Posted on

शब्द / तस्बिर

कृष्णमणि बराल

हिमाली शृंखलाभन्दा उत्तरमा हुनु नै मुस्ताङको पहिलो परिचय हो । हिमालपारिको जिल्ला भनेर चिनिने यो ठाउँको विशेषता त्यतिमै सीमित हुँदैन । मुलुकका अरु कुनै जिल्लामा नभएको अनौठो प्रकारको भूबनोट यहाँको प्रमुख विशेषता हो ।
मरुभूमिको झल्को दिने नांगा पहाड र समथर मुस्ताङी जमिनले जोकोहीलाई नेपालको भिन्नै भूगोलसँग परिचित गराउँछ । तर, यहाँको मरुभूमि अरबको जस्तो रापिलो होइन, शीतलो छ, जहाँ प्रकृतिप्रेमीले धित मरुन्जेल मज्जा लिन सक्छन् । पुसमाघमा यहाँको मरुभूमि हिउँले ढपक्कै ढाक्छ । मरुभूमिमा हिउँ खेल्न चाहनेलाई हिउँदयाम उपयुक्त हुन्छ ।
मुस्ताङ ३ हजार ५ सय ७३ वर्ग किलोमिटरमा फैलिएको छ । तर यहाँको एक प्रतिशत बाहेक जमिनमा खेती हुँदैन,’ शीतोष्ण वागबानी विकास केन्द्र मार्फाका प्रमुख बालकृष्ण अधिकारी भन्छन्, ‘अरु जमिनमा कताकति का“डाका ससाना बुट्यानमात्रै देखिन्छ । अधिकांश भाग त नांगै छ ।’ खेती हुने जमिनमा स्थानीयले स्याउका बगैंचा बनाएका छन् । त्यसबाहेक यहाँको मुख्य खेती गहुँ, आलु, फापर, जौ र उवा हो ।
मुस्ताङका नांगा डाँडाको सबैभन्दा चाख लाग्दो विशेषता भनेको तिनको बनोट र त्यहाँ खोपिएका प्राचीन गुफाहरु हुन् । एक त डाँडाकाँडाहरु बालुवैबालुवा र थरीथरी रङका माटोका थुप्रिएर बनेजस्ता देखिन्छन् । पानी खासै नपर्ने हुँदा ती खिइन पाएका छैनन् । अग्ला र रातो माटोका डाँडाका छातीमा प्वालैप्वाल देखिन्छ । ‘ती प्वाल होइनन्, २५ सय वर्षअघिका मान्छेका घर हुन्,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको लोमान्थाङ प्रमुख सन्तोष शेरचन बताउ“छन्, ‘ऊ जमानाका मान्छेहरु पहाडमा गुफा खोपेर बस्ने गरेको पुरातात्विक अध्ययनले पुष्टि गरिसकेको छ ।’ पहाड र समथर भूभागमा यस्ता गुम्बाहरु छन्, जसको इतिहास सयमा होइन, हजार वर्षमा गणना गर्नुपर्छ । नांगा डाँडाकाँडाका बीचबीचमा कताकति खेतीयोग्य जमिन छ । त्यही जमिनमा बसेकाहरुले लगाएको खेतीपातीले मरुभूमिबीचको मरुद्यानको झल्को गराउँछ मुस्ताङमा ।
पोखराबाट म्याग्दीको बेनी हुँदै पुग्न सकिन्छ मुस्ताङ । पोखराबाट जोमसोमसम्मको दुरी डेस सय किलोमिटर जति छ । यो दुरी मोटरबाटोले जोडिएको ७ वर्ष पुगिसक्यो । म्याग्दी दाना गाउँको रुप्से झरना र विश्वकै गहिरो गल्छी कालीगण्डकी मुस्ताङ पुग्नेहरुलाई पहिल्ये स्वागत गर्छन् । त्यसपछि कोणधारी जंगलबाट धुपी सल्लाको बासनाधार हावाले पाहुनाहरुलाई स्पर्श गर्छ । १० हजार फिटभन्दा माथि पुगेपछि देखिने जंगलमा भने भोटेपिपल र बैंसका रुखहरु छन् ।
काँडाका ससाना बुट्याउन छेउछाउ कताकति उम्रिएका घाँस चरेर बाँच्छन् यहाँका च्याङ्ग्रा, भेंडा, घोडा, खच्चड, अनि चौरी र लुलु गाई । लुलु गाई नेपालको अरु जिल्लामा खासै देखिन्न । बाख्राभन्दा केहीमात्रै ठूलो आकारको यो गाई बडो गुनी हुन्छ । ‘घाँस थोरै खान्छ,’ छुक्साङका रामकुमार गुरुङ भन्छन्, ‘दूध धेरै दिन्छ ।’ घाँसपात धेरै नपाइने हुँदा मध्य र तल्लो मुस्ताङतिर स्थानीयहरु यो गाई पाल्छन् । माथिल्लो भेगमा भने चौरीगाई पाल्ने चलन छ । तिनीहरु चरनका लागि मुस्ताङकै अति दुर्गमका खर्क र तिब्बती पठार पुग्छन् ।

