कृष्णमणि बराल
नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर मनाउने चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई दीर्घायु, स्वास्थ्य र सुखी जीवनको कामना गर्दछन् ।

काग पूजा गरेर सुरु हुने तिहारमा यमपञ्चकको पाँचौँ दिन भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मनाइन्छ । दिदीबहिनी, दाजुभाइ बिच सुख, दुःख साटासाट गरेर मनाइने यो पर्व निकै महत्त्वपूर्ण रहेको छ । तिहार भने पछि छुट्टै रमाइलो हुन्छ । देउसी, भैलो खोल्ने नाचगान गर्ने, साँझ पख घरघरमा बालिने बत्तीको उज्यालोले विगतमा जे भए पनि अव जीवनमा उज्यालो आउँछ भन्ने आशा जगाउँछ यो पर्वले । दसैँपछि मनाइने यति महत्त्वपूर्ण पर्व तिहारमा यस वर्ष दिदी आउने बाटो कोरोनाले छेक्यो । ठुली दिदी काठमाण्डौमा हुनुहुन्छ । सानी बहिनी क्यानडा छन् । माइली दिदी आउन नपाउने अवस्था रहयो । माइला भिनाजुलाई कोरोना संक्रमण भएकाेले दिदी पनि सेल्फ क्वारेन्टिनमा हुनुहुन्छ । भिनाजु काठमाण्डौको ग्राण्डी अस्पतालमा कोरोना सँगको लडाइमा हुनुहुन्छ । फुपू दिदी दमको बिरामी । कोरोना कहरमा हामी उहाँको मा जान र उहाँ आउने कुरा पनि भएन ।

यस वर्षकाे तिहारमा निदारमा सप्तरङ्गी टीका नहुँदा खाली भयो । यस वर्षको दसैँ पनि कोरोनाकै कारण दाजुभाइ, आमाहरू सँग मनाउन पाइन् । आफैलाई कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा थिए । घरमै रहेर पनि आमा, दाजुभाइ, छोराछोरी, श्रीमती सँग रहेर दसैँ मनाउन पाइने कुरा भएन । आमाले प्लेटमा दिनु भएको जमरा र अक्षता आफैले लगाएर दसैँका खुसी साटे । कोरोना संक्रमण भएको ३४ दिनमा चौथो पटक दिएको स्वाब परीक्षणको रिपोट ३५ औँ दिनमा नेगेटिभ आएपछि तिहार त दाजुभाइ, दिदीहरू सँग मनाउन पाइने आशा थियो ।

त्यो विश्वास फेरि कोरोनाले खोस्यो । तिहारमा गत वर्ष दाजु र भाइहरु सँगै दिदीबहिनीको हातबाट टीका लगाउँदाको रमाइलो पल सम्झिए । तिहारको दिन बिहान भने केही खुसीका रङ्गहरू देखियो । हिजो अस्ति मुस्कुराउने हिमाल बादलले छेकिए पनि बिहानको सूर्यको लाली सँगै आकाशमाथिका बादलमा छरिएका रङले केही छिन रमाइलो बनायो । बिस्तारै आकाशमा बादल थपिँदै गयो । सूर्य छिपिँदै गयो । जाडो बढ्यो र फेरि आकाशबाट रङ्ग हराए र नरमाइलो गरी काला बादल देखिए । यस वर्षको तिहारमा छोरीहरूले छोरालाई टिका लगाए । फोटो खिचे र रमाए । यो दृश्य देखेपछि बालपनको सम्झना आयो । रमाइला ती दिनहरूको सम्झनाले केही क्षण फेरि खुसी फर्कायो ।

भाइ टीकाकाे दिन बिहानी पख पाेखराकाे अाकाशमा पाेखिएका रंग

तस्बिर : कृष्णमणि बराल