत, वैशाखमा बेला बेलामा पानी परिरहेको छ । ठूलो पानी पर्‍यो कि पोका पोका फोहोर र फोहोर पानी फिर्के खोला हुँदै तालमा ओइरिन्छ फेवाताल किनारका स्थानीय नरबहादुर विकले सुनाए ।   

  • २०७७ बैशाख २८ मा अन्नपूर्ण पाेष्ट दैनिककाे अनलाइनमा छापीएकाे ।