चीनको तिब्बतसँग साँध जोडिएको मुस्ताङको माथ्लोभागमा तिब्बती संस्कृति छ । यहाँको तल्लो भाग अर्थात जोमसोम, मार्फा, टुकुचे, कोबाङ, लेते र घाँसा लगायत गाउँमा थकाली जाति बस्छन् भने माथिल्लो भेगमा विष्ट, गुरुङ र दलित जातिको बसोबास छ । स्थानीयहरु तिब्बती पात्रो अनुसार लामा बौद्धहरुले निकाल्ने साइतमा चाडपर्व मनाउँछन् । ल्होसार, यार्तुङ र तिजी माथिल्लो मुस्ताङका मुख्य पर्व हुन् । तल्लो मुस्ताङमा थकालीहरु तोरन्ल्ह र १२ वर्षे मेला लगायत पर्व मनाउँछन् ।
लोमन्थाङ माथिल्लो मुस्ताङको मुख्य मुकाम हो । २०६४ अघिसम्म जिग्मेपर्बल विष्ट ‘मुस्ताङी राजा’ थिए । सांस्कृतिक रुपमा उनको स्थान अझै पनि छ । सन् १९९२ सम्म माथिल्लो मुस्ताङ तेस्रो मुलुकका पर्यटकका निम्ति बन्देज थियो । त्यसपछि भने ७ सय डलर तिरेर १० दिन घुम्न दिन थालियो । अहिले भने प्रवेश शुल्क ५ सय डलर बनाइएको छ । नेपाली भने आफ्नो मुलुकको त्यो भूमिमा स्वतन्त्र घुम्न सक्छन् । अधिकतम २ हजार रुपैयाँ भयो भने मुस्ताङको जुनसुकै ठाउँमा एक दिनका लागि एकजना नेपालीलाई खर्च पुग्छ ।
फरबिडन किङडम भन्दै तेस्रो मुलुकका पर्यटक लोभिने माथ्लो मुस्ताङमा धार्मिक पर्यटकको पनि उत्तिकै चाप लाग्छ । कालीगण्डकी नदीको मुहान दामोदर कुण्डमा नेपालीमात्रै होइन, भारतीय पर्यटक पनि पुग्छन् । मुक्तिनाथ मन्दिर त झन् बौद्ध र हिन्दुको साझा देवस्थल नै हो, जहाँ भारतीयहरुको पनि उत्तिकै आकर्षण छ ।
मुस्ताङमा प्रशस्त जडीबुटी पाइन्छ । स्थानीय भाषामा मन् भनेको औषधि र थाङ भनेको चौर हो । औषधिको चौर हुँदै जिल्लाको नाम मुस्ताङ राखिएको स्थानीय बताउँछन् । यार्सागुम्बा, पाँचऔंले र नीरमसी जस्ता दुर्लभ जडीबुटी मुस्ताङका कुनाकन्दरामा भेटिन्छ ।
पर्यटकहरु यहाँको यात्रा गर्न वर्षेनी लोभिएको लोभियै छन् । वर्षैपिच्छे पर्यटक बढेका छन् । भूकम्प गइसकेपछिको बेला पनि यहाँ छिटफुट पर्यटक देखिए । मुस्ताङको प्राचीन सभ्यता, कला÷संस्कृति र भूबनोटले जति पटक आए पनि आउँआउँ लाग्ने बताउँछिन् अस्ट्रेलियाकी केट ब्राउन्ड । यसपालिको उनको भ्रमण १२ औं थियो ।

मुस्ताङका सबै तस्बिरहरु : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *