कृष्णमणि बराल

 पोखरा : किसानको साथी लाटोकोसेरो तथा हुँचिलको अवैध व्यापार हुन थाले पछि संरक्षणका लागि ९ वर्षदेखि प्रकृतिका साथी नामक संस्थाले नेपालका विभिन्न जिल्लामा संरक्षण उत्सव गर्दै आएको छ। 

मुसा खाएर बालीनाली संरक्षणमा महत्वपूर्ण भूमीका खेल्ने लाटोकोसेरो संरक्षणका लागि पछिल्लाे पटक स्याङ्जा जिल्लाको भैसेगौडा राङभाङमा दुइ दिने संरक्षण महोत्सव भएकाे थियाे । लाटोकोसेरो चराको अवैध चोरी सिकारी हुन थालेपछि किसानको साथीको रुपमा परिचित लाटोकोसेरो संरक्षणका लागि उत्सव हुँदै अाएकाे हाे ।  

राङभाङ क्लव र मिलेनियम टे«क व्यवस्थापन समितिको स्थानीय आयोजनामा भएको महोत्सवमा विगत महाेत्सवमा जस्तै लाटोकोसेरोको महत्व, संरक्षणका उपायका विषयमा संस्कृतिक कार्यक्रम गरिएको थियो। 

महोत्सव स्थलमा लाटोकोसेरोका बारेमा म्युजियम नै तयार गरीएको छ। पर्यावरणीय महत्व, धार्मिक महत्व, इकोसिस्टममा यसले खेल्ने भूमीका लगायतका विषयमा स्थानीय अभिभावक, विद्यार्थीले सांगितिक प्रस्तुती दिएका थिए । 

कर्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रकृति संरक्षणलाई प्राथामिकतामा राखेर मात्र विकास निर्माणमा प्रदेश सरकार लाग्ने बताएका थिए । वन्यजन्तु संरक्षण विना मानव अस्थित्व सम्भव नभएकोले गण्डकी प्रदेश सरकार यस्ता संरक्षण कार्यक्रममा हातेमालो गरि अघि बढ्ने उनले सुनाए। 

मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले लाटेकोसेरोलाई किसानको साथी भनिन्छ। यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरु) एक सिजनमा ३००० वटासम्म मुसा खाने गर्छन्। मुसाबाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्ने प्रकृतिका साथीहरु नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए। 

लाटोकोसेरोहरुलाई देवी लक्ष्मीको वाहन मानिन्छ। पर्यावरणलाई सन्तुलित राख्न पनि यिनको मुख्य भूमिका रहन्छ। यिनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्ने आचार्यले बताए। 

४६ वटा जिल्लामा गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २००० वटासम्म लाटोकोसेराहरु तथा हुचील मारिने तथा  विभिन्न मुलुकहरुमा अवैध रूपमा पठाइने गरेको भेटिएको उनले जानकारी दिए। नेपालमा लाटोकोसेरोको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको प्रकृतिका साथीहरु संस्थाका बन्यजन्तु अनुसन्धान तथा संरक्षण निर्देशक यादव घिमिरेले बताए। 

लाटोकोसेरोको  संख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रजातिका लाटोकोसेरो अभिलेख भएको उनले बताए। जसमध्ये ८ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन्। यसमध्य दुईवटा प्रजातीहरुलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन्।  विश्वमा करिब २२५ प्रजातीका लाटोकोेसेराहरु पाइन्छन्। 

उत्सव आयोजनाबाट स्थानीय गाउँको पर्यटन प्रवद्धन समेत हुने स्थानीय आयोजकले विश्वास लिएका छन्। पर्यटकीय गाउँ राङभाङमा होमस्टे पनि संचालनमा छ। स्थानीय समुदायले होमस्टे संचालन गरेको मिलेनियम भैसैगौडा सामुदायिक घरबासका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए। 

नाेट : २४ माघ २०७६ मा अन्नपूर्ण पाेष्ट दैनिकमा छापीएकाे समाचार हाे ।