Posted on

वन्यजन्तुको वासस्थानमा हस्तक्षेपले थप जटिलता ल्याउँछ  – वैज्ञानिक अध्ययन

कृष्णमणि बराल

पोखरा  : चराहरु स्वतन्त्र रूपमा आकाशमा कावा खाइरहेका छन् । आहाराको खोजीमा जमिनमा विचरण गरिरहेका छन् । जनावरहरु निस्फिक्री सडक, वन, गाउँमा हिडीरहेका छन् ।

सहरका सडकमा पनि चौपायाहरू यतिबेला रमाएका दृश्य देखिएका छन् । चराहरु सडकमै पनि नाचेका छन् । हामी सानो छदा २०४२÷०४३ साल तिर पोखराका गल्ली, खुला चौर र अहिले कङ्क्रिट जङ्गलमा परिणत भएका पहिलेका खेतमा जसरी चौपायाहरू रमाउँथे उसै गरी यति बेला पोखराका चिल्ला सडकमा गाई, भैँसी निस्फिक्री हिडीरहेका छन् । रमाइरहेका छन् । तर यति बेला मान्छे भने काेराेनाबाट बच्न घरमै सिमीत भएका छन् ।

अदृश्य एउटा भाइरस जसलाई मान्छेले कोभिड–१९ नाम दिएको छ । यही भाइरसले मान्छेलाई लखेटिरहेको छ । कोरोना सङ्क्रमितहरू अस्पतालको बेडमा कोरोना सँगको लडाईमा छन् । कोरोना संग हारेकोहरु पवित्र नदी, खोला किनारमा जलिरहेको छन् । गडीरहेको छन् । 

 यसैले यति बेला सहर, गाउँ, बजार यत्रतत्र शून्यता छाएको छ । विश्वकै मानव नै कोरोना त्रासमा छन् । नेपालमा भने कोरोनाको दोस्रो लहरका कारण थप जटिलता थपिएको छ । यसैले सहर, बजार, गाउँ जताततै शान्त वातावरण छ ।  बाहिर निस्केका मान्छे पनि बोल्दा, हिँड्दा कोरोनाले सुन्छ कि, पछ्याउँछ कि झै गरेर डरले नाकमुख छोपेर चुपचाप निस्कने गरेका छन् । 

यसैले यति बेला सहर, गाउँ, व्यस्त सडक जताततै शून्यता छाएको छ । सामान्य अवस्थामा धुलो र धुवा उडाउँदै राजधानी काठमाण्डौका सडक जाम हुन्थे । देशका सबै सहरका चिल्ला र धुले सडकमा पनि तातीका ताती सवारी साधन धुलो, धुवा उडाउँदै कोलाहल मचाउँदै गुड्थे ।  यति बेला न सवारी साधन त्यसरी गुडेको छन् । न त बाटोमा मेला लागे झै हिँड्ने बटुवा यति बेला हिँडेका छन् । यसैले शान्त छ सहर । शान्त छ गाउँ ।

कोभिड–१९ कोरोना भाइरस नियन्त्रण गर्न यति बेला नेपाल दोस्रो लकडाउनमा छ । नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर पहिलो लहर भन्दा धेरै कहाली लाग्दो भएर देखापरेको छ । दैनिक १५० देखि २०० भन्दा बढी सम्म मान्छेको मृत्यु भइरहेको छ । कोरोना संक्रमितको दर पनि दैनिक ८ देखि ९ हजार सम्म पुगेको छ । पछिल्लो समयमा लकडाउन पछि सङ्क्रमण दर केही घटे पनि त्रास उस्तै छ । नयाँ भेरियन्टको कोभिड देखिएपछि थप त्रास फैलिएको छ ।

चीनको उहानमा सन् २०१९ को डिसेम्बर महिनामा पहिलो पटक कोभिड–१९ कोरोना सङ्क्रमण देखापरेर विश्वभर फैलिन थालेपछि नेपालमा २०७६ को चैत ११ गते देखि कोरोना सङ्क्रमण नियन्त्रण गर्न पहिलो लकडाउन लगाइयो । बिस्तारै कोरोना सङ्क्रमण दर घट्दै गयो । फेरि सडक उस्तै व्यस्त भयो । मान्छे सामान्य अवस्था झै विरोधमा, समर्थनमा जुलुस, सभा, बिहेभोज, जात्रा निकाल्ने मात्र होइन रमाउन घुमघाममा निस्कन थाले । 

कोरोना फेरि रूप बदलेर कडा रूपमा मान्छेको शरीरमा प्रवेश गरेको मान्छेलाई पत्तै भएन । यसैले कोरोनाको दोस्रो लहर नयाँ वर्ष २०७८ को मुखैमा फेरि देखा प¥यो । यो संगै नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले बढी कोरोना सङ्क्रमण देखिएका सहर र जिल्लामा वैशाख १५ गते देखि दोस्रो लकडाउन लगाएको छ । यसरी दोस्रो लहर पहिलो लहर भन्दा पनि डरलाग्दो बनेर आएको छ । यही त्रासमा मान्छे झन् कडा अनुशासनमा घर भित्रै आफैलाई सिमीत गरेका छन् ।

वन्यजन्तुको वासस्थानमा हस्तक्षेपले थप जटिलता ल्याउँछ – वैज्ञानिक अध्ययन

कोरोना सङ्क्रमण विश्व भर फैलिएपछि वैज्ञानिक यसका कारक तत्वको खोजीमा लागेका छन् । अध्ययनको क्रममा वैज्ञानिकले वन्यजन्तुको वासस्थान विन्यास, वन्यजन्तुमाथि तीव्र हस्तक्षेप, कोरोना भाइरस उत्पत्ति र फैलनुको सम्बन्धमा पनि अध्ययन गरिहेका छन् । वैज्ञानिकले यस विषयमा गरेकाे अध्ययनमा वन्यजन्तुमाथिको तीव्र मानव हस्तक्षेपले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको र कोरोना भाइरस जस्ता महामारी बढाएको पुष्टि भएको बताएका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धान टोलीले जनावरका विभिन्न प्रजाति र तिनमा मानव हस्तक्षेपमाथि अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको समाचारहरुमा अाएका छन् ।  प्राकृतिक वासस्थानमा बढ्दो अतिक्रमणले धेरै प्रजातिका पशुपंक्षी लोप हुने अवस्थामा पुगेको वैज्ञानिक अध्ययनबाट पाइएको छ ।

वन्यजन्तुको चोरीशिकार गरेर हुदै आएको व्यापारकै कारण पशुपन्छीबाट भाइरस फैलिने सम्भावना दुई गुणा बढी हुने वैज्ञानिक अध्ययनले देखाएको समाचार अाइरहेका छन् । वन्यजन्तुको वासस्थान अतिक्रमणले जति धेरै प्रजातिका वन्यजन्तु लोप हुन्छन् त्यति नै यस्ता रोग सार्ने क्रम बढीरहने अध्ययनमा संलग्न वैज्ञानिक क्रिस्टिन क्रिउडर जोन्सनको भनाई उद्धृत गर्दै समाचारहरू प्रकाशित भएका छन् । 

लोपोन्मुख प्राणी र यसको तथ्याङ्कमा केन्द्रित भएर भएको अध्ययनमा मानिसमा सरेका १४० थरी भाइरस परिक्षण गर्दा सबै भाइरसका जननी पशुपन्छी नै भएको पाइएको वैज्ञानिकले दाबी गरेका छन् । यसरी प्राकृतिक पर्यावरण चक्र तोडिदै जानुको कारण मनिसहरुमा सङ्क्रमणको जोखिम बढेको वैज्ञानिक बताउँदै आएका छन् ।

यस्ता संक्रामक धेरै रोग संग मानिसहरुले लड्नु पर्ने वैज्ञानिक बताउँछन् । गएको २० वर्षमा सार्स, मेर्स, इबोला, एभिअन इन्प्लुएन्जा र स्वाइन प्लू गरी ५ खतरनाक रोगहरुलाई परास्त गरेको मान्छेले छैटौ कोरोना भाइरस संगको लडाई निकै जटीले बनेको वैज्ञानिक बताउँछन् ।  तर यो मान्छेले भोग्ने र देख्ने अन्तिम महामारी भने होइन र यी भन्दा जटिल महामारी संग मान्छे जुध्नु पर्ने अवस्था आउन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *